१३ कराेडकाे लगानीमा श्री विन्ध्यवासिनी गुरुकुल विद्याश्रम बन्ने

समाधान संवाददाता २०७६ जेठ ३० गते १२:०७

समाधान संवादादाता
पोखरा

विन्ध्यवासिनी परिसरको धुले माटोमा बसेर गुरुकुल पढाइ हुने त्यहाँको इतिहास छ । २०५१ सालमा विन्ध्यवासिनीमा गुरुकुल विद्याश्रम सुरु हुनुअघि पनि त्यहाँ घरबाटै चकटी ओछ्याएर पढाइ हुने गरेको पाकाहरु बताउँछन् ।

स्वामी निशेषानन्दको अगुवाइमा ०५१ सालदेखि विन्ध्यवासिनी विद्याश्रम सुरु भएको हो । तर, त्यतिबेला पनि बटुक, शिक्षकलाई खुवाउनसमेत समस्या पर्ने अवस्था काटेर कक्षाकोठा यहाँसम्म आइपुगेको विन्ध्यवासिनीका पीठाधीश स्वामी निशेषानन्द बताउँछन् ।

Advertisement

धार्मिक क्षेत्र विकास समितिमार्फत मन्दिरको व्यवस्थापन हुन थालेपछि बिस्तारै गुरुकुलमा केही सुविधा थपिँदै गएको हो । हिन्दु धर्मालम्बीको पनि मुख्य आकर्षण पर्न थालेपछि विन्ध्यवासिनीले फड्को मार्दै गएको छ ।

अब भने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय, गौशालासहितको गुरुकुल विद्याश्रम बनाउने भएको छ । पोखरा–१८ विन्ध्यवासिनी मन्दिरको २६ रोपनी गुठीको जग्गामा स्थापना गर्न लागिएको गुरुकुल विद्याश्रमको बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् ।

Advertisement

१३ करोड रुपैयाँको लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गुरुकुलको शिलान्यास गरिएको हो । छात्रावाससहितको विद्याश्रमसँगै प्राकृतिक चिकित्सालय, गौशाला, यज्ञ तथा होवन मण्डन, सभाहल लगायत संरचना निर्माण गरिने व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

२६ रोपनी क्षेत्रफलमा १३ वटा भवन निर्माण गरिने छ । जसमा मुख्य विद्याश्रम भवन स्वस्तिक आकारमा निर्माण गरिने छ । ‘भारतमा मन्दिरमा चढाइएको भेटीबाट विश्वविद्यालय चलाइएको छ । हामी चाहान्छौं, विन्ध्यवासिनीको भेटीको पनि पूर्ण सदुपयोग गर्न,’ अध्यक्ष गणेशबहादुरले भने, ‘सबैको सहयोगले यो गुरुकुल विद्याश्रम बनेपछि विनध्यवासिनीको भेटिबाटै सञ्चालन गर्न सक्छौं ।’

१३ करोड रुपैयाँ अनुमान गरिएको गुरुकुल विद्याश्रमका लागि संघ सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । समितिले २ करोड रुपैयाँसम्म हाल्न सक्ने र बाँकी दाताहरुको सहयोगबाटै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

आजको युगमा संस्कृति भाषाको महत्व अझ बढी बढिरहेको र ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई संरक्षण, प्रवद्र्धन र विकास गरेर नयाँ पुस्तासम्म पुर्‍याउने दायित्वको समितिले नेतृत्व गरेको सचिव श्रेष्ठको भनाइ थियो ।

पूर्वजहरुले लामो समयदेखि सञ्चय गरेर राखेको ज्ञान, सीप, विज्ञान, जीवन पद्दती, संस्कृत र संस्कारको संरक्षणका लागि पनि विन्ध्यवासिनीले गुरुकुल निर्माण गर्न लागेको अध्यक्ष गणेशबहादुरको भनाइ छ ।

अहिले विन्ध्यवासिनी गुरुकुलमा कक्षा ६ देखि ९ सम्म ३० जना विद्यार्थीले पढ्दै आएका छन् । अब कक्षा ६ देखि १२ कक्षासम्म बिस्तार गरेर निशुल्क आवसिय शिक्षा दिने लक्ष्यसहित गुरुकुल निर्माणको शिलान्यास गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संस्कृत वाङ्मयको अध्ययन, अध्यापनले संस्कृति, संस्कार र धार्मिक महत्व जीवन्त राख्न पनि गुरुकुल निर्माणमा जुटेको समितिको भनाइ छ ।

समितिले मन्दिरको भेटी व्यवस्थापन गरेर अन्य सुधार तथा विकासमा लगाइरहेको छ ।
पुजारीको पोल्टामात्रै जाने मन्दिरको लाखौं रुपैयाँको भेटी अहिले मातहत ल्याएर एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिक मीलन केन्द्र, गुरुकुल विद्याश्रम र मन्दिरको सुधार, आकर्षक र व्यवस्थापन गर्ने काम समितिले गरिहेको छ । शिलान्यास समारोहमा विन्ध्यवासिनीका पिठाधीष निशेषानन्दले १५ गुरुकुल निर्माणका लागि १५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया