कारोबारी लोकेट गरेका छौंः एसपी कार्की

समाधान संवाददाता २०७६ जेठ ३० गते १२:१३

समाधान संवाददाता, पाेखरा

लागु औषध कारोबारीविरुद्ध एक्सनमा उत्रिने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले बताएका छन् । गोली प्रकरणबारे प्रतिक्रिया दिँदै उनले भने, ‘लागु औषधको ठूलो कारोबार हुने क्षेत्रको रुपमा पोखरालाई चिनिन्छ । सेवनकर्ताभन्दा पनि कारोबारलाई कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

बुधबार पक्राउ परेका गोविन्द थापासँग जोडिएको अन्य लागु औषध कारोबारीलाई समेत कानुनी दायरामा ल्याउन सूक्ष्म रुपले अनुसन्धान गरिरहेको उनले बताए ।

Advertisement

‘थापाजस्तै अन्य केहीलाई पनि लोकेट गरेका छौं,’ उनले भने, ‘उनीहरु पनि कारोबारी नै हुन् । हाम्रो अनुसन्धान टोलीले पक्राउ गर्न सफल हुन्छ भन्नेमा आशावादी छु ।’ पोखरामा संलग्न लागु औषध कारोबारीको नेटवर्क तोडेरै छाड्ने एसपी कार्कीको भनाइ छ ।

कारागारबाट कारोबार सेटिङ
जिल्ला प्रहरी कार्यालय बुधबार लागु औषधसहित १ महिलालाई पक्राउ गरेको छ । पोखरा १० अमरसिंह चोकबाट ठूलो मात्राको लागु औषधसहित ३८ वर्षीया देवीकुमारी गुप्तालाई पक्राउ गरेको एसपी दानबहादुर कार्कीले जानकारी दिए । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिप्रकाबाट खटिएको अनुसन्धान टोलीले गुप्ताले लिएको जेब्रा झोलाबाट लागु औषध फेला परेको थियो । गुप्ताको साथबाट ३ सय थान डाइजापाम, ३ सय थान फेनेरागन, ३ सय थान नरफिन गरी ९ सय थान एम्पुल बरामद गरिएको छ ।

Advertisement

प्रहरीको अनुन्धानबाट गुप्ता लागु औषध कारोबारी भएको खुल्न आएको छ । उनका श्रीमान् लागु औषध मुद्दामा कास्की कारागारमा छन् । कारागारभित्रबाट फोन गरी आफूलाई लागु औषध अन्य व्यक्तिबाट बुझेर सम्बन्धित ठाउँमा पुर्‍याउन श्रीमानले अह्राएको बयानमा गुप्ताले खुलाएकी छन् । अमरसिंह चौरबाट आफूले लागु औषधसहितको जेब्रा झोला लिएर हिँडेको उनले प्रहरी समक्ष बताएकी हुन् ।

उनले यसअघि पनि लागु औषध ओसारपसार गर्दै आइरहेको प्रहरी जनाएको छ । प्रहरीले उनको साथबाट सामान पठाएको ९० हजार रुपैयाँको आइएमइआइ भर्पाइ फेला पारेको बताएको छ । उनी बुद्धचोक बस्दै आएकी थिइन् । पक्राउ उपर थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया