हैरान्सले गर्‍यो खेलाडी सम्मान

समाधान संवाददाता २०७६ जेठ २६ गते १५:१६

समाधान संवाददाता, दमौली

हैरान्स क्लब दमौलीको खेलाडीका रुपमा खेल जीवन आरम्भ गरी राष्ट्रिय महिला फुटबल टिममा पर्न सफल २ र राष्ट्रिय हक्की टिमका १ खेलाडी सम्मानित भएका छन् ।

नेपाली सेनामा आबद्ध भई राष्ट्रिय महिला फुटबल टिममार्फत् व्यास नगरपालिका र समग्र देशकै प्रतिनिधित्व गर्न सफल व्यास नगरपालिका–१ निवासी शर्मिला थापा, व्यास नगरपालिका–४ निवासी विमला विक र राष्ट्रिय हक्की खेलाडी व्यास नगरपालिका–१ निवासी अन्जना चन्द शनिबार दमौलीमा सम्मानित भएका हुन् ।

Advertisement

हैरान्स क्लबले आयोजना गरेको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी र क्लबका अध्यक्ष रविन पौडेलले उनीहरुलाई सम्मान गरेका थिए । त्यस अवसरमा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले खेलको माध्यमबाट नगरपालिका र देशको नाम अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गर्न सफल भएकोमा खेलाडीलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

न्यौपानेले खेलाडी राष्ट्रको गहना भएकाले खेलाडीको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनीहरुलाई नगरपालिकाको तर्फबाट समेत छिट्टै सम्मान गरिने बताए । व्यास नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखी पूर्वाधार निर्माणलाई जोड दिएको न्यौपानेले बताए ।

Advertisement

न्यौपानेले दमौलीमा व्यवस्थित रंगशाला निर्माणको काम सुरु भइसकेको जानकारी गराउँदै नगरपालिकाको तर्फबाट रु ४० लाख र अखिल नेपाल फुटबल संघको तर्फबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए ।

क्लबका अध्यक्ष पौडेलले हैरान्स क्लबबाट खेल आरम्भ गरी राष्ट्रिय टिममा पर्न सफल भएका खेलाडीलाई शुभकामना दिँदै यसले क्लबको गरिमा बढेको उल्लेख गरे ।

नेपाली सेनामा आबद्ध राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी थापाले सन् २०१६ मा भारतमा आयोजित साफ च्याम्पियिनसिप फुटबल, २०१६ मा मलेसियामा आयोजित मैत्रीपूर्ण फुटबल, २०१७ मा चीनमा आयोजित मैत्रीपूर्ण फुटबल, २०१९ मा भारतमा आयोजित हिरो गोल्ड कप, २०१९ मै विराटनगरमा आयोजित पाँचौ साफ च्याम्पियिनसीप फुटबल खेलिसकेकी छन् ।

नेपाली सेनामा आबद्ध राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी विकले भुटानमा आयोजित साभ महिला च्याम्पियिनसिप, थाइल्यान्डमा आयोजित एसियन ओलम्पिक, चीनमा आयोजित मैत्रीपूर्ण फुटबल र म्यानमारमा आयोजित एसियन ओलम्पिक मैत्रीपूर्ण फुटबल खेलिसकेकी छन् भने नेपाली सेनामा आबद्ध राष्ट्रिय हक्की टिमकी खेलाडी चन्दले पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।

तपाईको प्रतिक्रिया