बालविवाहः विद्यार्थी घट्नुकाे मुख्य कारण

समाधान संवाददाता २०७६ जेठ २९ गते १३:००

मोहसिन अलि मियाँ
गोरखा

भूकम्प गएकै वर्ष बेलायती राजकुमार ह्यारी नेपाल आए । काठमाडाैंमा केही दिन बिताएर कसैलाई पत्तो नदिई एकाएक उनी गुमनाम भए । सुरक्षा स्रोतलाई समेत सुइँको नदिई गायब भएका ह्यारीको अवस्था केही दिनपछिमात्रै सार्वजानिक भयो । तस्बिरमा थिए उनै ह्यारी तर उनले काँधमा काठ बोक्दै गरेको तस्बिर बाहिरिएपछि सबैको मन तानियो गोरखाको धार्चे गाउँपालिका ७ लापुबेंसीमा । त्यही तस्बिर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भयो ।

भूकम्पले क्षतिग्रस्त लापुबेंसीको प्रभात किरण माध्यामिक विद्यालयको पुनर्निर्माणमा १४ जनाको टोलीसँगै ह्यारी आफैँ खटेका थिए । प्रधानाध्यापक जीवबहादुर गुरुङ सम्झन्छन् ‘ह्यारीले स्कुलमा सबै काम गरे, ढुंगा बोके, जग खने, डिपिसी गरे, जंगलबाट नाल पनि बोके’ गुरुङले भने,‘त्यतिमात्रै होइन काँधमा पानी बोकेर स्कुलसम्म ल्याए ।’

Advertisement

राजकुमार ह्यारीले आफैं खटेर स्कुल त बनाए तर पढ्ने विद्यार्थी भने दिनप्रतिदिन घट्दै गएका छन् । कक्षा १० सम्म पढाइ हुने प्रभात किरणमा अहिले मात्रै १ सय ३१ विद्यार्थी छन् । ह्यारी सो विद्यालय पुग्दा १ सय ६५ जना विद्यार्थी थिए । ‘बर्सेनि विद्यार्थी घट्दै गएका छन्,’ प्रअ गुरुङले भने, ‘सबैभन्दा बढी यो वर्ष एकैचोटि ३० जना घटे ।’

विद्यालयमा विद्यार्थी घट्नुमा राजकुमार ह्यारीको भने कुनै दोष छैन । अशिक्षा, गरिबी र बेरोजगारी छ, पढाइ छोडेर गरिने बालविवाह विद्यार्थी घट्नुका मुख्य कारक हुन् । कक्षा ७ मा पुगेपछि विद्यालय छोड्ने लहर सुरु हुन्छ र ९ कक्षा पुग्दासम्म पनि चलिरहन्छ । सबैभन्दा बढी भने बालविवाहका कारण नै विद्यार्थीले पढाइ छोड्ने गरेको प्रअ गुरुङ बताउँछन् ।

Advertisement

विद्यालयमा यो अवस्था सिर्जना हुनुमा मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग पनि उत्तिकै रहेको शिक्षकहरु बताउँछन् । भूकम्पपछि बर्सेनि शिक्षाको गुणस्तर खस्ँिकदै गएको विद्यालय गुरुङे बताए । ‘पहिला पढाइको स्तर ठिकै थियो, विद्यार्थी पनि अहिलेभन्दा धेरै नै थिए’ प्रअ गुरुङ सम्झन्छन्, ‘अहिले विद्यालय भवन नि अस्थायी छ, कक्षाकोठा पनि साना, न ल्याब छ, न अरु केही सुविधा नै दिन सकेका छौं ।’

समस्या एउटा विद्यालयमा मात्रै होइन । धार्चे गाउँपालिकाको अधिकांश विद्यालयको हालत उस्तै छ । कम उमेरमा विवाह गर्नु यस क्षेत्रको मुख्य चुनौती बनेको छ । बालविवाह रोक्न विद्यालय र गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम अघि सारेका छन् । अहिले गाउँपालिकाभरका विद्यालयमा बालविवाहको समस्या हल गर्न विद्यालयमा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गर्न समेत थालिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया