गौरव आयोजनाका सुस्त पुल

समाधान संवाददाता २०७६ असार ३ गते १२:२९

एसके थकाली
जोमसोम

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बेनी जोमसोम कोरला सडक अन्तर्गतका ५ पुलको निर्माणको गति निकै सुस्त छ । करिडोर सडकले दिएको जानकारी अनुसार निर्माण कम्पनीको सुस्तता, पुलको डिजाइन परिवर्तन, भौगोलिक विकटता, निर्माण सामाग्री ढुवानीमा असहजता जस्ता कारणले तोकिएको समयमा पूल नबन्ने जनाएको छ ।

जोमसोम कोरला खण्डमा २ र बेनी जोमसोम खण्डमा ३ पुलको सम्झौता अवधि सकिएको करिडोर सडकका इन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा पान्डा खोला र कागबेनीको कागबेनी खोला पुलको सम्झौता अवधि सकिएको छ । बेनी जोमसोम खण्ड अन्तर्गत मुस्ताङको स्याङ खोला पुल, घासा र काभ्रेभीरबीचको खहरे खोला पुल र म्याग्दी दानाको घट्टे खोला पुलको पनि सम्झौता सकिइसकेको छ ।

Advertisement

लुप्रा पान्डा खोला पुल
करिडोर सडक अन्तर्गतको लुप्रा पान्डा खोला पुलको सम्झौता कालिगण्डकी करिडोरले गरेको हो । बेनी जोमसोम सडक ११ मिटर बनाइए पनि यो पुलको लम्बाइ ५० मिटर र चौडाइ ६ मिटरमात्र छ । यो पुल मुस्ताङकै सबैभन्दा बढी ढिलासुस्ती भएको योजनामा पर्छ । २०६९ साल असार २६ गते सम्झौता भएको पुल बनाउने जिम्मा शंकरमाली लोकप्रिय जेभीले लिएको छ ।

पुलको लागत ३ करोड ९० लाख छ । करिडोरका इन्जिनियर यादवका अनुसार पुलको ९० प्रतिशत काम भइसकेको छ । अब इक्सपान्सन ज्वाइन, एप्रोज सडक, एप्रोज स्लाब र माटो फिलिङको काम बाँकी छ । पान्डा खोला पुल ढिलासुस्तीमा निर्माण कम्पनीको प्राविधिक समस्या र अन्य कारणले २ पटकसम्म म्याद थप भइसकेको छ । पुलको असार मसान्तसम्म सम्पन्न सकिने कम्पनीका प्रतिनिधि गणेश कार्कीले जानकारी दिए । पान्डा खोला पुल समयमा निर्माण नहुँदा उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने सवारीलाई समस्या परेको छ ।

Advertisement

स्याङ खोला पुल
करिडोरको स्याङ खोला पुलको पनि सम्झौता अवधि सकिएको ८ महिना भएको छ । करिडोर सडक अगावै डिभिजन सडक बागलुङले डिजाइन गरेकोमा करिडोर सडक आएपछि डिजाइन परिवर्तन भएको थियो । पुलको प्रि डिजाइन सर्वेमा करिब १ वर्ष खेर गएको निर्माण कम्पनीले जनाएको छ । मुक्तिनाथ श्रीगीता जेभीले जिम्मा लिएको पुलको लागत १० करोड ५० लाख छ । २०७२ सालमा चैतमा सम्झौता भएको पुलको अवधि म्याद थपिएर २०७५ साल भदौ २१ कायम गरिएको थियो । पुलको लम्बाइ १ सय १५ मिटर र चौडाई ११ मिटर छ । यो पुलको ७५ प्रतिशत काम भएको छ ।

कागबेनी खोला पुल
करिडोर सडकको छोटो कागबेनी खोलाको पुल पनि कहिले बन्ने हो पत्तो छैन । २५ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको गल्वा रफिना जेभीले जिम्मा लिएको छ । पुलको लागत २ करोड ८८ लाख छ । २०७३ असार २९ गते निर्माण सम्झौता भएको कागबेनी पुलको डेढ वर्ष बडी भइसक्दा पनि जम्मा ३० प्रतिशत काम भएको करिडोरले जनाएको छ । १ वर्षअघि पुल निर्माण गर्दै गर्दा खोलाको बाढीले ¥याफ्ट बगाएको थियो । यो उपल्लो मुस्ताङ जाने महत्वपूर्ण पुल हो ।

खहरे खोला पुल
सिरुवा कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको खहरे खोला पुलको सम्झौता अवधि सकिएको १० महिना भइसक्यो । २०७३ साल असार २९ गते सम्झौता भएको यस पुलको लागत ५ करोड ९३ लाख छ । लम्बाइ ४० मिटर र चौडाई ११ मिटरको यो पुलको अहिलेसम्म ६५ प्रतिशत मात्र काम भएको छ ।

घट्टे खोला पुल
म्याग्दीको घट्टे खोला पुलको काम ६५ प्रतिशतमात्र भएको छ । ४० मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत ५ करोड ७६ लाख छ । २०७३ साल असार २९ गते ठेक्का सम्झौता भएको यसको समयसीमा पनि १० महिना कटेको छ । करिडोरका इन्जिनियर यादवले करिडोर अन्तर्गतका बेनी–जोमसोम–कोरला सडकमा ३५ वटा पुल हुने जानकारी दिए । बेनी–जोमसोम सडक खण्डका ७ वटा निर्माणधीन पुलमध्ये ३ वटाको पटक पटक म्याद थपिएको छ ।

जोमसोम–कोरला सडक खण्ड अन्तर्गतका निर्माणधीन ५ पुलमध्ये २ वटामा ढिलासुस्ती भएको करिडोरले जनाएको छ । बाँकी पुल भने ठेक्का प्रक्रियामा छन् ।

तपाईको प्रतिक्रिया