जापानी सहकार्यमा पोखरेलीलाई दैनिक ४ करोड लिटर सफा पानी

समाधान संवाददाता २०७६ जेठ २९ गते ८:४०

ईश्वर देवकोटा

Advertisement

दूषित पानीका कारण कहर काटेका पोखरेलीलाई शुद्ध पानी उपलब्ध गराउने योजना अघि बढेको छ । जापान सरकार सहयोग संस्था (जाइका) र नेपाल सरकारको सहकार्यमा खानेपानी संस्थानले पोखरामा वितरण हुने पानीको मुहान मर्दी खोलामा पानी शुद्धीकरण आयोजना शिलान्यास गरिएको हो ।

Advertisement

संघीय सरकारकी खानेपानी मन्त्री बिना मगर र नेपालका लागि जापानी राजदुत मासामिची साइगोले पोखरा १९ पुरन्चौर तुल्सीतारा घाटमा आयोजना संयुक्त रुपमा शिलान्यास गरे । शुद्धीकरणका लागि बालुवा हटाउने (ग्रिट चेम्बर), पानी थिग्राउने (सेडिमेन्ट ट्यांक), पानी छान्ने फिल्टर, सफा पानीमात्रै संकलन गर्ने ट्यांकी र क्लोरिनेसन प्लान्ट निर्माण गरिने संस्थानका महाप्रबन्धक डा भूपेन्द्र प्रसादले जानकारी दिए ।

‘दैनिक ४ करोड १ लाख लिटर पानी शुद्धीकरण हुन्छ,’ उनले भने, ‘बालुवा हटाउने र पानी थिग्राउने काम मर्दी मुहानमै सकेरमात्र पानी छान्ने र सफा पानी संकलनका लागि ९ सय ३० घनमिटरका २ वटा प्लान्ट पुरन्चौर तुल्सीतारा घाटमा निर्माण गरिनेछ ।’ ट्रिटमेन्टको अन्तिम चरणमा क्लोरिनेसनसमेत सोही प्लान्टमा हालेर रिजर्भवायर ट्यांकीमा पठाइने उनले जानकारी दिए ।

सफा पानी संकलन गर्न प्रस्याङ, फूलबारी र कोलपाटनमा २०, २० लाख लिटर क्षमताका पानी ट्यांकी निर्माण हुने उनले बताए । संकलित पानीलाई वितरण गर्न १ सय १३ किलोमिटर पाइपलाइन बनाइनेछ । आयोजना सन् २०२२ डिसेम्बर ३१ बाट सञ्चालन गर्ने लक्ष्य लिइएको छ । निर्माणको ठेक्का हाजमा इन्डो कर्पोरेसनले पाएको छ । यो जापानी कम्पनी हो ।

‘सिभिल ठेक्का’ अन्तर्गत जापानमा ४ अर्ब २१ करोड जापानी येनको बोलपत्र आह्वान गरिएको थियो । ठेकेदार कम्पनीले अनुमानित लागतभन्दा ८ दशमलव २ प्रतिशत कम अर्थात् ३ अर्ब ९४ करोड २७ लाख जापानी येनमा बोलपत्र कबुल गरेको हो । आयोजना निर्माणका लागि ठेकेदार कम्पनी हाजमासँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरिसकेको छ ।

जापानले पोखरामा वितरण हुने पानी शुद्धीकरणका लागि नेपाल सरकारलाई ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । नेपाल सरकारले खानेपानी संस्थानलाई यो रकम १ प्रतिशत ब्याजमा ३० वर्षसम्मका लागि सहुलियतमा ऋण उपलब्ध गराएको छ । यो खानेपानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. प्रसादले जानकारी दिए ।

याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा मर्दी खोलाको पानी शुद्धीकरण गरी वितरण गर्ने सम्भाव्यता अध्ययन गरेको थियो । ठूलो मेहनत गरेर आएको आयोजना निर्माण र सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको खानेपानी मन्त्री बिनामगरले बताइन् । मानव स्वास्थ्यका लागि खानेपानी शुद्ध आवश्यक भएको बताउँदै मन्त्री मगरले यसका लागि सरकारले प्राथमिकता दिएको बताइन् । लाखौं पोखरेलीलाई आयोजनाले फाइदा दिने भएकाले तीनै तहका सरकारबीच समन्वय गरी चाडै काम सक्ने उनले प्रतिवद्धता गरिन् ।

खानेपानी सुधारमा जाइकाले गरेको योगदान छिट्टै सार्थक हुने नेपालका लागि जाइका प्रतिनिधि युमिको आसाकुमाले सुनाइन् । जापानी राजदुत मासामिची साइगोले प्लान्ट सञ्चालनमा आएसँगै पोखरेलीका लागि नयाँ युग सुरुवात हुने बताए । जापान सरकारले सामाजिक जीवन रुपान्तरणमा नेपाललाई निरन्तर सहयोग गर्ने उनले उल्लेख गरे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कुनै व्यवधान आउन नदिई आयोजना सम्पन्न गर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीयका समस्या र गुनासा छलफलबाट टुंग्याउन प्रदेश सरकारले समन्वय गर्ने उनले बताए ।

अध्ययन भएको १५ वर्षपछि आयोजना शिलान्यास भएको उल्लेख गर्दै पोखरा महानगरका मानबहादुर जिसीले चाडै महानगरवासीले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गरे । मेयर जिसीले खानेपानी संवेदनशील विषय भएकाले आयोजना महानगरलाई हस्तान्तरण गरे समस्या समाधान गरेर देखाइदिने दाबी गरे ।

वितरण लाइन प्रभावकारी नभएको भन्दै मेयर जिसीले मन्त्रीको ध्यानाकर्षण गराए । ‘धारामा पानी आएन मेयरलाई नै सोध्छन्,’ उनले भने, ‘मुलुक संघीयतामा गइसक्यो । जनतासँग जोडिएका मुद्दालाई स्थानीय सरकारले सम्बोधन गर्न पाए राम्रै हुन्थ्यो तर माथिबाट आयोजना निर्माण र सञ्चालनको जिम्मा नदिने, आयोजनामा विवाद आएमात्र मिलाउन भन्ने ? यस्तो छ ।’

विकासे मोडलको पुरानै संस्कृतिले पीडित भएको उनले सुनाए । ‘खानेपानीले सडक खन्छ । विद्युतले पोल सार्दैन । केवलले तार व्यवस्थित गर्दैन । दुरसञ्चारले पनि समन्वय गर्दैन । खन्ने, बिगार्ने तर सुधार नगर्ने,’ उनले भने । आफ्नो नगर कस्तो बनाउने भन्ने जिम्मेवारी सम्बन्धित पालिकालाई नै दिनुपर्ने विचार उनले राखे ।

आयोजनाबाट पोखरा महानगरका साढे ४ लाख बासिन्दा लाभान्वित हुने छन् । खानेपानी संस्थान अन्तर्गत पोखरामा ४० हजार घरधुरीमा खानेपानी धारा जडान भएका छन् । दैनिक साढे ६ करोड लिटर पानि माग भए पनि हाल ५ करोड लिटरमात्रै आपूर्ति भएको संस्थान पोखरा शाखाका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले जानकारी दिए ।

मन्त्रालय सुधार्छौः मन्त्री मगर
पहुँचवालाकै कारण खानेपानी आयोजना कार्यान्वयनमा प्रभावकारीता नभएको खानेपानी मन्त्री बिनामगरले बताएकी छन् । जनताका आवश्यकता एकातिर, ठूलाबडाका स्वार्थ अर्कातिर हुँदा खानेपानीमा पर्याप्त सुधार आउन नसकेको उनले स्वीकारिन् ।

‘पहुँचवालाको आडमा जनप्रतिनिधि फाइल बोकेर आउने परिपाटी अन्त्य हुनुपर्छ,’ उनले भनिन्, ‘खानेपानीको आवश्यकता त्यस क्षेत्रमा हो, होइन । सम्भाव्यता अध्ययन गरेरमात्रै मन्त्रालयबाट आयोजना छनोट गर्ने व्यवस्था मिलाउन लागेका छौं ।’

खानेपानी आयोजनाका लागि छुट्याइएको बजेट सडक र अन्य काममा खर्च हुनु बिडम्बना भएको उनले सुनाइन् । बिरामी भएको ठाउँमा औषधी बोकेर पुग्ने तर पानी शुद्धीकरणको काममा भने चासो नदिँदा मानव स्वास्थ्यको अवस्था दिनप्रतिदिन विकराल बनेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया