जनमन्दिर माविमा १० लाखको छात्रवृत्ति अक्षयकोष

समाधान संवाददाता २०७६ जेठ २९ गते १२:१६

समाधान संवाददाता
पोखरा

मध्यनेपाल नगरपालिका ७ चिसंकुको जनमन्दिर माविमा छात्रवृत्ति अक्षयकोष स्थापना हुने भएको छ । अमेरिकाको टेक्सासमा बस्दै आएका प्रमोदविलास घिमिरेको अगुवाइमा १० लाखको अक्षय कोष स्थापन गर्न लागिएको हो ।

घिमिरे अक्षयकोष घोषणा गरेपछि उनका आफन्त रमाकान्त अधिकारीले २ लाख, विमला पराजुली र सञ्जीव पराजुलीले २ लाख, महेश बाबु घिमिरेले १ लाख, तीर्थादेवी घिमिरेले १ लाख र शंकर अधिकारीले १ लाख सहयोग उपलब्ध गराएका छन् । विद्यालयका प्रधानाध्यापक चन्द्रराज घिमिरेले भने, ‘विद्यालयका लागि योभन्दा ठूलो सहयोग अरु हुनै सक्दैन ।’

Advertisement

घिमिरेले केही महिनाअघि करापुटारको कुसुमाकर माविमा स्वच्छ खानेपानीका लागि युरोगार्ड उपलब्ध गराएका थिए ।

घोषणा गरिएको छात्रवृत्तिलाई राम्रोसँग आवश्यक पर्ने विद्यार्थीलाई मात्र वितरण गर्न आग्रह गर्दै मध्यनेपाल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रीप्रसाद भट्टराईले विदेशमा रहेर पनि आफू जन्मेको ठाउँमा शैक्षिक विकासको लागि भूमिका खेलेको खुसी व्यक्त गरे ।

Advertisement

विद्यालयमा ८० प्रतिशतभन्दा बढी दलित विद्यार्थी भएको विव्यस अध्यक्ष शंकरराज घिमिरेले बताए । विद्यालय क्षेत्र कम्पाउन्डिङ गर्न नसकेका कारण विद्यार्थी असुरक्षित भएको घिमिरेको भनाइ थियो । प्रधानाध्यापक चन्द्रराज घिमिरेका अनुसार २०७१ सालदेखि माध्यमिक तह सञ्चालन भए पनि एउटा पनि दरबन्दी नभएकाले शिक्षक व्यवस्थापनमा समस्या छ । २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा २ सय १० विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया