सवारी कारबाहीमा ३६ लाख राजस्व

समाधान संवाददाता २०७६ जेठ ३१ गते १३:०२

राकेश शर्मा
म्याग्दी

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले साउनदेखि ५ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । कार्यालयले ११ महिनाको अवधिमा ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्याक्टर, मोटरसाइकल, स्कुटरसहित ५ हजार ३ सय ५६ सवारी साधनलाई कारबाही गरेको छ ।

यहि अवधीमा सवारी साधन कारबाहीबाट ३६ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिकको नियम बिपरित सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजात बिना सवारी चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक मित्रलाल ढकाल जानकारी दिए ।

Advertisement

उनका अनुसार साउनमा ६ सय सवारी कारबाहीबाट ३ लाख ९२ हजार ५ सय रुपैयाँ, भदौमा ५ सय ५० सवारी कारबाहीबाट ३ लाख ५९ हजार ५ सय, असोजमा ८ सय सवारी कारबाहीबाट ५ लाख ४४ हजार, कात्तिकमा ७ सय ५० सवारी कारबाहीबाट ५ लाख ४४ हजार, मंसिरमा ४ सय सवारी कारबाहीबाट २ लाख ८० हजार ५ सय, पुसमा ३ सय ५० सवारी कारबाहीबाट २ लाख ५३ हजार, माघमा २ सय ५० सवारी कारबाहीबाट १ लाख ६७ हजार ५ सय, फागुनमा ४ सय सवारी कारबाहीबाट २ लाख ८४ हजार ५ सय, चैतमा ४ सय ५० सवारी कारबाहीमा ३ लाख ११ हजार, वैशाखमा ३ सय ६ सवारी कारबाहीमा २ लाख ९ हजार र जेठ महिनाको २९ गते सम्म ५ सय सवारी कारबाहीबाट ३ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको बताए । जसमा ट्रक÷टिपर ८ सय ९७, बस ९ सय २८, जिप कार भ्यान १ हजार ९ सय ९०, ट्याक्टर ५ सय ४५, मोटरसाइकल स्कुटर ९ सय १७ गरी ५ हजार ३ सय ५६ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

‘बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरी यातायात साधन चनाउनेलाई कडा निगरानी गरेका कारण, कारबाहीमा बढी परेका हुन्, उनले भने त्यसका साथै दसंै र तिहारको बिदामा मुस्ताङ जाने रातो नम्बरका सवारी साधनहरु बढी कारबाहीमा परेका छन् ।

Advertisement

ट्राफिक कार्यालयका अनुसार, ९४ जना सवारी चालकलाई मापसे गरेर सवारी चलाएकोमा कारबाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए । ‘यो अघिल्लो आबको यहि अवधि भन्दा कम राजस्व संकलन भएको छ, ट्राफिक प्रहरीको सक्रियताले जनचेताका कार्यक्रम सञ्चालन गरेका कारण राजस्व रकम कम भएको हो’, प्रमुख ढकालले भने, ‘सबैभन्दा धैरै असोज र कात्तिक महिनामा संकलन भएको देखिएको छ ।’ ग्रामीण भेगमा चल्ने कालो नम्बर प्लेटका जिपले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेपनि प्रहरीले त्यसतर्फ निगरानी बढाउन सकेको देखिएको छैन ।

प्रहरीकै अगाडि यस्ता गतिविधि हुने भए पनि प्रहरीले त्यसलाई संरक्षण गरिरहेको गुनासो यात्रुको छ । यात्रुको गुनासोकै आधारमा ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधन माथि बढी निगरानी बढाइएको ट्राफिक कार्यालयका प्रहरी जवान पौडेलले बताए । ‘त्यस्ता सवारी साधन माथि हामीले बढी निगरानी राख्न थालेका छौं’ उनले भने ।

उनले ट्राफिक नियमको पालना नगरी जथाभावी सवारी साधन चलाउनेलाई कडा कारबाही गर्ने गरिएको छ । अहिले मापसे गरी सवारी चल्ने क्रम भने निकै कम भएको हो’, पौडेलले भने । ग्रामीण भेगमा चल्ले निजी सवारी साधनले यात्रु बोक्ने र मनपरि भाडा असुल गर्ने धेरैको गुनासो आएपछि चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिकले जनाएको छ ।

‘अघिल्ला वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना निकै न्यून देखिएको छ, यसका लागि हामीले जिल्लाको विद्यालयका विद्यार्थीलाई र सडकको चोक चोकमा सवारी चालकलाई जनचेतनामूलक कार्यक्रमहरु गरेको छौं’ ढकालले भने, त्यसको प्रभाव पनी हुन सक्छ यस वर्ष ठूला दुर्घटना भएका छैनन् । म्याग्दी जिल्ला भौगोलिक विकटताका कारणले ट्राफिक नियम लागु गर्न नसकिएको ट्राफिक कै गुनासो छ । बेनीमा सवारी साधनको चाप बढेको छ । प्रत्येक पसलेको निजी सवारी साधन छन् । यस वर्ष म्याग्दीमा ७ वटा दुर्घटनामा २ को मृत्यु, ५ जना सिकिस्त घाइते, १३ जना समान्य घाइते र २ जना वेपत्ता भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया