शुक्लागण्डकीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

समाधान संवाददाता २०७६ जेठ ३० गते १४:२२

कृष्ण न्यौपाने
दमौली

शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सुरु भएको कार्यक्रममार्फत् शुक्लागण्डकी नगरपालिका ४ को दुलेगौंडादेखि शवदाहघाटसम्म जाने सिंढी निर्माण थालिएको छ ।

वडाका २२ जनाले न्यूनतम रोजगारमा संलग्न हुन निवेदन दिएकोमा १० जनालाई काममा खटाइएको रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले बताइन् । शुक्लागण्डकी २ मा रोजगार कार्यक्रममार्फत् सामुदायिक भवन निर्माण सुरु भएको छ । उक्त भवन निर्माणमा ११ जनालाई खटाइएको छ ।

Advertisement

जिसीले भनिन्, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिंढी निर्माण र सामुदायिक भवन निर्माणको काम सुरु भएको छ । नगरपालिकाका अन्य वडामा समेत केही दिनभित्र काम सुरु हुनेछ ।’

पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम शुक्लागण्डकीमा मोटरमार्ग, नाला, सिंढी, पाइप विस्तार, कुलो मर्मत लगायतका योजना छनोट गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नगरपालिकालाई २९ लाख विनियोजन गरिएको छ ।

Advertisement

वडा नम्बर १ मा फेदी अर्चले मोटरमार्ग, वडा २ मा सामुदायिक भवन, वडा ३ मा पौवा कवासे नाला निर्माण, वडा ४ मा सिंढी निर्माण, वडा ५ मा व्यावसायिक किसानको कुखुराको खोर निर्माण, वडा ६ शान्तिकुनामा सिँढी निर्माण, वडा ७ मा दलित बस्ती, टुँडा घुम्ती नाला निर्माण, वडा ८ मा ढोरफिर्दी खानेपानी योजना ट्याङ्की निर्माण तथा पाइप विस्तार, ९ मा साउनकुनादेखि सारीकुनासम्म कुलो मर्मत, वडा १० मा कोलम्फे गाउँपोखरी चौतारो निर्माण, वडा ११ मा ढुङ्ढुङ्गे सिँचाइ जरेवर, मुहान तथा कुलो मर्मत र वडा १२ मा रातामाटादेखि पौवासम्म बाटो मर्मत शुल्लागण्डकीका छनोट भएका योजना हुन् ।

उक्त योजनामा काममा खटिने बेरोजगारका लागि वडा नं १ र ४ मा ३÷३ लाख, वडा नं २, ३, ५, ६, ७, ८, ९, १०, १२ मा २÷२ लाख र वडा नं ११ मा ५ लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लाको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भइसकेको छ भने अन्य स्थानीय तहमा समेत सुरु गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया