कौरामा अमेरिकी पर्यटक नाचे

समाधान संवाददाता २०७६ जेठ ३१ गते १४:०४

कृष्ण न्यौपाने
दमौली

तनहुँको व्यास नगरपालिका ५ स्थित मानहुँडाँडाबाट देखिने सुन्दर दृश्यावलोकन गरेर दमौलीतर्फ फर्कदै गर्दा आमा समूहका सदस्य र स्थानीय युवायुवती अमेरिकी सेनाको अधिकृत क्याडेट टोलीलाई पर्खिरहेका थिए । उनीहरुमध्ये कसैको हातमा अबिर थियो त कसैको हातमा फूल र माला । गाडीबाट ओर्लनेबित्तिकै अमेरिकी सेनाको अधिकृत क्याडेट टोलीलाई स्थानीयवासीले गाउँमा स्वागत छ भन्दै फूलमाला र अबिर लगाइदिए । स्थानीयको आतिथ्यता देखेर अमेरिकीहरु दंग परे । स्थानीयको स्वागतपछि सुरु भयो नाचगान ।

मगर जातिको बाहुल्य रहेको यहाँका स्थानीयले तनहुँमा मात्रै नभई नेपालमै प्रख्यात रहेको कौरा प्रस्तुत गरेपछि माहोल अलि बदलियो । कुर्सीमा बस्न थालेका अमेरिकीहरु स्थानीय युवतीसँगै नाच्न तम्सिए । उनीहरुलाई नाच्नका लागि स्थानीयले नै सहजीकरण गरिदिए । कौराको तालमा छमछमी नाच्न सुरु गरेका उनीहरु आधा घण्टासम्म लगातार नाचिरहे ।

Advertisement

नेपालको संस्कृति र कौरा नृत्य देखेर अमेरिकी सेनाको अधिकृत क्याडेट टोली खुशी प्रकट गरेका थिए । आमा समूहका अध्यक्ष विष्णुमाया थापाले अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताइन् । उनले भनिन्, ‘अमेरिकीहरु पनि यसरी गाउँमा आएर घुम्ने, नाच्ने, रमाइलो गर्दा रहेछन् ।’ अमेरिकी सेनाको अधिकृत क्याडेट टोली बिहीबार मानहुँडाँडाको भ्रमणको क्रममा आएको थियो । मानहुँबाट देखिने सुन्दर दमौली लगायत आसपासका ठाउँहरु देखेर उनीहरु मोहित भएका थिए । व्यास नगरपालिका ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले यहाँबाट देखिने सुन्दर दृश्यले पर्यटकहरु लोभिने गरेको बताए ।

सांस्कृतिक ज्ञान तथा भाषा प्रवीणता कार्यक्रमको लागि सेनाको अधिकृत क्याडेट टोली तनहुँ आएको थियो । हरेक वर्ष सयौ क्याडेटहरु ३ हप्तासम्म विदेशी संस्कृतिमा डुव्दै, अमेरिकालाई संसारमा अरुले कसरी हेर्छन् भन्ने सिक्न र यस प्रक्रियामा आफ्नै बारेमा थप बुझ्दै विश्वभर यात्रा गर्छन् । यी अवसरले उनीहरुलाई विभिन्न संस्कृतिका दैनिक जीवनयापनसँग साक्षात्कार गराउने र विश्वव्यापी कार्यसञ्चालनमा मद्दत गर्न आवश्यक भाषिक र सांस्कृतिक सीपयुक्त अधिकृतहरुको उत्पादन गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

Advertisement

उक्त टोलीले सेना–सेनाबीचको आदानप्रदान, मानवतावादी सेवा र नेपालका सम्पदा क्षेत्रहरुको शिक्षा र तनहुँ जिल्ला व्यास नगरपालिकाको दमौलीमा प्रत्यक्ष सामाजिक र सांस्कृतिक अनुभव गरेका थिए । क्याडेटहरुले तनहुँको व्यास नगरपालिकामा सम्पर्क स्थापनाको कार्यक्रम गर्नुका साथै आदिकवि भानुभक्त क्याम्पसको पुनर्निर्माण कार्यमा समेत सहभागिता जनाएका थिए । उनीहरुले सामुदायिक विद्यालयमा केही कक्षाकोठाको रङरोङन गर्नुका साथै विद्यालयका विद्यार्थीसँग सांस्कृतिक र शैक्षिक विषयमा कुराकानी गरे ।

तपाईको प्रतिक्रिया