चितुवाकाे आक्रमणमा परी ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

समाधान संवाददाता २०७६ जेठ २७ गते ११:५९

कृष्ण न्यौपाने
दमौली

चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार थप राहतका लागि प्रक्रिया अनुसार जाँदा केही समय लाग्नेछ ।

Advertisement

बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भए निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको शुक्रबार राति मृत्यु भएको थियो ।

Advertisement

बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको तीस जनाको टोली खटिएको छ । बरालले भने, ‘उक्त टोलीले बेलुकाको समयमा चितुवाको खोजी तीव्र पारेको छ । चितुवा नियन्त्रणमा लिनका लागि सक्दो प्रयास गर्नेछौं ।’

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा २ बालक र १ बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया