कमिसनको चक्करमा मेलम्ची, अपर तामाकोशी, बुढीगण्डकी जस्ता ठूला आयोजनामा सरकारको कुदृष्टि

समाधान संवाददाता २०७६ असार १ गते १५:२५

केदार धमला, समाधान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संरक्षणमा ठूला भ्रष्टाचार बढ्दै गएको बताएका छन् । कमिसनको खेलमा लोकतन्त्र र जनतालाई कमजोर बनाउने शैलीमा अर्थतन्त्र नै धरापमा पार्न सरकार लागिपरेको बताएका हुन् । नेता पौडेलले कमिसनको चक्करमा मेलम्ची, अपर तामाकोशी, बुढीगण्डकी जस्ता ठूला आयोजनामा सरकारको कुदृष्टि परेकोमा चिन्ता गरे ।

शैलजा आचार्य आदर्श समाजद्वारा आयोजित भ्रष्टाचार बिरुद्ध नागरिक अभियान कार्यक्रममा नेता पौडेलले हलो जोतेर क्रान्ति सुरु गरेको कांग्रेसले देश, लोकतन्त्र र नेपाली जनतालाई डुब्नबाट जोगाउने बताए । २ तिहाईको दम्भमा अदालत र अख्तियारलाई निरिह बनाउँदै लगेकोमा चिन्ता गरे । उनले भने, ‘अदालत र अख्तिायारलाई कांग्रेसको साथ छ, दोषीलाई नछोड्नुहोस् ।’ पूर्व सभामुखसमेत रहेका नेता पौडेलले भने, ‘दोषीलाई कारवाही गर्न जनताले नै साथ दिनु पर्छ, तपाइँहरु भन्नुहोस् अख्तियारलाई हाम्रो साथ छ, निडर भएर दोषीलाई कारवाही सुनाउनुस् अदालत नजिक हामी छौं भन्नुहोस् ।’

Advertisement

साना कर्मचारीलाई केही रकममा कारवाही गरेको देखाउनेमात्र काम अख्तियारको काम नभएको बताउँदै नेता पौडलले भने, ‘शक्ति र सत्तासँग डराउनु पर्दैन, हाम्रो पूर्ण साथ छ ।’ कांग्रेसमार्फत् नेपालको लोकतन्त्र जोगाउन अन्तर्राष्ट्रिय शक्तिको साथ रहेको भन्दै कसैसँग नडराउन कर्मचारी, बृद्धिजीवी, पत्रकार, लेखक, नागरिक समाज, मानव अधिकारसँग सरोकार राख्ने समूह सबैसँग अनुरोध गरे ।

नेपाली कम्युनिस्टले कार्यकर्तालाई समेत छोड्दै नयाँ वर्ग जन्माउन उद्दत रहेको आरोप लगाए । राष्ट्रको जीवनमा देखा परेको संकटलाई पार गर्न भ्रष्टाचार विरोधी अभियान तल्लो तहसम्म पु¥याउनु पर्ने दायित्व जनतामा बढेको पौडेलले बताए । उनले शैलजा आचार्य महिला नेतृमात्र नभई राष्ट्रको नेता भएको उल्लेख गर्दै उनीबाट धेरै कुरा सिक्नु पर्नेमा जोड दिए । नेपाली कांग्रेस आफैले बनाएको कानुनमा आफ्नै नेता परे पनि नछोडेको बताउँदै वर्तमान ओली सरकार भ्रष्टाचारीको सरंक्षण र बचाउमा लागेको आरोप लगाए । प्रजातन्त्रलाई कमजोर बनाउन सिद्धान्त र नीति विपरीत काम गरे पनि भ्रष्टाचार हुने बताउँदै नेता पौडेलले नीतिगत भ्रष्टाचार निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।

Advertisement

शक्ति र सत्तामा रहँदा भ्रष्टाचार बढ्ने संकेत गर्दै स्वार्थपूर्ण ढंगबाट अन्तर्राष्ट्रिय स्तरबाट हुने खतराबाट देशलाई कम्युनिस्टले बचाउन नसक्ने बताए । देश असफल बनाउने खेलमा नेपाली कम्युनिस्ट लागिपरेको उदाहरण दिँदै नेता पौडेलले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार र जनतामैत्री भएर काम गर्न निर्देशन दिए ।

आगामी निर्वाचनमा जनतामाझ जाँदा कालो र दोषी अनुहार देखियो भने जनताले कांग्रेसलाई मत नदिने संकेत गर्दै पैसामा बिक्ने मत नीति विपरीत हुने ठोकुवा गरे । भ्रष्टाचार विरुद्धको अभियानमा बुद्धिजीवी, पत्रकार, नागरिक समाज, संघसंस्था, महिला, युवा, तरुण सबै एक भएर लाग्नुपर्ने समय आएको बताए । खुला मञ्चबाट आफैले (तत्कालीन एमाले) भ्रष्टाचारी ठोकुवा गरेका नेता कार्यकर्तालाई कारवाही नगर्नु ठूलो भ्रष्टाचार भएको संकेत गरे ।

समाजवादी चिन्तक नेता पौडेलले भ्रष्टाचारमा नडुबेको पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै सिधा बटुवाई बोका होइन भन्ने चतुर बटुवाले १ सय पटक भनेपछि बोका छोडेको जस्तै कम्युनिस्टले कांग्रेसमाथि लगाएको आरोप मिथ्या प्रमाणित हुँदै गएको बताए ।

आदर्श समाजकी नेतृ कमला पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुद्धिजीवी हरिबहादुर थापाले शैलजा आचार्य आदर्श नारी भएको उल्लेख गरे । कृषि मन्त्रालय सम्हाल्दा नेतृ आचार्यले भ्रष्टाचारमा मन्त्रालय डुबेको भन्दै राजीनामा दिनुले नैतिकता उच्च भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले पञ्चालय कालमा भन्दा सय गुणा भ्रष्टाचार बढेको भन्दै चिन्ता गरे । पार्टीको नीति विपरीत हुने गतिविधि पनि भ्रष्टाचार हुने ठहर गर्दै नेता रानाभाटले जो भए पनि भ्रष्टाचारीलाई नग्याउँनै पर्ने बताए । २०४८ सालमा जनताले दिएको मतलाई लत्याउनु ठूलो भ्रष्टाचार भएको प्रसंग कोट्याउँदै धर्म, संस्कृति र लोकतन्त्रमाथि भएको खतरा हटाउन शैलजा आचार्य आदर्श समाजले देशभर निडर भएर भण्डाफोर अभियान सुरु गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया