उत्सव पुरानो शैली नयाँः जन्मभूमिमै जन्मोत्सव

समाधान संवाददाता २०७६ जेठ २६ गते १५:०१

सुनील सापकोटा
तारकाङ

तारकाङ स्वास्थ्य इकाइमा शनिबार निशुल्क दन्त परीक्षण शिविर आयोजना भयो । प्रफेक्ट डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा दन्त परीक्षण गरिएको हो । त्यही भूमिमा जन्मिएर ६९ जन्मोत्सव मनाउने तयारी गरेका बृहस्पति सापकोटाको जन्मदिनमा उनका छोरी प्रतिभा, छोरा डा. सुभाष सापकोटा र डा. सन्तोष सापकोटाले सामाजिक कार्य गरी उत्सव मनाउने निधो गरे ।

शिविरमा १ सयभन्दा बढीले दाँत जाँच गराएको कार्यक्रम संयोजक शिव सापकोटाले जानकारी दिए । स्वास्थ्य इकाइ स्थापनादेखि अमेरिकामा रहेर सहयोग गरिरहेका सन्तोष यस पटक बुबाको जन्मोत्सवको खुसी साट्न दन्त शिविर लिएर गाउँ पसे । डा. सन्तोष अमेरिका नेपाल मेडिकल फाउन्डेसकन अध्यक्ष हुन् । डा. उमेशसहितका स्वास्थ्यकर्मीले दन्त परीक्षण गरेका थिए । शिविरमा आएकामध्ये १५÷२० जनाको राख्नै नमिल्ने अवस्था भएका दाँत निकालिएको छ ।

Advertisement

अहिलेमात्र होइन, यसअघि पनि सन्तोषको अगुवाइमा दन्त परीक्षण, आँखा, महिला रोग सम्बन्धी, नाक कान घाँटीसम्बन्धी शिविर भएका छन् । सन्तोषको योजनामा मनिपाल तथा लेकसिटी अस्पतालका डा. सुभाष सापकोटा खुसी बाँड्न गाउँ पुग्ने गरेका छन् ।

बिरामी परेपछि २ घन्टा उकालो हिड्नुपर्ने समस्या तारकाङबासीले समाजसेवी पूर्ण लामा ह्योल्मोलाई सुनाए । पहार ट्रस्ट नेपालमा आबद्ध पूर्णले ट्रस्टमार्फत तारकाङमा स्वास्थ्य इकाइ स्थापनाका लागि पहल गरिदिए । सुरुमा वडा कार्यालय भनेर बनाइएको भवनमा स्वास्थ्य सेवा सुरु भएपछि पहार ट्रस्टले ४० लाख सहयोग उपलब्ध गरायो । यो रकमले पक्की भवन नबन्ने भएपछि निर्माण समिति टिनको छाना राख्ने निष्कर्षमा पुग्यो ।

Advertisement

अमेरिकामा रहेका सन्तोषले यो खबर थाहा पाउनासाथ भने, ‘तपाईंहरु ढुक्क भएर पक्की भवन बनाउनुहोस्, पैसाको चिन्ता नगर्नुहोस् ।’ उनकै सक्रियतामा अमेरिकाबाट २ पटक गरी ३० हजार डलर संकलन गरी भवन निर्माणका लागि प्राप्त भयो । आव ०७५÷०७६ मा मादी गाउँपालिकाबाट ५ लाख, अर्काे पटक पहार ट्रस्टबाट १२ लाख प्राप्त भएपछि भवन निर्माणमा भने आशा पलायो । स्थानीयले १६ लाख जम्मा पारे । तर जिल्ला स्वास्थ्य इकाइलाई जिल्ला जनस्वास्थ्य कार्यालयले सिधै औषधी उपलब्ध नगराउँदा याङ्जाकोट स्वास्थ्य चौकीकै भर पर्नुपरेको इकाइ इन्चार्ज नारायण सापकोटा बताउँछन् ।

इकाइमा सुगर जाँच, नेबुलाइजर, अक्सिजन, ४ सय ५० वाटको सोलार सिस्टम, फ्रिज र शड्ढयाको व्यवस्था छ । बेलायतमा रहेका डा. राजु सापकोटाको पहलमा इकाइमा कार्यरत स्वास्थ्यकर्मीलाई हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा स्वास्थ्य तालिम दिइएको छ । शनिबारमात्रै स्व. बाबुराम सापकोटाको स्मृतिमा उनकी श्रीमतीले परिवारको तर्फबाट १ शड्ढया थपिदिएकी छन् ।

पूर्व स्वास्थ्य मन्त्री सांसद खगराज अधिकारीको पहलमा २ करार दरबन्दी रहेकोमा आगामी आवबाट थप ३ दरबन्दी प्राप्त हुन लागेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा मादी ४ का अध्यक्ष सत्यराज सापकोटाले बताए । उनका अनुसार मादी गाउँपालिकामा १ वडा १ स्वास्थ्य चौकी अवधारणा अनुसार आगामी आवका लागि तारकाङ स्वास्थ्य इकाइका लागि ३५ लाख विनियोजन भएको छ । स्वास्थ्य इकाइमा सभा हल र इन्टरनेट आवश्यक भएको पीताम्बर सापकोटाले उल्लेख गरे ।

सबै पूर्वाधार भएर पनि स्वास्थ्य चौकीको अनुमति नहुँदा मादी ४ का बासिन्दाले स्वास्थ्य सेवा नपाएको तारकाङ स्वास्थ्य इकाइका प्रमुख संरक्षक सापकोटाले बताए । डा. सन्तोषले जन्मभूमिको सेवाका लागि अझै पनि काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया