मानवसेवा आश्रद्वारा मनोरोगी महिलाको उद्दार

समाधान संवाददाता २०७६ असार २ गते ११:३९

समाधान संवाददाता, गोरखा

सिरानचोक गाउँपालिका ६ महटारबाट मनोरोगी महिलाको उद्दार गरिएको छ । मानवसेवा आश्रम गोरखा शाखाको सक्रियतामा स्थानीय अन्दाजी २५ वर्षीया रुथ विकको उद्दार गरिएको हो । ‘उहाँको श्रीमान पनि जन्मजात नै दुवै खुट्टा नभएको हुनुहुदो रहेछ, झण्डै डेढ दशक अघि दुवै जना बागलुङको मन्दिरमा मागेर बसेको अवस्थामा स्थानीयले बिहे गरिदिएछन्’ आश्रमकी गोरखा प्रमुख मुना लामाले भनिन् ‘अहिले श्रीमतीको पूरै मानसिक अवस्था गुमेको रहेछ, शानिबार हामीले उद्दार गर्‍यौ ।’

१ महिनाअघिदेखि विकको मानसिक सन्तुलन गुमेर गाउँलेलाई समेत सताउन थालेपछि वडा कार्यालयले आश्रमलाई उद्दारका लागि अनुरोध गरेको थियो । आर्थिक स्रोत नभएकाले हालसम्म उनीहरुको पालनपोषणमा समेत गाउँले नै सहयोग गर्दै आएका थिए ।

Advertisement

संस्थाले निर्माण गरिएदिएको अस्थायी कटेरोमा बस्दै आएका विक दम्पतीको अवस्था अत्यन्त नाजुक भएपछि आश्रमले उद्दार गरी उपचार गराउन चितवन शाखामा पठाएको छ । ‘उहाँको माइतीको पनि कुनै पत्तो रहेनछ, १ महिना अघिदेखि दिमागले काम गर्न छोडेपछि पूरै सडकमा पुग्नुभएछ’ आश्रमकी जिल्ला प्रमुख लामाले भनिन् ‘हामीले शनिबार उद्दार गरेर चितवन शाखामा पुर्‍याएका छौं, त्यहा उनको उपचार पनि हुन्छ, उनलाई आश्रय पनि हुन्छ ।’

जिल्ला शाखामा बालबालिका मात्रै राख्ने व्यवस्था भएकाले विकलाई चितवन लगिएको लामाको भनाई छ । उद्दार गर्न महटार पुगेका आश्रमका प्रतिनिधिलाई स्थानीय र वडा कार्यालयले विकको उपचारका लागि २१ हजार १ सय ९५ रुपैया सहयोग गरेका थिए ।

Advertisement

विकका श्रीमान कृष्णबहादुर विकलाई भने उनका भाइको जिम्मा लगाइएको छ । उद्दार कार्यमा आश्रम अभिभावक परिवारका सित्तलकाजी मास्के, इश्वरकाजी मास्के, जिल्ला प्रमुख लामा, वडाध्यक्ष नारायणबाबु दानी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया