विकास नै सरकारको एजेन्डाः भाैतिक पूर्वाधार र यातायात मन्त्री महासेठ

समाधान संवाददाता २०७६ जेठ २८ गते १२:०८

समाधान संवाददाता
स्याङ्जा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको अबको एजेन्डा विकास भएको बताएका छन् । अर्जुनचौपारी ३ को सहरे पुलको शिलान्यासपछि मन्त्री महासेठले विकास निर्माणमा सबै जुट्नुपर्ने बताए । विकासको एजेन्डालाई कसैले रोक्न नसक्ने मन्त्री महासेठले दाबी गरे ।

निर्वाचनमा गरेका बाचालाई पूरा गर्न सरकार लागि परेको बताउँदै उनले विकासबारे बजेटबाट नागरिकले पत्तो पाएको उल्लेख गरे । अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतीदोभान—घन्टे—पर्वत सडक र वालिङ —बारिकुना—चापाकोट—रामपुर सडक परेको बताए ।

Advertisement

सरकारले सिद्धार्थ राजमार्गलाई २ लेनको बनाउन लागेको बताउँदै विकासका योजना सबैको चाहनाले मात्र पूरा हुने धारणा राखे । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण सम्पन्न गर्न आग्रह गरे ।

मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैं सहयोग गर्ने बताउँदै २ जिल्ला र पालिका सदरमुकाम जोड्ने सडक पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा संविधान सभा सदस्य डा. गणेशमान गुरुङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालय लगायतले बोलेका थिए । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुनचौपारी ३ हँुदै आँधीखोला १ जोड्ने मार्ग हो ।

पुल ३ करोड ७ लाख ७ हजार ५ सय १० रुपैयाँ ७२ पैसामा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जिएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए । पुल २० मिटर लामो, आरसिसी डबल लेन तथा ओपन फाउन्डेसनको हुने उनले बताए ।

तपाईको प्रतिक्रिया