‘सबैकालागि रोजगार, संवैधानिक अधिकार’ नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

समाधान संवाददाता २०७६ जेठ २९ गते १४:५०

कृष्ण न्यौपाने
दमौली

‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नाराका साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम मंगलबार बन्दीपुर गाउँपालिका २ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नाला शुभारम्भ गरे ।

गाउँपालिका अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम सकारात्मक रहेको चर्चा गर्दै बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने बताए । उनले भने, ‘आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछौ ।’

Advertisement

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बन्दीपुर गाउँपालिका वडा नं १ स्थित पिप्ले गुर्दुम नाला निर्माण, बन्दीपुर गाउँपालिका वडा नं २ स्थित गुर्दुम बन्दीपुर नाला निर्माण तथा बन्दीपुर गाउँपालिका वडा नं ४ स्थित तीनधारे पर्यटकीय पुन्टे खोला नाला निर्माण योजनामा ४१ जनालाई रोजगारमा खटाइएको जानकारी दिए । उनले भने, ‘पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित एवं लागु भइसकेको हुँदा सोही कार्यविधिमा आधारित भई सञ्चालन गर्न सम्भावित श्रमप्रधान आयोजनामा बेरोजगारलाई खटाएका छौं ।’

रोजगारमा खटिनेलाई दैनिक करसहित ६ सय २५ प्रदान गरिने रोजगार सेवा केन्द्र प्रमुख शरणसिं गुरुङले जानकारी दिए । न्यूनतम रोजगारीका लागि सरकारले चालु आर्थिक वर्षमा बन्दीपुरलाई ११ लाख विनियोजन गरेको छ । पिप्ले गुर्दुम नाला निर्माणमा खटिनेलाई ४ लाख, गुर्दुम बन्दीपुर नाला निर्माणमा खटिनेलाई २ लाख र तीनधारे पुन्टे खोला नाला निर्माणमा खटिनेलाई ३ लाख पारिश्रमिक दिइनेछ ।

Advertisement

बन्दीपुर गाउँपालिकामा ६ सय १४ जनाले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका थिए । अन्यलाई समेत आगामी वर्षका योजनामा काममा खटाउने गाउँपालिकाको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएपछि बेरोजगारमा सूचीकृत भएका खुसी भएका छन् । बन्दीपुर गाउँपालिका २ बराटारका तिलकबहादुर कुावरले सरकारले सुरु गरेको कार्यक्रमले बेरोजगारलाई सहज हुने बताए । उनले भने, ‘रोजगारी नभएर घरमै बस्नुभन्दा विकास निर्माणका काममा सरकारलाई सघाउन पाउँदा खुसी छौं ।’

आँबुखैरेनीमा पनि आरम्भ
तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि मंगलबारदेखि नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिका २ स्थित मार्कीचोक तिलबारी हुँदै नयाँ गाउँ जाने बाटो मर्मतका लागि १६ जबेरोजगारलाई खटाइएको रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकालाई चालु आर्थिक वर्षमा १२ लाख विनियोजन गरेको छ । सोही बजेटबाट वडा–वडामा नै बेरोजगारलाई खटाउने तयारी गरिएको गैह्रेले जानकारी दिइन् । उनले भनिन्, ‘आयोजना छनोट गरेर १०÷१२ जनालाई वडा तहमा नै रोजगारी दिने लक्ष्य छ ।’

तपाईको प्रतिक्रिया