गण्डकी प्रदेशको बजेट आज, के के छन मुख्य आकर्षण ?

समाधान संवाददाता
गण्डकी प्रदेश सरकारले आज आइतबार बजेट ल्याउँदै छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि ३० अर्बभन्दा माथिको बजेट सरकारले ल्याउन लागेको हो ।
जेठ १४ गते सरकारले ल्याएको नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्यलाई पछ्याउँदै बजेट आउने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । नीति तथा कार्यक्रम र यसअघिकै योजनामा आधारित बजेट आउने अर्थमन्त्री गुरुङले बताए ।
यस पटक प्रदेश सरकारले आन्तरिक स्रोतको दायरा बढाउने गरी बजेट ल्याउने सरकारको योजना छ । प्रदेशको अधिकार क्षेत्रभित्रको दायरा बढाएर कृषिबाहेकमा पनि कर उठाउने योजना सरकारले नयाँ बजेटमार्फत सार्वजनिक गर्दैछ । क्षेत्राधिकारभित्रको कर र गैरकर उठाउन नयाँ क्षेत्र तोकेरै बजेटमा प्राथमिकतामै राखिएको छ ।
भौतिक पूर्वाधार विकासमै बजेट केन्द्रित हुने छ । पर्यटन पूर्वाधार, ऊर्जा, उद्योग र कृषिका लागि पूर्वाधार निर्माण गर्ने पुरानै लक्ष्यअनुरुप बजेट ल्याउने सरकारको तयारी छ ।
मध्यकालीन खर्च संरचनाले ३४ अर्बको बजेट प्रक्षेपण गरेको थियो । प्रदेशले ३० देखि ३४ अर्बको बीचमा बजेट ल्याउन लागेको हो । आयोजना र प्राथमिकताका क्षेत्रमा सरकारले दिएको शर्सत र विशेष अनुदानबाहेक खर्च नभएको रकम पनि आगामी बजेटमा जोडिएर विनियोजन हुने छ ।
राजस्व बाँडफाँटतर्फ ७ अर्ब ७० करोड रुपैयाँको सिलिङ संघ सरकारले पठाएको छ भने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड रुपैयाँ अनुमानित विवरण पठाइएको छ । चालु आर्थिक वर्षमा राजस्व बाँडफाँटतर्फ ६ अर्ब ५७ करोड र वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षमा सन्तोषजनक बजेट खर्च गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र विकास कोषमार्फत सांसदलाई पनि ३ करोड रुपैयाँसम्म रकम दिने छ । प्रदेशको ढुकुटी बनाउने नयाँ स्रोतको खोजि, ऋणको प्रवन्धसमेत हेरेर नयाँ बजेट आउने अर्थमन्त्रीले जानकारी दिए । आगामी वर्ष बजेट कार्यान्वयनमा चालु आर्थिक वर्षमा जस्तो संक्रमणबाट गुज्रनु नपर्ने भएकाले पनि लक्ष्यअनुरुपको बजेट खर्च गर्न सक्नेमा आशावादी रहेको अर्थमन्त्री गुरुङको विश्वास छ ।
गण्डकी प्रदेश सरकारले महत्वाकांक्षी योजनासहित चालु आर्थिक वर्षमा २४ अर्बभन्दा माथिको उत्साहजनक बजेट ल्यायो । तर, सरकारको उत्साहअनुसार बजेट खर्च हुन सकेन । चालु वर्ष विकासको जग हाल्ने काम गरेकाले अर्को वर्ष प्रदेशले बजेट कार्यान्वयनमा फड्को मार्ने अर्थमन्त्री गुरुङले बताए ।
समृद्धिको आधारः पर्यटन पूर्वाधार, समृद्धिको लहरः आधुनिक र व्यवस्थित शहर, गुणस्तरीय भौतिक पूर्वाधारः प्रदेश समृद्धिको आधार, विद्युतीय सुशासनः सक्षम, सुदृढ, उत्पादन र उत्पादकत्व वृद्धिः प्रदेशको समृद्धि, प्रदेशको धनः दक्ष जनशक्ति उत्पादन, खेलकुदको सम्मानः प्रदेशको पहिचान प्रदेशको शक्तिः स्वस्थ जनशक्ति जस्ता नयाँ नारामा पुरानै कार्यक्रमलाई समावेश गरेर सरकारले नीति तथा कार्यत्रक्रम ल्याएको छ ।
सुरुको वर्षमा नै ५ वर्षको लक्ष्य निर्धारण गरी नीति तथा कार्यक्रम ल्याइएकाले नयाँ नभएको र बजेटले पनि त्यसैलाई सरकारले पछ्याउने छ । सरकारले प्रदेश रुपान्तरणकारी योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ । प्रदेशकै परिवर्तनकारी ३२ आयोजनालाई समेटेर बजेटमा सम्बोधन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
८ वटा मुख्य र बाँकी अन्य गरी प्रदेशको विकास र समृद्धिको आयोजना छनोट गरिएको छ । पहिचान गरेका आयोजनामा लगानी भित्राएर सरकारी लक्ष्य प्राप्त गर्ने सपना प्रदेश सरकारले देखेको छ ।
कालिगण्डकी करिडोरमा म्याग्दीको दानादेखि मुस्ताङको छुसाङसम्म १ सय ३२ केभिय विद्युत ट्रान्समिसन लाइनको बिस्तार, मस्याङ्दी नदी करिडोरमा लमजुङको बेंसिसहरदेखि मनाङको चामेसम्म २ सय ३२ केभिय विद्युत ट्रान्समिसन लाइनको बिस्तार गर्न ठूला लगानीकर्ता भित्राउने लक्ष्य सरकारको छ । बुढीगण्डकी करिडोरमा २ सय ३२ केभिय विद्युत ट्रान्समिसन लाइनको बिस्तार, पोखरा बुटबल सिद्धार्थ राजमार्गको चार लेनमा स्तरबृद्धि, पोखरा मुग्लिन पृथ्वीराजमार्गको चार लेनमा स्तरबृद्धि, पोखरा, भीमाद, डेढगाउ, झ्यालबास, दुम्कीबास, त्रिबेणी दु्रतमाग निर्माण, तनहुँ हुँदै नबलपुर जाने सडक पनि बजेटको प्राथमिकतामा पर्नेछ ।
पालुङटारमा औद्योगिक क्षेत्रको स्थापना, शालिग्राम सांस्कृतिक मार्गको निर्माण पनि योजनालाई बजेटमार्फत सरकराले सम्बोधन गर्ने छ । झन्डै ३ खर्बको प्रदेश अर्थतन्त्रलाई ५ वर्षमा ५ अर्बको बनाउने लक्ष्य सरकारको छ । वार्षिक वृद्धिदर २ अंकको बनाउने, अहिले १४ प्रतिशत रहेको गरिबीलाई ७ प्रतिशतमा झार्ने, मातृमृत्युदर प्रतिलाख जीवित शिशु जन्ममा २ सय ३९ छ त्यसलाई १ सय ७० मा झार्ने गण्डकी प्रदेश सरकारको लक्ष्य छ ।
सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चाालन गरेको सरकारले सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी सन् २०२२ सम्ममा वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यलाई जोड दिँदै बजेट ल्याउने तयारी गरेको छ ।









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया