विद्यार्थीको कठघरामा न्यायाधीशः न्यायाधीश आफै भ्रष्टाचारमा मुछिए कसले कारबाही गर्ने ?

समाधान संवाददाता २०७६ असार ३ गते ११:३३

उच्च अदालत पोखराले सोमबार पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा गरेको न्यायिक संवादमा सहभागी विद्यार्थी र शिक्षक ।

भरत कोइराला
पोखरा

अजित तिमिल्सिना जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए चौथो सेमेस्टरमा पढ्छन् । उनले अदालत र मुद्दामामिला, न्याय क्षेत्रमा काम गर्ने कर्मचारीमात्र होइन, कानुन व्यवसायीबारे धेरै सुनेका छन् । न्यायालय भन्नेबित्तिकै उनको दिमागका एउटा चित्र बन्थ्यो—ढिलासुस्ती, अनियमितता अनि झन्झटिलो प्रक्रिया । सोमबार बिहानै उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालसहितको टोली उनको कलेज पुग्यो ।

Advertisement

तिमिल्सिनासहित धेरैले न्याय सम्पादन र कानुनी प्रक्रियाबारे प्रश्न सोधे । र जिज्ञासा मेटाए । कार्यक्रमको अन्त्यमा तिमिल्सिनाले भने, ‘अदालत र न्याय प्रणालीबारे मैले जे बुझेको रहेछु, त्योभन्दा धेरै फरक रहेछ, आज आएर बल्ल छर्लंग भयो ।’

बिबिए चौथो सेमेस्टरमा व्यावसायिक कानुन पढ्नुपर्छ । तिनै विद्यार्थीले कानुन र न्याय प्रशासनबारे बुझ्न चाहे । उनीहरुको चाहना पूरा गरिदियो उच्च अदालत पोखराले । सर्वोच्च अदालतको चौथो पञ्चवर्षीय योजना अन्तर्गत अदालतहरुले वर्षमा ४ पटक जुडिसियल आउटरिच अर्थात् न्यायिक संवाद गर्नुपर्छ । यही कार्यक्रम अन्तर्गत आइतबार जनप्रियका विद्यार्थीसँग संवाद गरिएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताए ।

Advertisement

न्यायाधीशसँग पहिलोपटक साक्षात्कार गरेका विद्यार्थीहरुले धेरै प्रश्न तेस्र्याए । मुद्दाका पक्षलाई कठघरामा उभ्याएर प्रश्न सोध्ने न्यायाधीश आफै विद्यार्थीका प्रश्न सामना गर्न तयार रहे । विद्यार्थी प्रश्न अनेकथरी थिए । ढुकुटी कारोबारदेखि शिक्षकले पढाउन अल्छी गरेकोसम्म । प्रहरीले पुर्जीबिनै पक्राउ गरेको, न्यायालयमै भ्रष्टाचार र अनियमितता हुने गरेको, पीडक नै पीडित बनेर मुद्दा दर्ता गराएको, सामाजिक सञ्जालले भिœयाएको विकृति लगायत थुप्रै विषयमा उनीहरुले प्रश्न गरे ।

गत भदौबाट मुलुकी ऐन खारेर भएर नयाँ संहिता लागु भएपछिका अन्योलबारेसमेत उनीहरुले प्रश्न राखे । मुलुकी संहिताले बिहेको उमेर २० वर्ष तोकिदिएको छ । फेरि अर्को दफाबाट बिहे नभए पनि सन्तान जन्मेको छ भने स्वतः बिहे मानिने भनेको छ । बहुविवाह स्वत रद्द हुने व्यवस्था गरेको छ । विद्यार्थीको प्रश्न थियो – २० वर्ष कम उमेरमै केटाकेटीबीच शारीरिक सम्पर्क भएर बच्चा जन्म्यो भने केटाकेटीको सम्बन्ध के हुन्छ ? मुख्य न्यायाधीशले उनीहरुको जिज्ञासा मेटाउने प्रयास गरे, ‘बच्चा जन्मिहाले आमाबाबुको नाम राखेर बच्चाको जन्म दर्ता हुन्छ । तर केटाकेटीको सम्बन्धले वैवाहिक मान्यता पाउँदैन ।’ उमेर २० वर्ष कटेपछि भने सहमतिमा पतिपत्नीको नाता कायम गर्न कानुनले रोक्दैन ।

मुख्य न्यायाधीश बस्यालले बाहिरबाट भनिएजस्तो न्यायालयमा भ्रष्टाचार र राजनीतिक हस्तक्षेप नरहेको जिकीर गरे । तर उनले उनले भ्रस्टाचारलाई सामाजिक व्यवस्थाको उपज भन्न भने छुटाएनन् । नागरिक, राजनीतिकर्मी, कर्मचारी सबैले स्वच्छ मनले काम गर्नेबित्तिकै भ्रष्टाचार आफै कम भएर जाने उनले प्रस्ट्याए ।

अदालतमा परेका मुद्दा त न्यायाधीशले फैसला गर्छन्, तर न्यायाधीश आफै भ्रष्टाचारमा मुछिए कसले कारबाही गर्छ त ? १ विद्यार्थीको प्रश्नमा मुख्य न्यायाधीश बस्यालले भने, ‘जिल्लादेखि उच्च अदालतसम्मका न्यायाधीशलाई न्यायपरिषदले कारबाही गर्न सक्छ, सर्वोच्चको हकमा संसदमा महाअभियोग लगाएर कारबाही गर्ने कानुनी प्रावधान छ । सुरु अदालतले गरेको आदेश र फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने अधिकार मुद्दाका पक्षलाई भएकाले न्याय कुनै हालतमा नमर्ने भनाइ मुख्य न्यायाधीश बस्यालले राखे ।

कार्यक्रममा रजिस्ट्रार जीतेन्द्रबाबु थलियाले कानुन, कानुनी व्यवस्था, भदौ १ गतेबाट लागु भएको मुलुकी संहिताको विशेषताका बारेमा प्रस्ट्याए । उच्च अदालतको क्षेत्राधिकार, मुद्दाको स्थितिबारे समेत उनले जानकारी गराए । उपरजिस्ट्रार पुष्पराज दाहालले न्यायिक संवादको महत्व र प्रक्रियाबारे जानकारी गराए । उच्च बार एसोसिएसन पोखरा अध्यक्ष रोहितराज बास्तोलाले कानुनी प्रक्रिया झन्झटिलो रहेको आम जनगुनासो रहेकोमा आवश्यक परे परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर कुँवरले अझै पनि धेरै नागरिकले कानुनबारे थाहा पाउन नसकेकाले व्यापक रुपमा कानुनी साक्षरता आवश्यक रहेको बताए । क्याम्पस प्रमुख वीरञ्जी गौतम, सहायक क्याम्पस प्रमुखद्वय भेषराज बराल, राजेन्द्र पौडेल, उपप्राध्यापक दिनेश आचार्य, विद्यार्थी दिव्या न्यौपाने लगायतले जिज्ञासासहित भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया