स्याङ्जाबजार अब हर्न निषेधित क्षेत्र

समाधान संवाददाता २०७६ जेठ २९ गते १२:०८

अर्जुन काफ्ले
स्याङ्जा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जा बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । पुतलीबजार नगरपालिका ३ राङ्खोला र वडा नं १ चौकीसम्मको ३ किलोमिटर क्षेत्रलाई ‘नो हर्न जोन’ घोषणा गरिएको हो ।

नगरपालिका र वडासँग छलफल गरी जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । हर्न निषेधित क्षेत्रबारे पहिलो चरणमा सवारीचालक तथा व्यवसायी र स्थानीय नागरिकलाई सचेतना जगाउने र असार १० गतेबाट कडाइका साथ कार्यान्वय गरिने प्रहरी प्रमुख एसपी राजुकुमार लम्सालले बताए ।

प्रेसर हर्नका कारण वृद्ध, बिरामीदेखि विद्यार्थीको पठनपाठनमा असहज भएकोे लम्सालको भनाइ थियो । हर्न बजाउन बन्द भए चालकले आफैं सवारी गति नियन्त्रण गर्ने बताउँदै लम्सालले भने,‘स्पिडमा चालकले धैर्यता गुमाउँदा दुर्घटना बढी हुने गरेका छन् ।’

असार १० गतेबाट ‘नो हर्न जोन’ को अवज्ञा गर्नेलाई ५ सय र पटकेलाई १ हजार ५ सयसम्म जरिवाना गरिने एसपी लम्सालले जानकारी दिए ।

Advertisement

एम्बुलेन्स, दमकल, प्रहरी जस्ता अत्यावश्यक सवारी साधनलाई छुट हुने बताउँदै लम्सालले हर्न नबजाउँदा घटना हुने र घुम्ती तथा अप्ठ्यारो ठाउँमा बजाउन पाउने उल्लेख गरे । अब असार १० गतेभित्र बजार क्षेत्रमा नो हर्न जोनका २० वटा बोर्ड हाल्नुका साथै पर्चा, पम्प्लेट, प्रचार प्रसार गरिने बताउँदै ट्राफिक प्रमुख सई रेशम रानाभाटले त्यसपछि नियमको अवज्ञा गर्नेलाई कारबाही गर्ने बताए ।

नो हर्न जोन बनाउन प्रहरीले मात्रै नसक्ने बताउँदै सई रानाभाटले कार्यक्रम सफल बनाउन सबै यातायात ब्यवसायी, सवारी चालक तथा सरोकारवालासँग आग्रह गरे । यहाँको प्रभाव हरेर गल्याङ र बयरघारीमा लागु गर्ने गरिने बताउँदै उनले भने,‘वालिङमा १५ दिनभित्र सुरु गरिनेछ ।’

प्रहरीले नो हर्न जोनको स्थान राम्रो खोजेको बताउँदै स्याङ्जा गण्डकी यातायात प्रालिका महासचिव भानुभक्त बरालले कार्यक्रमले नागरिकमा राम्रो प्रभाव राख्ने बताए ।

तपाईको प्रतिक्रिया