कुश्मा बजारमा खानेपानीकाे अभाव

समाधान संवाददाता २०७६ असार ४ गते १२:५७

रामकृष्ण लामिछाने
पर्वत

पर्वत सदरमुकाम कुश्मा बजारमा १५ दिनदेखि खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएका कारण स्थानीयले समस्या झेल्न बाध्य छन् । पानी अपारदर्शी ढंगबाट वितरण गर्दा स्थानीय सवै टोलमा अभाव देखिएको स्थानीयको आरोप छ ।

कुश्मा फिल्महल चोकमा जुत्ता पसल सञ्चालन गरेका कृष्ण थापाले माथि माथि पानी आउँने तलको भेगमा किन नआउने भन्दै गुनासो गरे । खानेपानी वितरणमा सिस्टम मिलाउनेले कृतिम अभाव सिर्जना गरिदिएको स्थानीयको गुनासो छ ।

Advertisement

पानीका स्रोत अभाव हुने समय भए पनि वितरण प्रणाली समानुपातिक हुने हो भने समस्या नरहने स्थानीयको धारणा छ । केही मुहान नजिक खेत रोपाइँ गरिरिँदासमेत खानेपानीको अभाव उपभोक्ताले झेल्दै आएका छन् । लुगाधुने, नुहाउने त परैको कुरा हो, पिउने पानीसमेत नहुँदा बजारमा बस्नेले सास्ती व्यहोर्नु परेको छ ।

‘अहिले शौचालय जान, हातमुख धुनसम्म समस्या भएको छ,’ स्थानीय यामनाथ शमाले भने, ‘गर्मीले बस्न गाह्रो, धुलो र धुँवाले सडक नै फोहोर बनाएको छ ।’

Advertisement

शिवालय चोकमा होटल सञ्चालन गरेको राजु तलाचनले होटलमा आउने गेस्ट आउन छोडेको गुनासो गर्दै भने, ‘आएकालाई पनि फर्काउन बाध्य छौं ।’ पानी दोबिला, सहस्रधारा पुगेर ल्याउनुपरेको गुनासो गर्दै मानिसको चापले थप समस्या पैदा भएको गुनासो गरे ।’

बजारमा पानीको अभाव भए पछि कुश्मावासी लुगाधुन, नुहाउन बजार भन्दा झन्डै आधा घण्टा टाढा जान बाध्य छन् । कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले मुहान सुक्दा समस्या आएको बताएका छन् । मुहानबाट आएको पानी संरक्षण अभावमा चुहावट र मुहान नजिकै खेत रोपाइँले समस्या थपिएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया