इमबहादुरकाे बुढेसकालः पैसा स्वाहा, छोरो बेपत्ता, टहरामै बास

समाधान संवाददाता २०७६ असार ४ गते १२:३४

मोहसिन अलि मियाँ
गोरखा

सहिद लखन गाउँपालिका ८ छापथोकका इमबहादुर श्रेष्ठ भूकम्प गएदेखि नै अस्थायी टहरामा छन् । झण्डै ३५ वर्षअघि बनाएको घर २०७२ सालको भूकम्पले गल्र्यामगुर्लुम ढलेदेखि नै श्रेष्ठ दम्पत्ती काठको अस्थायी टहरोमा रात कटाइरहेका छन् । उसो त उनको भूकम्प पीडित लाभग्राही सूचीमा नाम नभएको पनि होइन । उनले पहिलो र दोस्रो किस्तासमेत लिइसकेका छन् । तर उनले बनाउँदै गरेको नयाँ घर २ वर्षअघिदेखि अलपत्र अवस्थामा छ । ‘भूकम्प पीडितले पाउने दोस्रो किस्ता पनि लिइसके’ उनले भने, ‘तर के गर्नु जीवनमा सबै कुरा आफूले सोचेको मात्रै कहाँ हुँदो रहेछ र, कहिलेकाहीँ नसोचेको कुरा पनि सहनुपर्ने ।’

उनका ३ भाइ छोरामध्ये जेठा र माइलाले पहिल्यै गाउँ छोडेर गएका, आमा बुवालाई खासै वास्तै नगर्ने । भएका कान्छा पनि भारतमा सपरिवार बस्दै थिए तर भूकम्प गएपछि कान्छा गोकर्ण घर फर्के । बुवा आमासंँगै बस्न थाले । भूकम्पले भत्काएको घर बनाउने सल्लाह पनि भयो परिवारमा । अनुदानबाहेकको रकम उसैले हाल्ने सहमति पनि बन्यो । तर बिडम्बना घर बनाउन सुरु गरेको केही समयमै छोरा फेरि बेपत्ता भए । ‘छोराकै सल्लाहमा घर सुरु गरेको, खर्च पनि आफैँ हाल्छु भनेको थियो’ श्रेष्ठले भने, ‘तर छोरा एकाएक घर छोडेर गयो, यो पटक उनी एक्लै गए, नातिनातिनी र बुहारी हामीसँगै छन् ।’

Advertisement

घरको डिपिसी भएर पिलर हालेपछि एकाएक सम्पर्कविहीन भएको पनि १५ महिना बित्यो तर उनी अहिलेसम्म पनि सम्पर्कमा नआएको श्रेष्ठ बताउँछन् । सामानसहित ७ लाखमा घर बनाउन गाउँकै ठेकेदारले जिम्मा लिएका थिए । ४ लाख पहिल्यै बुझेका ठेकेदारले पनि काम छाडे । छोरा घरबाट गएकै दिनदेखि घर निर्माणको काम पनि रोकियो । ‘७४ सालको चैतमा कान्छा छोरा घर छोडेर गएको, अर्की स्वास्नी लिएर इन्डिया पस्यो भन्ने पनि सुनेको छु’ उनले भने,‘बनिरहेको घरको काम पनि अलपत्र भयो, पिलर ठडिएर बसेको २ वर्ष बित्यो ।’

भूकम्प गएलगत्तै काठले बेरबार गरेर बसेको टहरो पनि दिनप्रतिदिन कमजोर बन्दैछ । घरमा कमाउने पनि कोही छैनन् । श्रेष्ठ दुखेसो गर्छन् ‘कटेरोमा बसेको ५० महिना भयो, पानी परेको दिन त जस्ता र तलबाट भलसँंगै छिर्छ, रातभरि सबै पोको परेर बिताउने हो ।’ एउटा सानो कटेरोमा ५ जनाले जीवन बिताउनु कम्ती चुनौती पनि होइन ।

Advertisement

त्यसो त उनी शारीरिक अशक्त पनि छन् । ‘खुट्टा पनि राम्रोसँग टकिँदैन, सुगर, दम पनि छ’ उनले भने, ‘यसो २÷४ वटा बाख्रा पालेको छु, बुढाबुढीको भत्ता यसो उसो गरेर खर्च चलेको छ ।’ तर उनले घर पुनर्निर्माणका लागि लिएको ऋण भने तिर्न सकेका छैनन् । भन्छन् ‘२ लाख आनुदान लिएँ, २ लाख ऋण छ, घर बन्न अझै ३ लाख लाग्छ भनेका छन्, कसरी कहाँबाट जुटाउने थाहा छैन’ श्रेष्ठले थपे, ‘न पैसा रह्यो, न घर बन्यो ।’

तपाईको प्रतिक्रिया