कौरा संरक्षण पत्रकारिता पुरस्कार पुनलाई

समाधान संवाददाता २०७६ जेठ २८ गते १२:२२

समाधान संवाददाता, पोखरा

‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार तिलकप्रसाद पुन पुर्जामगर पुरस्कृत भएका छन् । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारबाट पत्रकार पुन पुरस्कृत भएका हुन्

शनिबार आयोजित कार्यक्रममा मगर संघ, हङकङकी अध्यक्ष युगमाया रानामगर, नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित पत्रकार पुनलाई सम्मान गरे ।

Advertisement

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले पत्रकार पुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । २५ वर्षदेखि क्रियाशील पत्रकार पुन नेपाल पत्रकार महासंघको साधारण सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल मगर पत्रकार संघका केन्द्रीय सल्लाहकार छन् । विभिन्न पत्रपत्रिकाको सम्पादन तथा स्तम्भ लेखनमार्फत् पत्रकारितामा क्रियाशील पत्रकार पुन विशेषगरी, संस्कृतिका क्षेत्रमा कलम चलाउँछन् ।

मगर संघ, हङकङकी अध्यक्ष युगमाया रानामगरले पछिल्लो समय पत्रकारिता क्षेत्रमा मगर जातिको उपस्थिति बढ्दै गएको भन्दै खुसी व्यक्त गरिन् । मगर पत्रकारहरूले मगर समुदायको भाषा, धर्म, संस्कृति, परम्परा र इतिहासलाई उजागर गर्नुपर्ने उनको जोड थियो ।

Advertisement

नेपाल मगर संघका पूर्वअध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मगर पत्रकारहरूले मगर जातीय एकतालाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याए ।

नेपाल मगर संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले पत्रकारिता क्षेत्रमा मगर समुदायको सहभागिता बढ्दै गएको भएपनि अझै पनि सन्तुष्ट हुने अवस्था नरहेको बताए । पुरस्कृत पत्रकार तिलकप्रसाद पुन पुर्जामगरले मगर संस्कृतिलगायत आदिवासी जनजाति समुदायको संस्कृतिको स्थलगत अध्ययन गर्नु आफ्नो अभिरुचि रहेको सुनाए । ‘पत्रकारिता क्षेत्रमा आफूले गरेको कर्मलाई पुरस्कार प्राप्तिले न्याय गरेको महसुस भएको छ,’ उनले भने, ‘समुदाय र देशप्रति अझै बढी जिम्मेवारीबोध गराएको छ ।’

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले मगर जातिको लोकप्रिय संस्कृति मौलिक कौरालाई संरक्षण र प्रचारमा टेवा दिने उद्देश्यले मगर पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको स्थापना गरिएको प्रष्ट पारे ।

कार्यक्रममा राजनीतिकर्मी बालकृष्ण काउछामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ, नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्की, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव प्रेम रोकामगरलगायतले मगर जातिको लोकप्रिय मौलिक संस्कृति कौरा नाच अहिले सिंगो नेपाली संस्कृतिका रुपमा विकास भएको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

त्य अवसरमा मिस मगर नेपाल–२०१९ की बिजेता सनम गर्बुजामगर, फष्ट रनर अप सोनी पुनमगर, सेकेण्ड रनर अप सानिया पुनमगर र भ्युअर्स च्वाइस अवार्ड विजेता उषा अर्मजामगरलाई बधाईसहित सम्मान गरिएको थियो । नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर केन्द्रीय सदस्यमा मनोनित भई पदस्थापन भएकोमा र मगर चलचित्रकर्मी संघ, नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरसहित नवनिर्वाचित कार्यसमितिलाई समेत बधाई ज्ञापन गरिएको थियो ।

नेपाल मगर पत्रकार संघ, कास्कीकी उपाध्यक्ष विनु मसराड्डीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य पुनम थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालकी उपाध्यक्ष तारामाया थापामगरले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया