भानुभक्तको नगरमा बिर्के टोपी !

समाधान संवाददाता २०७६ असार ३ गते ११:४२

आदिकवि भानुभक्त आचार्यको पहिचान झल्किने बिर्के टोपीमा भानु नगरपालिकाका कर्मचारी

ईश्वर देवकोटा
पोखरा

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा फैलाए । तनहुँको चुँदीरम्घामा जन्मेका राष्ट्रिय विभूति आचार्यले नेपाली भाषा सम्बद्र्धनमा ठूलो गुन लगाए । जसरी नेपाली भाषा तथा साहित्यमा आदिकवि भानुभक्तको योगदान छ, त्यसरी नै उनको योगदानको सम्मान अनेक तरिकाले भइरहेको छ । आदिकविको जन्मथलोको नगरपालिकाको नामै राखिएको छ भानु ।

Advertisement

हो त्यही भानु नगरपालिकाले भानुभक्तले लगाउने बिर्के टोपीमार्फत पहिचान झल्काउने भएको छ । गत वैशाखमा नगरकार्यपालिकाको बैठकबाट निर्णय पारित भएपछि जनप्रतिनिधि र कर्मचारीले भानुभक्तको बिर्के टोपी लगाउनुपर्ने नियम बनाइएको छ ।

निर्णयअनुसार असार १ गते आइतबारदेखि नै भानुभक्तको टोपीलाई पोसाकको रुपमा ग्रहण गरिएको मेयर उदयराज गौलीले जानकारी दिए । ‘जसरी गोरखाबाट पृथ्वीनारायण शाहले राष्ट्रिय भूगोल एकीकरण गर्नुभयो । त्यसरी नै तनहुँ चुँदीरम्घाबाट भानुभक्तले भाषाको एकीकरण थाल्नुभयो,’ उनले भने, ‘राष्ट्रिय विभूतिको सम्मानमा पनि उहाँको टोपी लगाई पहिचान बोक्ने प्रयास गरेका छौं ।’

Advertisement

उनै आदिकविको नामबाट विसं २०७३ फागुन २७ गते नेपाल सरकारले साविकको भानु गाविससहित वसन्तपुर, मिर्लुङ, रिस्ती, सतिस्वाँरा, तनहुँसुर, चोकचिसापानी, रुपाकोट, पुर्कोट गाविस समेटेर ‘भानु नगरपालिका’ घोषणा गरेको थियो ।

राज्य पुनःसंरचनाका विभिन्न चरणमा पञ्चायतदेखि गाविस हुँदै नगरपालिकासम्म पनि भानुभक्तको नामबाट नगरपालिका स्थापना भएको सुनाउँदै मेयर गौलीले भावी सन्ततीलाई राष्ट्रिय विभूतिको पहिचान बोक्ने बनाउन बिर्के टोपी लगाउने थिति बसाल्न खोजेको सुनाए ।

भाषिक एकीकरणका धरोहर जन्मेको ठाउँमा अन्यत्रबाट आउने पर्यटकलाई मौलिक आकर्षण मार्फत रमाउने बनाउन पनि बिर्के टोपी सहायक सिद्ध हुने उनको विश्वास छ ।

‘नगरपालिकामार्फत वितरण हुने चिनोमा भानुभक्तीय टोपी दिने चलन सुरु गरिसकेका छौं,’ मेयर गौलीले भने, ‘दार्जिलिङ सिक्किमसम्म नेपाली मुलका मानिसले उहाँको सम्मानमा टोपी लगाउँछन । अनि हामी जन्मस्थानमा बसेकाहरुले उहाँको पहिचान भुल्नु हुँदैन भनेर पनि अभियानको रुपमा ल्याएका हौं ।’

तत्काल नगरपालिकामा कार्यरत कर्मचारी ३५÷४० जनाले बिर्के टोपी लगाएर सांकेतिक रुपमा आइतबारबाट अभियानको थालनी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र देव पाण्डेले जानकारी दिए । जनप्रतिनिधि, नगरपालिकाका सबै वडाका कर्मचारी, शिक्षक र फिल्डमा खटिने कर्मचारीलाई पनि उक्त टोपी अनिवार्य हुने उनले बताए ।

हाल बजारमा उपलब्ध हुने टोपी औसतभन्दा केही बाक्लो र गर्मी हुने हुँदा नयाँ उत्पादन गर्ने टोपीलाई जुनसुकै याममा प्रयोग गर्न सकिने बनाउन उत्पादनकर्तालाई आग्रह गरेको अधिकृत पाण्डेले सुनाए । नगरपालिका मातहत जनप्रतिनिधि र कर्मचारी गरेर कम्तीमा ३ सय जनाले उक्त टोपी पोसाकको रुपमा लगाउने भएका छन् । भानु जयन्तीको अवसरमा नगरपालिकाले असार २९ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिने समेत तयारी गरेको अधिकृत पाण्डेले जानकारी दिए ।

बिर्के टोपी बनाउन तालिम
नगरभित्रै बिर्के टोपी उत्पादन गर्न भानु नगरपालिकाले तालिमको प्रबन्ध गर्ने भएको छ । सिलाइकटाइमा रुचि हुने र आर्थिक रुपमा विपन्न महिलालाई बिर्के टोपी बनाउन नगरपालिकाले तालिमको व्यवस्था गरेको मेयर उदय गौलीले जानकारी दिए ।

‘भानुभक्तीय टोपी हाम्रै नगरका महिला दिदी बहिनीले उत्पादन गरुन भनेर तालिमको चाँजो मिलाएका छौं,’ उनले भने, ‘बाहिरबाट आउने पर्यटकका लागि आकर्षण पनि हुने, उत्पादन गर्ने समूहलाई पनि आम्दानीको स्रोत बढ्ने ।’

महिला सशक्तीकरणका योजनामा समेटेर सदरमुकाम दमौलीमा तालिमका लागि पठाइने उनले सुनाए । सिलाइकटाइ तालिम सकेका महिलाले यही पेसालाई निरन्तरता दिन चाहे आगामी योजनामा मेसिनसमेत उपलब्ध गराउने मेयर गौलीले जानकारी दिए ।

डुम्रे बजार लक्ष्य गरेर उत्पादित टोपीको बजारीकरण गरिने नगरपालिकाको योजना छ । डुम्रे हुँदै लमजुङ, मनाङतर्फ लाग्ने पर्यटक र पोखरा, काठमाडौं ओहोरदोहोर गर्ने मानिसलाई टोपी बिक्री गर्न सहज हुने मेयर गौलीले बताए । प्रयोगमा आएका बिर्के टोपी विशेषगरी दमौलीमा उत्पादन हुन्छन् । एउटा टोपीको सरदर बजार मूल्य ३ सय रुपैयाँ हाराहारी पर्छ ।

तपाईको प्रतिक्रिया