प्रिय पत्रकार महासंघ ! मैले सदस्यता नवीकरण गरिन है !!

समाधान संवाददाता २०७६ असार १ गते १४:४०

कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका जस्ता तीनओटा राज्यका प्रमुख अङ्गसँगै चौथो अङ्गका रूपमा हामीले पत्रकारितालाई मान्यौं। तर राज्य पत्रकारितालाई चौथो अङ्ग मान्न कहिल्यै तयार भएन । राज्य सरकारले पत्रकारितालाई सदा आफ्नो अनुकुलको बनाउन प्रयत्न गर्यो र केही पत्रकारहरूले नै त्यो प्रवृत्तिलाई टेवा दिदै आफ्नो स्वार्थ पूरा गर्न थाले । पत्रकारदेखि डराउनेहरूले पत्रकारलाई आफूसँग डराउने बनाए ।

पत्रकारितामा गैह्र पत्रकार हावी हुन थालेपछि सच्चा पत्रकारहरू ओझेलमा परे । पार्टीको भागबण्डामा नपरेकाहरू पत्रकारको रूपमा स्थापित हुन सकेनन् । अन्य पक्षले खेल्न खोज्नु र स्वार्थपूर्ति गर्न चाहनु छुट्टै कुरा हो तर हामी पत्रकारहरू समेत एक आपसमा मिल्न सकेनौं । संस्थामा संलग्न हुन र पुरस्कार तथा सम्मान प्राप्तिको लालसाले हामी जेलियौं। हामी आफैले आफ्नो अस्तित्व गुमायौं तर पत्रकार बनिरह्यौं । यो प्रक्रिया एउटा रीत नै बनेको अवस्था छ। हामी प्रेस चौतारी र प्रेस यूनियनलगायत हुँदै स्वतन्त्र पत्रकारसम्म विभाजित भयौं। पत्रकार महासंघलाई हामीले स्वैच्छिक आस्थाको धरोहर बनाउन सकेनौं ।दलगत आस्थाका आधारमा महासंघलाई अघि बढायौं ।

मैले पत्रकारितमा प्रवेश गरेको समय ३५ वर्ष भएछ । पोखराको सन्दर्भलाई मात्र हेर्दा हातका औंलामा गन्न सकिने ८र१० जना मात्र पत्रकार भएको अवस्थामा २०४१ सालमा म पत्रकारितामा प्रवेश गरेको थिएँ । पार्वती साप्ताहिकबाट शुरू भएको मेरो पत्रकारिताको यात्रा घटना र विचार,तरूण, श्री देउराली,आदर्श समाज आदि पत्रिका हुँदै अनुपमा ,पोखरापत्र , पोखरेली, चेतनापत्र र जनमतको सम्पादनसम्म विकसित भयो। जो सक्दो सेवा गरें,व्यक्तित्व निर्माण गरें,पत्रकारका रूपमा स्थापित भएँ र बौध्दिक क्षमताको प्रदर्शन गरें। आफ्नै लगानीमा पोखरेली र चेतनापत्र दैनिकको प्रकाशन समेत गरेको अवस्थामा धेरैलाई रोजगारी दिने अवसर पनि प्राप्त गरें । यिनै उपलब्धीका कारण सन्तानको खुसी खोसेको,खानपिनमा ध्यान नदिएको,स्वास्थ्य बिगारेको,भाषासाहित्यको दर्बिलो सेवा गर्न नसकेको,जागिर धान्न धौधौ परेको,घडेरी बेचेर दसौंलाख रुपैयाँ तलब खुवाएको र विज्ञापनको पैसा नउठेको पीडालाई मैले बिर्सें ।

Advertisement

केही वर्षयता सम्पादनको कार्यलाई छाडेर स्वैच्छिक रूपमा आदर्श समाज दैनिकलाई सहयोग गर्दै पत्रकारितालाई धान्दै आएको छु । पछिल्लो समय स्वतन्त्र पत्रकार संघमा आबध्द समेत छु । पत्रकार महासंघ कास्कीको लामो समयदेखि साधारण सदस्य समेत रही आएको छु । मलाई पत्रकारितामा प्रवेश गराउने अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला हुनुहुन्छ भने म हाल पनि उहाँकै आदर्श समाजमा आबध्द छु ।

मलाई यहानेर के भन्न मन लागेको छ भने निष्क्रिय भएर पनि पत्रकार भैरहनु राम्रो होइन ।कतै संलग्न नभए पनि सिफारिशका आधारमा महासंघमा सदस्य भैरहने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ । ८र१० जना पत्रकारको समूहमा सामेल भई पत्रकारिता शुरू गरेकोमा हाल करिब ४०० जना पत्रकारको भीडमा म रहेको छु । पत्रकार महासंघ कास्कीको सदस्यता नवीकरण गर्न ताकेता भइरहे पनि पत्रकारितालाई स्वच्छ राख्न तथा वास्तविक पत्रकारको सदस्यता मात्र नवीकरण होस् भन्नाका खातिर सदस्यता नवीकरण नगर्ने निर्णय मैले गरेको छु ।

Advertisement

वर्तमानमा पत्रकारमाथि राज्यले मात्र नभएर गलत प्रवृत्तिका व्यक्तिले पनि प्रहार गरेका छन् । पत्रकारको अस्तित्व त्यतिबेला उज्ज्वल हुन्छ जतिबेला वास्तविक वा क्रियाशील पत्रकार मात्र महासंघमा रहन्छन् । पत्रकारको संस्थामा पत्रकार मात्र सदस्य रहनुपर्छ । गैरपत्रकारको आरोप लाग्दालाग्दै पनि सदस्यता नवीकरण गर्नु र गराउनु दुबै कार्य पत्रकारितालाई मागी खाने भाँडो बनाउनु हो । अन्य क्षेत्रमा रहेर पनि आफ्नो शक्ति र क्षमतालाई प्रदर्शन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । जनताको घरदैलोमा उभिएर उनका समस्याको निराकरण हुने गरी समाचार संप्रेषण गर्नु आजको आवश्यकता हो । समग्रमा राष्ट्र र समाजको प्रगतिका लागि पत्रकारिता गरिनुपर्छ निजी स्वार्थका लागि होइन । मैले प्रेस यूनियनको सदस्यता नवीकरण नगरेको धेरै भइसक्यो । अब स्वतन्त्र पत्रकार संघमा पनि म संलग्न हुने छैन ।साथै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको पार्षद भएकाले सो अन्तर्गतको अधिकारको प्रयोग पनि गर्ने छैन । मेरो पछिल्लो दैनिक पत्रिका ूचेतनापत्रू लाई आधार बनाई महासंघको सदस्य बनी रहनु मलाई उचित लागेन । समाचार र समाचारमूलक लेखरचना सिर्जना तथा प्रकाशन मात्रले पनि पत्रकारिताको पक्षमा उभिन सकिन्छ भन्ने मलाई लाग्दछ । जुन बेला पदानुसारको क्रियाशीलता होला त्यो बेला सदस्यता लिने कुरा छँदै छ तर त्यो संभावना भने निकै कम छ ।अबको जीवनको मूल अंश प्राध्यापन,साहित्य सिर्जना र घरव्यवहारमा लगाउने प्रण समेत म यस सन्दर्भमा गर्दछु । २०४१ सालदेखि हालसम्म मलाई पत्रकारितामा जीवित राखिरहने अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला र नेपाल पत्रकार महासंघप्रति म आभारी छु ।
२०७६-२-३२

माधव वियोगी
सम्पादकर प्रकाशक
ूचेतनापत्रूराष्ट्रिय दैनिक

तपाईको प्रतिक्रिया