बन्दुक बोक्ने खाडीमा, बोकाउने अर्बपतिः कमल थापा

समाधान संवाददाता २०७६ जेठ २८ गते १२:१३

राष्ट्रिय स्वाभिमान यात्रालाई समापन गर्ने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा । तस्विरः मोहसिन अलि मियाँ\समाधान

मोहसिन अलि मियाँ
गोरखा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्ट्राचारमा राष्ट्रिय सहमति भएको दाबी गरेका छन् । गोरखा सदरमुकाममा सोमबार राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्दै उनले पछिल्लो समय घटेका केही भ्रष्ट्राचार प्रकरणमा सत्ता पक्ष र विपक्षी दलका नेता जोडिनुले त्यसको पुष्टि भएको तर्क गरे ।

Advertisement

‘सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच भ्रष्टाचारमा सहमति भएको छ, मिलेमतो नै छ,’ नेकपा र कांग्रेसप्रति लक्षित गर्दै उनले भने, ‘तर देशमा दोषीलाई कारबाही गर्ने, छानबिन गर्ने कसले, अभिभावकत्व ग्रहण गर्ने कसले, राजालाई फाली हाले ।’ वाइडबडी खरिद, एनसेलको कर छली, सुन काण्ड, बालुवाटारको जग्गा प्रकरणमा सत्ता पक्ष र विपक्षीको प्रत्यक्ष संलग्नता रहेको दाबी थापाको छ ।

२०६२÷६३ सालको आन्दोलनपछि कथित परिवर्तनका नाममा दलहरुले देशकै पहिचान समाप्त पारेको भन्दै उनले विदेशीको दबाव र प्रभावमा देश चलेको आरोप जिकिर गरे । सनातन धर्म मासेर कथित धर्म निरपेक्षता लागु गर्नु देशका लागि हानि भएको उनको भनाइ छ । ‘देश विदेशीको इशारामा चल्यो, दबाव र प्रभावमा पर्‍यो’ अध्यक्ष थापाले भने, ‘परिवर्तनका नाममा आफ्नो पहिचान नै बेचे, समाप्त बनाए, धर्म मासे ।’

Advertisement

राजा र आन्दोलनकारी दलबीच सहमति भएर दोस्रो जनआन्दोलन सकिएको खुलासा गर्दै उनले पछि नेताहरुले रातारात राष्ट्रघाती निर्णय गरेर राजा हटाएको दाबीसमेत गरे । ‘२०४७ सालको संविधानलाई टेकेर संविधानसभाको चुनाव गर्ने लगायतका सहमति भएर नै राजा र दलबीच आन्दोलन सकिएको थियो’ उनले भने, ‘तर परिवर्तनका नाममा रातारात राष्ट्रघाती निर्णयहरु भए, राजा फाले ।’

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकलाई सही दिशा दिन नसकेको उनको भनाइ थियो । २०६२÷६३ पछि कांग्रेस, तत्कालीन एमाले र माओवादी सरकारमा भए पनि जनताले त्यसको महसुस गर्न नपाएको थापाले बताए । ‘अहिलेका प्रमुख दलले १३ वर्षको अन्तरालमा पटक पटक सरकारको नेतृत्व गरे’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले भने ‘तर देश माथि जाला भनेको झनै तल गयो, गरिबी बढ्यो, बेरोेजगारी बढ्यो, मूल्यवृद्धि, भ्रष्टाचारले सीमा नाघ्यो ।’

परिवर्तन गर्ने भन्दै २०५२ सालदेखि बन्दुक बोकेर लडेकाले आज अरबमा पसिना र रगत बगाउनु पर्ने बाध्यता सिर्जना भएको उनले बताए । तर बन्दुक बोकाउनेहरु भने रातारात अर्बपति भएको उल्लेख गरे । देशभित्रै सिटामोल खान नपाएर जनता मर्न परेको अवस्थामा नेताहरु भने राज्यको सम्पत्तिमा सामान्य ज्वोरो आउँदा पनि अमेरिका र युरोपका अस्पताल धाउनु आश्चर्यजनक रहेको उनले बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता सुशीलकुमार श्रेष्ठ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र महिला संगठनका अध्यक्ष कुन्तीकुमारी शाही, नेपाल धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङ लगायतले बोलेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुक्तिनाथबाट सुरु गरेको दोस्रो चरणको स्वाभिमान यात्रा गोरखामा समापन गरिएको छ । धार्मिक अनुष्ठान गरी शुक्रबार मुक्तिनाथबाट सुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै सोमबार समापन गरिएको पार्टीका गण्डकी प्रदेश सदस्य सदीप ढकालले जानकारी दिए । हिन्दुराष्ट्र घोषणा, राजसंस्था बारे गोलमेच सम्मेलन, संघियताबारे जनमत संग्रह, भष्ट्राचार नियन्त्रण लगायतका २२ बुँदे माग सुरु भएको यात्रा पार्टीका केन्द्रिय अध्यक्ष थापाले गोरखा दरवारमा पुजा आजा गरेर समापन गरिएको ढकालको भनाई छ ।

तपाईको प्रतिक्रिया