गुठी विधेयकबारे आन्दोलन घोषणा

समाधान संवाददाता २०७६ असार ३ गते १२:०६

समाधान संवाददाता
बागलुङ

विवादित गुठी विधेयकबारे बागलुङका गुठीयारले आन्दोलनको तयारी थालेका छन् । राजधानीमा चर्किएको गुठीयारको आन्दोलनबारे सरकारले सकारात्मक सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने तयारी थालिएको खड्का गुठीले जनाएको छ ।

संघर्ष समितिका संयोजक शंकर खड्का तथा पुवार खड्का गुठीका अध्यक्ष शिव खड्काले विवादित विधेयक फिर्ता लिई सरोकारवालासँगको छलफलबाट विधेयक बनाउन सरकारसँग माग गरे ।

Advertisement

प्रस्तावित विधेयकले गुठी मासिने भएकाले गुठी मासिनु भनेको धर्म, परम्परा, संस्कृति पनि मासिनु भएकाले त्यसो हुन नदिन सरकारलाई दबाब दिन आन्दोलन गर्नु परेको उनीहरुले बताए । आफ्नो आन्दोलन शान्तिपूर्ण हुने भन्दै सम्पदा, संस्कृति र धर्म रक्षाका लागि सवैको सहयोग रहने विश्वास व्यक्त गरे । विधेयक बिरुद्धको आन्दोलनका लागि शंकर खड्काको अध्यक्षतामा १ सय ५१ सदस्यीय संघर्ष समिति गठनसमेत गरिएको छ । समितिले विधेयक फिर्ता लिन र सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न सरकारसँग माग गरेको छ ।

आफ्ना माग सम्बोधनका लागि पुवार खड्का गुठीले विरोध र्‍यालीसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ । त्यसका लागि लीला खड्काको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सनातन धर्म, संस्कृति र परम्परालाई जोगाउनु पर्ने, गुठी मास्न नहुने, गुठीयारको अधिकार हनन् गर्न नहुने जस्ता माग खड्का गुठीयारको छ ।

Advertisement

तपाईको प्रतिक्रिया