विरुवा संरक्षणका लागि ट्रि गार्ड

समाधान संवाददाता २०७६ असार ४ गते १३:५४

दुलेगौंडा
समाधान संवाददाता

शुक्लागण्डकी ५ बेलचौतारास्थित नमुना मोटरमार्गको सडक छेउछाउमा विरुवा संरक्षणका लागि ट्रि गार्ड राखिएको छ । विश्व वातावरण दिवस २०७६ को अवसरमा डिभिजन वन कार्यालय तनहुँ, तालडाँडा सामुदायिक वन उपभोक्ता समिति, नमुना मोटर मार्ग समिति र वडा नं. ५ को संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रमसँगै वृक्षरोपण गरिएको थियो ।

तालडाँडा सामुदायिक वन उपभोक्ता समिति र शुक्लागण्डकी नगरपालिकाको सहयोगमा सवै विरुवामा फलामको बारले सुरक्षित राखिने समितिका अध्यक्ष डिलबहादुर गिरीले जानकारी दिए । सडक छेउमा अशोका, म्याङ्गो स्टिक, कपुरगरी ३ सय ६५ विरुवा रोपिएको छ । सबै विरुवालाई फलामको बार राख्न ५ लाख ४७ हजार रुपैयाँ लाग्ने उनले उल्लेख गरे । यसमा नगरले १ लाख ५० हजार रुपैयाँ र बाँकी वनले व्यहोर्ने उनको भनाई छ ।

Advertisement

वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापाले विरुवा रोप्नुमात्र ठूलो कुरा नभएको बताउँदै यसको संरक्षण र हुर्काउनु महत्वपूर्ण हुने बताए । उनले नमुना मोटरमार्ग छेउमा खाली भएका सबै ठाउँमा वृक्षरोपण गरी हराभरा बनाउने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया