—सम्पादकीय— मेलम्ची नबनोस् मर्दी

समाधान संवाददाता २०७६ जेठ २९ गते १३:२७

पानीको सहर पोखरामा पनि खानेपानीको अभाव छ तर त्यस्तो विकराल छैन, जस्तो अरु सहरमा छ । स्रोत त झन् कत्ति अभाव होइन । अभाव छ त केवल स्वच्छ र सफा खानेपानीको । त्यही अभाव टार्न खानेपानी संस्थानले मर्दीखोलामा पानी शुद्धीकरण आयोजनाको निर्माण हिजो २८ जेठ मंगलबारदेखि थालेको छ ।

यो आयोजना नेपालमा खानेपानीको सर्वाधिक ठूलो मेलम्चीपछिको दोस्रो ठूलो छ । संस्थान आफैंले मर्दी आयोजनालाई दोस्रो मेलम्ची भनेको छ । मर्दीलाई पनि मेलम्ची भनिँदिँदा एउटा संशय पैदा भएको छ । त्यो के भने कतै मर्दी पनि मेलम्चीजस्तै ४ दशक लागेर पूरा हुने त हैन ? भ्रष्टाचारमा डुब्ने त हैन ?

सन् २००४ मै मर्दी खोला खानेपानी शुद्धीकरण आयोजनाको अध्ययन सुरु भएको थियो । तर त्यसको १५ वर्षपछि सुरु हुनु आफैंमा धेरै बिलम्व हुँदै हो । सन् २०१४ मै निर्माण सुरु हुनुपर्नेमा यतिका ढिला भइसकेको छ । मेलम्चीमा जस्तो मर्दीबाट पानी ल्याउन सुरुङ खन्नुपर्ने अवस्थाचाहिँ छैन । ३ अर्ब ९७ करोड २७ लाख रुपैयाँमा बन्ने आयोजना पूरा भएपछि दैनिक ४ करोड लिटर पानी शुद्ध बनाएर घरघरमा पठाउन सम्भव हुनेछ ।

Advertisement

आयोजना अन्तर्गत शुद्धीकरण प्लान्ट र पापप विच्छ्याउने योजना छ । यसै पनि पोखराको खानेपानी कतिपय ठाउँमा राणाकालीन पाइपबाट वितरण हुन्छ । त्यो फेर्नुपर्ने अवस्थामा पुगिसकेको छ ।

आयोजनालाई जापानको ऋण सहयोग छ । विसं २०८० बाट खानेपानी संस्थानले जापानीलाई ऋणको किस्ता बुझाउन सुरु गर्नुपर्ने छ । त्यतिञ्जेल काम सकेर संस्थानले महसुल उठाएरै ऋणको किस्ता बुझाउनुपर्नेछ । तर काममा ढिला भयो भने संस्थानलाई सिधासिधी घाटा लाग्न थाल्नेछ । तसर्थ बेलामा यो आयोजना सक्नुपर्नेछ । हरेक विकासे आयोजनामा ढिलासुस्ती हुनु नेपालको ठूलो रोग भएको छ । तर अहिले मुलुकमा स्थिर सरकार भएको हुँदा त्यस्तो नहोला भन्ने जनअपेक्षा हो ।

Advertisement

पोखरामा दैनिक ६ करोड लिटर पानीको माग छ । तर पानी शुद्धीकरण प्लान्टचाहिँ केवल ४ करोड लिटरको छ । जब कि भविष्यलाई समेत ख्याल गरी पछि विस्तार गर्न सकिने गरी आयोजना बनाइनुपर्ने थियो । यो अल्पदृष्टिको परिणाम जस्तो देखिएको छ । दीर्घकालीन सोचको अभाव पानी आयोजनामा देखिनुबाट भविष्यमा फेरि पोखराले पानी अभाव झेल्नुपर्ने प्रष्ट भएको छ । त्यसतर्फ पनि ख्याल होस् । बन्न लागेको आयोजना बेलामा पूरा होस् ।

जसरी आकार र लगानीका हिसाबले मर्दीलाई दोस्रो मेलम्ची भनिएको छ र काम गर्ने तौरतरिका र ढिलासुस्ती र भ्रष्टाचारबाट पनि यो दोस्रो मेलम्ची नबनोस् । काम सुरु हुनासाथै शंका गर्नु पर्ने परिस्थिति देशका अरु दृष्टान्तकै कारण सिर्जना भएको हो । तर जुन सुरुआत भएको छ, त्यो सफल होस्, पोखरेलीका घरघरमा शुद्ध पानी आओस् । हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया