तनहुँकाे शुक्लागण्डकीमा असिनाले सुन्तला सखाप

समाधान संवाददाता २०७६ असार ३ गते १३:१९

राजन उपाध्याय
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका ११ जरेबरकी डिलमाया घर्तीको मुख्य आम्दानीको स्रोत सुन्तला हो । वार्षिक करिब ५ लाख रुपैयाँको सुन्तला बिक्री गर्ने उनी अहिले निरास छिन् । जेठ ६ गते आएको असिनापानीले उनका सुन्तला विनास पार्दियो । सुन्तलामात्र झारेन, हागाँ र बोटसमेत सुकिसके ।

निरास मुद्रामा देखिएकी डिलमायालाई अब घर खर्च कसरी चलाउने चिन्ता छ । उनका करिव १ सय बोट सुन्तला छन् । ‘गत वर्ष ५ लाख २० हजारको सुन्तला बिक्री गरेकी थिएँ, उनले भनिन्, ‘असिना पानीले सखाप पारेको छ, बोटसम्म नमरे हुन्थ्यो ।’ आम्दानीको स्रोत नै नासिएपछि उनलाई गाउँ नै छोडेर जान मन लागेको छ । ‘सुन्तलाको बोट देख्दा त, श्रीमान्ले गाउँनै छाडेर जाऊँ भो भन्नुहुन्छ,’ डिलमायाले भनिन, ‘सुन्तला बेचेर चामल किनेर ल्यान्थ्यों, छोराछोरी पढाइन्थ्यो । अब केले गर्ने हो ? त्यही चिन्ताले होला ।’ असिनाले मकैबाली पनि सखाप पारेको छ ।

Advertisement

नाम्सीकोटाका कमल महतले २५ रोपनीमा लगाएका १ हजार २ सय बोट सुन्तलालाई पनि क्षति पुर्‍याएको छ । गत वर्ष सुन्तला बेचेर २८ लाख कमाएका उनी हावाहुरीसहितको भीषण असिनापानीले सुन्तला सखाप पारेपछि चिन्तित छन् । ‘वर्षभरिको घरखर्च सुन्तला बेचेर भएको आम्दानीबाट चलाउने गरिएको थियोे’, उनले भने, ‘अहिले सुन्तला विनास पार्‍यो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला पकेट क्षेत्र नाम्सीकोट क्षेत्रबाट किसानले गत वर्ष करिब ४ करोडको सुन्तला बिक्री गरेका थिए । जेठको पहिलो साता परेको असिनापानी र हावाहुरीले सुन्तलाको पकेट क्षेत्र नाम्सीकोट, पाल्पालीछाप, जरेबर, ज्यलाङलादी, अलैँचेका अधिकांश कृषकको सुन्तला खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

Advertisement

वडा सदस्य दानुमाया महतले आम्दानीको मुल स्रोत नै विनास भएपछि कृषक मारमा परेको बताइन् । उनीहरुलाई नगरले राहत प्रदान गर्नुपर्ने उल्लेख गरिन् ।

शुक्लागण्डकी नगरपालिकाका आर्थिक तथा योजना शाखाका प्रमुख नवराज पण्डितले नगरमा करिव ५ सय कृषकको सुन्तला र अन्यबालीमा क्षति भएको जानकारी दिए । ‘जिल्ला समन्वयले क्षतिको विवरण मागेको छ, सुन्तलासँगै सबै बालीको क्षति ७०–८० प्रतिशतसम्म भएको छ,’ उनले भने, ‘हामी विवरण पठाउने तयारीमा छौं ।’ समन्वयले कृषि ज्ञान केन्द्रलाई तथ्यांक उपलब्ध गराउनेछ ।

उनले बाली बिमा गरी क्षति न्यूनिकरण गर्नुपर्ने बताए । सरकारले बाली बिमा गर्दा प्रिमियममा ७५ प्रतिशत सहुलियत दिने गरेको छ । बिमा कम्पनीहरु जीवन र सवारीसाधन बिमामा आकर्षित भएका कारण बाली बिमातर्फ लागेका छैनन् ।

तपाईको प्रतिक्रिया