गोरखाबाट देउवाले भनेः ओली नसुध्रिए आन्दोलन

समाधान संवाददाता २०७६ जेठ २७ गते ८:३७

मोहसिन अली मियाँ, गोरखा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै उनले अब पनि ओली नसच्चिए कांग्रेस आन्दोलनमा जाने चेतावनी दिए । ‘ओली सरकारले देश बर्बाद बनायो, अधिनायकवाद शासनतिर लगे’, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘पछिल्लो समय देशमा भ्रमको खेती भइरहेको छ, झुटो प्रचारमा सरकार लागेको छ, अब पनि ओली नसुध्रिए हामी आन्दोलन गर्छौ, सडक र सदनबाट प्रेसर गर्छौ ।’

Advertisement

आफ्नो नेतृत्वको सरकारले ६५ वर्षदेखि नै वृद्ध भत्ता दिन गरेको निर्णय ओली सरकारले बदर गर्नु न्यायोचित नभएको उनको जिकिर थियो । अधिकांश समय सरकारकै आलोचनामा खर्चिएका देउवाले अब पनि सरकार नसिच्चए कांग्रेसले नछोड्ने चेतावनी दिए । ‘मैले वृद्धभत्ता ५ वर्ष घटाएर ६५ बर्षदेखि नै दिने निर्णय गरेको थिएँ, तर सब ओलीले हटाइदिए’, उनले थपे, ‘ओली सरकारले जनताका अधिकार खोसेको छ, मानवअधिकार हनन गरेको छ, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छ, अब हामी चूप बस्न सक्दैनौं ।’

उनले मिडिया काउन्सिल विधेयक, गुठी विधेयकका नाममा जनताको आधारभूत अधिकारसमेत खोस्न लागिपरेको आरोप लगाएका छन् । उनले गोरखा दरबार पुनर्निर्माणमा भएको ढिलाइप्रति समेत चिन्ता व्यक्त गरेका छन् । विश्वसामु चिनाउने ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काममा लापरवाही हुनुले पर्यटन विकासमा समेत बाधा हुने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया