‘मीरा राई’ बन्ने धुनमा अनीता राई

समाधान संवाददाता २०७६ जेठ ३२ गते १४:५६

विकास रोकामगर, पोखरा

रहर क्षणिक हुन्छ । आउँछ, जान्छ । तर त्यही रहर जब सौख र सपनामा परिवर्तन हुन्छ । तब त्यसले कसरी जिन्दगीमा अमिट छाप बनाउँछ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । रहर गर्दैगर्दाको पाइला अचानक सपनामा बद्लिएपछि उनको जीवनले उद्देश्य नै बद्लेको छ ।
विदेशीलाई नेपालको अनुहार चिनाउँदै हिँड्ने एउटी पथप्रदर्शक हुन्, अनीता कुलुङ (राई) । पोखराको थ्री सिस्टर्स कम्पनीसँग आवद्ध भएर पथप्रदर्शक भई हिँडेको पनि वर्षौं भइसकेको छ । उच्च हिमाली भेगका प्रत्येक उकाली र ओरालीको लेखाजोखा उनीसँग छ । ‘ट्रेकिङ गाइड भएरै अन्नपूर्ण सर्किट, उपल्लो मुस्ताङ, सगरमाथासम्म पटकपटक घुम्ने मौका पाएँ,’ उनले सुनाइन् ।
पहिला राईमा घुम्ने, रमाउने रहरले डेरा जमाएको थियो । उनी त्यही रहरको फेरो समाएर सन् २००८ मा भोजपुरबाट पोखरा आइपुगेकी हुन् । पोखरा आइसकेर के गर्ने उनलाई थाहा थिएन । तर, डाँडाकाँडा उक्लँदै हिँड्ने इच्छाको गतिलो साथ भने थियो ।
‘पोखरा त आइयो के गर्ने भन्ने थाहै भएन । गाउँले आफन्त र नातागोता पर्ने सबै पर्यटन व्यवसायमै लागेका थिए । काम पनि पाइने घुम्न पनि पाइने मैले पनि त्यही काम गर्ने निधो गरें,’ राईले पोखराका सुरुआती दिन सुनाइन् । ‘जागिर’मा ‘ज्वाइन’ भइसकेपछि कैयौंपटक पर्यटकका भारी बोकर उकालो चढिन्, ओरालो झरिन् । त्यसपछि त हो उनी चिनिएको ‘टुरिस्ट गाइड’ भनेर ।
तर, पथ प्रदर्शकमात्रै भने राईको पूर्ण परिचय होइन । उनी एउटी कुशल हाइअल्टिच्युड धावक पनि हुन् । उनले अहिलेसम्म २ चोटि अन्नपूर्ण म्याराथन, २ चोटी ट्रेल मास्टर, एकचोटि स्तूप म्याराथन कप र २ चोटि तेन्जिङहिलारी एभरेस्ट म्याराथनमा सहभागी भइसकेकी छन् ।
राईले २०१७ मा भएको स्तूप कप ट्रेल मास्टर पनि जितिसकेकी छिन् । त्यतिबेला उनले १० किलोमिटर दूरी १ घन्टा १८ मिनेटमा पूरा गरेकी थिइन् । ‘त्यो दिन ठूलै पानी परेको थियो । दौडिन पनि एकदमै गाह्रो भइरहेको थियो,’ विजेता हुँदाको ‘त्यो दिन’ सम्झिइन् । २०१७ कै तेन्जिङ हिलारी एभरेस्ट म्याराथानमा उनले निर्धारित दुरी साढे ६ घन्टामा पूरा गरेकी थिइन् ।
‘रहरले छिरें, सपना बन्यो’
राई गाउँघरमा पनि कुद्थिन् । त्यो सामान्य कुरा थियो किनभने उनले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन लामालामा दुरीका म्याराथनमा पाइला चाल्छु । सुरुमा एउटा प्रतियोगितामा लहैलहैमा भाग लिएकी थिइन् । ‘टे«ेकिङ गर्दागर्दै म्याराथनबारे सुनें । त्यसमा कस्तो हुँदो रहेछ भनेर रहरले छिरेकी हुँ,’ राईले सुनाइन्, ‘पहिले रहरले छिरे पनि अहिले त धावक बन्ने सपना नै भइसक्यो ।’
सुरुमा हाइअल्टिच्युडमा दौड्दा गाह्रो भएको राईको अनुभव छ । ट्रेनिङ नलिएरै एक्कासि उचाइमा दौड्दा अप्ठेरो भएको उनले सुनाइन् । ‘सुरुमा त एकदमै गाह्रो भयो । ट्रेनिङबेगर हाइअल्टिच्युडमा कुद्नु भनेको ठट्टाजस्तो पनि होइन फेरि !’ भन्छिन्, ‘तर ट्रेनिङ लिएकालाई चाहिँ सजिलै हुन्छ भन्ने लाग्छ ।’
पटकपटक सुनेकी छिन्, मीरा राईको नाम । तर, अहिलेसम्म भेटको अवसर जुरेको छैन । ‘मीरा राईको नाम कैयौंपटक सुनेकी छु । तर भटेको छैन,’ अबको ५ वर्षपछिको योजना सुनाउँदै अनीताले भनिन्, ‘म्याराथन दौड्ने पहिले रहर थियो । तर अहिले ५ मीरा राईजस्तै बन्ने सपना बुनेकी छु ।’
दैनिक ट्रेकिङकै लागि भागदौड गर्नुपर्ने अवस्था छ, राईलाई । यो उनकोे बाध्यता पनि हो । तर, त्यसैबाट समय मिलाएर दौडको अभ्यास गरिरहेकी हुन्छिन् । ‘समय मिलाउन सकिरहेको छैन । मसँग पर्याप्त समय हुँदो हो त राम्रै गर्थें होला भन्ने लाग्छ । दौडेरमात्रै हुँदैन । काम पनि गर्नुप¥यो । त्यसले गर्दा समयको तालमेल मिलाउन सकिरहेकी छैन,’ उनले दुखेसो पोखिन् ।
अनीता आफूलाई साहसिक मान्छिन् । त्यसैेले त उनलाई साहसिक खेलप्रति असाध्यै रुचि छ छ । रक क्लाइम्बिङमा पनि राम्रो दख्खल राख्छिन् । ‘अरुभन्दा केही फरक गर्नुपर्छ भन्ने मेरो चाहना हो । त्यही चाहनाकै कारण म पृथकपृथक काममा रुचि राख्छु,’ उनले सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया