उपमेयर कप महिला फुटबलमा वालिङ अगाडि

समाधान संवाददाता २०७६ असार ३ गते १३:४५

सुशील सुवेदी
वालिङ

अन्तर नगरपालिकास्तरीय उपमेयर कप महिला फुटबल प्रतियोगितामा वालिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा वालिङले समूह ‘ए’ अन्तर्गत ३ खेल खेलेको थियो । २ खेलमा फराकिलो गोल अन्तरले विजयी वालिङले सोमबार खेलेको तेस्रो खेलमा बर्दियाको बाँसगढी नगरपालिकासँग गोलरहित बराबरीमा रोकिएपछि अंकको आधारमा समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।

सशस्त्र प्रहरीको हेडक्वाटर हलचोकमा शनिबार भएको समूह ‘ए’ को पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जाले शम्भुनाथ नगरपालिका सप्तरीलाई ११—० को फराकिलो गोल अन्तरले जितेको थियो । एन्फा स्याङजाका महासचिव भीम पंगेनीका अनुसार सरस्वती हमालले ४, शान्ताले ३, अस्मिता रनपाल, मनमाया दमै, लेखमाया मास्कीले १÷१ गोल गरेका थिए भने १ गोल आत्मघाती भएको थियो ।

Advertisement

यसैगरी आइतबार भएको दोस्रो खेलमा वालिङ नगरपालिका स्याङ्जा र घोराही तुलसीपुर नगरपालिकाबीचको खेलमा वालिङ नगरपालिकाले शून्यका विरुद्ध ५ गोल गरेको थियो । अस्मिता रनपाल प्लेयर अफ द म्याच घोषित भइन् ।

सोमबार भएको तेस्रो खेलमा वालिङ समूह आक्रामक रुपमा आफूलाई प्रस्तुत गरे पनि बाँसगढी नगरपालिकाले रक्षात्मक खेल प्रदर्शन ग¥यो । जसको नतिजा खेल बराबरीमा टुंगियो । यो खेलसँगै अंकको आधारमा सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको वालिङ नगरपालिकाले ३ खेलबाट ७ अंक जोडेको छ, भने समान खेल खेलेको बाँसगढी ५ अंकमै रोकियो । वालिङ नगरपालिकाले अब सेमिफाइनलमा आगामी १० गते अर्काे समूहको विजेतासँग प्रतिस्पर्धा गर्ने वालिङ नगर कार्यपालिका सदस्य एवं टिम व्यवस्थापक रेखा थापाले बताइन् ।

Advertisement

वालिङ नगरभित्र ट्रिनिटी क्लबले महिला फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । क्लबले महिलालाई निरन्तर फुटबल प्रशिक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउँदै आएको प्रशिक्षक दिलीप थापाले बताए । थापा भन्छन्, ‘खेलाडीलाई पूर्वाधार र राम्रो ग्राउन्डको व्यवस्था गर्न सके देशकै नाम राख्ने महिला खेलाडी उत्पादन गर्ने थियौँ । ’

हाम्रो साेँच परिवर्तन गर्न आवश्यक भएको बताउँदै थापाले भने, ‘अझै पनि खेल क्षेत्रबारे सोचाइमा परिवर्तन ल्याउन सकेका छैनौँ, खेल क्षेत्रमा व्यावसायिकता जोडिन आवश्यक छ ।’ एन्फा महिला फुटबल समितिले आयोजना गरेको प्रतियोगितामा नगरस्तरीय १८ टिम सहभागी छन् । देशभरिका कुल १८ नगरपालिका ४ समूहमा विभाजन गरिएको छ भने समूह विजेताले मात्रै सेमिफाइनलमा प्रवेश पाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया