३ हजार वर्षअघिको प्राचीन गुफामा महोत्सव

समाधान संवाददाता २०७६ जेठ ३१ गते १३:५५

एसके थकाली
जोमसोम

जिल्लाभर पर्यटकीय क्षेत्र, ती मध्ये पनि लोमन्थाङको पुरानो सिजाझोङ गुफा मुस्ताङकै आकर्षण । गुफा लोमान्थाङ गाउँपालिका १ छोसेरको पूर्वतर्फ छ । ठूलो माटोरुपी पहाडसँगै जोडिएको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा चर्चा चुलिएको छ । गुफा आसपासमा भूगोल पनि उक्तिकै मनमोहक र लोभलाग्दो देखिन्छन् । तर देखिने पहाडमध्ये माटोरुपी पहाडसँगै जोडिएको सिजाझोङ गुफा अरु कलात्मक पहाडभन्दा विशेष फरक छ । झन्डै ३ हजार वर्षभन्दा बढीको पौराणिक इतिहास रहेको स्थानीयबासी बताउँछन् ।

रातो रङको पहाडै खोपेर बनाइएको कलात्मक गुफा ५ तले मानव निर्मित गुफा हो । यसभित्र ६० देखि ७० वटा कोठी भएको अनुमान छ । ५ तले गुफा कसरी बन्यो, आश्चार्य लाग्न सक्छ । ३ हजार वर्षअघि लोमन्थाङ १ छोसेरमा सिजा समुदायको बस्ती थियो । बस्तीमा तिब्बतबाट उपल्लो मुस्ताङ पसेका मंगोलियन फाजी गावाले दुख दिने गर्थे । मंगोलिन फाजीको आक्रमणबाट सुरक्षित रहन गुफा बनाएको किंवदन्ती छ ।

Advertisement

लोमन्थाङ १ का अध्यक्ष पेमा वाङ्गेल गुरुङले अनुसार सुरक्षित बासस्थान बनाएर गुफाभित्र बसेका छोसेरका सिजाबासीलाई मंगोलियन फाजी आक्रमणकारीले आक्रमण गर्न हप्तौं गुफाबाहिर कुरेर आक्रमण गरेको किंवदन्ती सुनाइन् । यद्यपि उनले गुफाको वास्तविकता अनुसन्धानको विषय भएको बताइन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले छोसेरको सिजाझोङ उपल्लो मुस्ताङको ऐतिहासिक गुफा भएको बताए । उनका अनुसार प्राचीन समयमा गुफाभित्र मानव बस्ती रहेको सुनाए । गुफाभित्र सुन र चाँदीले लेखिएको भनिने पुराना किताब, मानव कंगाल र ऊ समय प्रयोग गरिएको ऐतिहासिक वस्तु संरक्षण गरिएको छोसेर गाउँका बासिन्दासमेत भएका अध्यक्ष विष्टको भनाइ छ । गुफाको सबै कोठाको अवलोकन गर्न करिब आधा घन्टा लाग्छ ।

Advertisement

गुफाको संरक्षण सम्वद्र्धन गर्दै ऐतिहासिक संग्रहालयसहितको गुफाको रुपमा विकास गर्न गाउँपालिका र स्थानीयले चासो देखाएका छन् । अध्यक्ष बिष्टले गुफा अवलोकनलाई सहज बनाउन मोटरबाटोको विस्तार र गुफासम्म पुग्ने पदमार्ग स्तरोन्नति गरेको जानकारी दिए ।

सिजा झोङ गुफाको संरक्षण स्थानीय हिमालयन छोसेर यूवा क्लब गर्दै आएकोे छ । क्लबले नै गुफा संरक्षण र शुल्क उठाउने गरेको भए पनि संघीयतापछि यसको स्वामित्व कसले र कसरी लिने भन्नेबारे छलफल भइरहेको लोमन्थाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार अर्यालले बताए । हिमालय छोसेर युवा क्लबले वडा नम्बर १ र २ मा रहेका निफुक नर्वोलिङ गुम्बा, गर्फु गुम्बा, चिम्जा कुञ्जोलिङ गुफार सिजा झोङ गुफा गरी ४ पर्यटकीय स्थलको जिम्मा लिएको थियो । क्लबका अनुसार सिजा झोङ गुफा लगायत अन्य ३ ठाउँको पर्यटकीय स्थलको अवलोकनका लागि स्वदेशी पर्यटकलाई प्रतिव्यक्ति १ सय र विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १० डलर तोकेको छ ।

लोमन्थाङ गाउँपालिका उपाध्यक्ष पेमाडोल्मा विष्टले धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षमा स्थानीय तहले योजनाबद्ध रुपमा कर उठाउने र यसको दिगो विकासका लागि प्रदेश र स्थानीय तहले कार्यक्रम ल्याउने उल्लेख गरिन् ।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङको ऐतिहासिक धरोहरको रुपमा रहेको प्राचीन सिजा झोङ गुफा विश्वकै अग्लो उचाइमा रहेको गुफा भएको दाबी गर्दै उनले उपल्लो मुस्ताङ आउने ८० प्रतिशत पर्यटकले यसको अवलोकन गर्ने गरेको उल्लेख गरे ।

गुफाकै प्रचारका लागि यसवर्ष लोमान्थाङ गाउँपालिकाले पर्यटन प्रबद्र्धनमा सघाउने उद्देश्यले प्रथम लोमन्थाङ महोत्सव आयोजना गरेको हो । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उद्घाटन गरे ।

लोमान्थाङ गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र जैविक विविधतालाई विश्वमाझ पुर्‍याउन आवश्यक भएको मुख्यमन्त्री गुरुङले बताए । गाउँपालिकाले आफ्नो पहिलो महोत्सवमा गुफाभित्रै खाऊँ, गुफामै रमाऊँ भन्ने नारासहित केभ रेस्टुरेन्ट सञ्चालन गरेको हो । महोत्सवमा स्थानीय भेषभूषासहित घोडा दौड, तारो हान्ने, भलिबल, ऊन काट्ने याकमा सवार लगायत प्रतियोगिता, कोरला नाका अवलोकन, स्थानीय खानाको परिकार, स्थानीय कृषि हस्तकला प्रदर्शनी र प्राचीन समयमा भेडाच्याङ्ग्रालाई खाद्यान्न बोकाएर सामान ढुवानी गर्ने जीवनशैली समावेश छन् ।

तपाईको प्रतिक्रिया