सम्भावनाको खेल हो जिन्दगी

समाधान संवाददाता २०७६ असार ४ गते १६:२८

बुद्धि मल्ल

भनिन्छ, क्रिकेट भनेको भलाद्मीहरुको खेल हो । यसलाई सम्भावनाको खेल पनि भनिन्छ । १९७१ बाट सुरु भएको अन्तर्राष्ट्रिय एकदिवसिय, १८७७ बाट सुरु भएको टेस्ट क्रिकेट र २००४ बाट सुरु भएको टि–ट्वान्टी क्रिकेटबाट हामीले धेरै कुरा सिक्न सक्छौ । यसबीचमा भएका खेल तथा खेलाडीले मानिसलाई धेरै शिक्षा दिएको छ ।

एकदिवसिय क्रिकेट सुरु भएको ३५ वर्षपछि अर्थात २००६ मार्च १२ मा अस्ट्रेलियाले दक्षिण अफ्रिका बिरुद्ध ४ विकेट गुमाएर ४ सय ३४ रन बनायो । ३५ वर्षसम्म एकदिवसिय क्रिकेटमा कुनै पनि टिमले ४ सय रन बनाउन सकेको थिएन । यसलाई लगभग असम्भव मानिन्थ्यो तर, त्यही खेलमा दक्षिण अफ्रिकाले ९ विकेट गुमाई ४ सय ३८ रन बनाएर खेल जित्यो । यसले क्रिकेट सम्भावनाको खेल हो भनेर प्रमाणित गरिदियो । उक्त खेलपछि हालसम्म ६ वटा देशले २० पटक ४ सयभन्दा माथि रन बनाइसकेको छ । क्रिकेट जस्तै मानिसको जिन्दगी पनि सम्भावनाको खेल हो । सम्भावना छ भन्ने विश्वास गर्ने मानिसले जिन्दगीमा एकपछि अर्काे चमत्कार गर्न सक्छ ।

Advertisement

अन्तर्राष्ट्रिय क्रिेकटको ३ वटा फरम्याट मध्ये सबभन्दा छोंटो समयमा सकिने खेल टि–ट्वान्टी क्रिकेटमा एउटा टिमले २० ओभर अर्थात १ सय २० बल मात्र खेल्ने मौका पाउँछ । यो खेलले मौकाको सही सदूपयोग गर्नुपर्छ भन्ने सिकाउँछ । ब्याट्सम्यानले मौका आउनासाथ चौका–छक्का हानेर रन बटुलिहाल्नुपर्छ किन कि, उसलाई कम बल उपलब्ध हुने कारणले एउटा बलमा रन लिन नसके अर्काे बलमा हानौंला भन्ने छुट कम हुन्छ । जसरी खेलमा प्रत्येक बलको एकदमै महत्व हुन्छ, त्यसरी नै हाम्रो जिन्दगीमा प्रत्येक मिनेटको उत्तिकै महत्व हुन्छ । ब्याट्सम्यानले मौकाको सही सदूपयोग गरेर चौका या छक्का हानेर आफ्नो टिमको स्कोरलाई उच्चतम बनाउने टि–ट्वान्टी खेलमा ब्याट्सम्यानको मुख्य ध्यान भएझै मानिसले पनि आफ्नो जीवनमा मौकाको सही सदूपयोग गरेर आफ्नो क्षेत्रमा उच्चतम फड्को मार्न प्रयासरत हुनुपर्छ । सारंशमा यो खेलबाट जीवनमा मौका आउनासाथ फड्को मार्ने प्रयास गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ ।

एकदिवसिय क्रिकेटमा भन्दा अलि लामो र टेस्ट म्याच भन्दा छोटो हुन्छ, जसमा एउटा टिमले ५० ओभर अर्थात ३ सय बल खेल्न पाउँछ । त्यसैले यो फरम्याटमा खेलाडी टि–ट्वान्टीमा भन्दा केही संयम र टेस्ट म्याचमा भन्दा केही आक्रमक हुन्छन् । यसमा खेलाडी मध्ययम गतिमा खेल्छन्, ब्याट्म्यानले बललाई केही पुर्नविचार गरेर मात्र सट हान्छन्, बलरले पनि ब्याट्सम्यानलाई आउट गर्नका लागि ठूला–ठूला सट प्रहार गर्न लोभ्याउने गर्छन् । जसले गर्र्दा केही बल खेर गएतापनि अर्काे बलबाट क्षतिपूर्ति गर्ने अवसर हुन्छ । मानिसले पनि व्यावसायिक तथा पेसागत जीवनमा सधैं ठूलो फड्को मार्न मात्र खोजेर हुँदैन । एकचोटी फड्को मारेपछि सन्तुलन राख्नका लागि परिस्थिति तथा बातावरणको पनि विष्लेशण गनुपर्छ ।

Advertisement

धेरैजसो ब्याट्म्यान लगातार ठूला सट हान्ने क्रममा आउट हुन्छन् भने बलर पनि एकैप्रकारका बल फाल्नाले धेरै रन दिइरहेका हुन्छन् । समग्रमा एकदिवसिय क्रिकेटबाट हामीले संयमित हुन, जीवनमा एकनासले अघि नबढी फरक प्रयोग गर्न, आवश्यक पर्दा ठूलो फड्को मार्न तयार हुन र परिस्थिति तथा अवसरको पहिचान गरेर अगाडि बढ्न शिक्षा लिन सक्छौं ।

५ दिनसम्म खेलिने टेस्ट म्याच अन्तर्राष्ट्रिय क्रिकेटको सबभन्दा लामो समयसम्म खेलिने खेल हो । यस खेलमा ब्याट्सम्यानले आउट नहुँदासम्म खेल्न सक्छ भने बलरले पनि जतिसुकै ओभरमा पनि बलिङ गर्न छुट हुन्छ । यो खेल धैर्यताको प्रतीक हो । जसमा ब्याट्सम्यानले बिपक्षी टिमको उत्कृष्ट बलरलाई जतिसुकै ओभरका लागि पनि झेल्नुपर्ने हुन्छ । टि–ट्वान्टीमा एउटा बलरलाई ४ ओभर र एकदिवसियमा १० ओभरसम्म मात्र बलिङ गर्न पाउने हुन्छ तर टेस्ट म्याचमा एउटै उत्कृष्ट बलरले पटकपटक आक्रमक बलिङ गरिरहँदा ब्याट्सम्यानले प्रतिरक्षा गर्दै आफ्नो विकेट बचाउने अनि अनुकूल हुँदा रन बटुल्ने प्रयास गरिरहनुपर्छ । यो फरम्याटमा धेरै रन बनाउनुभन्दा क्रिजमा टिकिरहनु महत्वपूर्ण हुन्छ । यसमा बिपक्षी टिमले बनाएको रन जति आफ्नो टिमले रन बनाउन नसकेतापनि ब्याट्सम्यान धैर्यताका साथ क्रिजमा टिकिरही विकेट नगुमाएमा खेल हार्दैन ।

टेस्ट क्रिकेटमा जस्तै नै मानिसले जीवनमा तत्कालै फड्को मार्न नसकेता पनि धर्यताका साथ आफ्नो जिम्मेवारीमा खटिरहे उ हार्दैन । लगातार ५ बलमा रन बनाउन नसके पनि ओभरको अन्तिम बलमा चौका हान्यो भने उ सफल मानिन्छ । त्यसरी नै मानिसले लगातार असफलता भोगिरहे पनि धैर्य गरी अनवरत मेहनत गरिरहेमा एकपटक अवश्य सफल हुन्छ । टेस्ट म्याचबाट मानिसले धर्य हुन, परिस्थितिको सही मूल्यांकन गरेर मात्र निर्णय लिन, चुनौतीको डटेर सामना गर्न सिक्नुपर्छ ।

१९९३ मा अस्ट्रेलियाका स्पिनर सेन वार्नले इंग्ल्यान्डमा ब्याट्सम्यान माईक ग्याटिङ बिरुद्ध फ्याकेको बललाई ‘बल अफ दी सेन्चुरी’ घोषित गरियो । सेन वार्नको बलिङ यति जादुमय थियो कि ब्याट्सम्यानले बलले स्टम्पमा लागेर आफू आउट भएको समेत पत्तो नै पाएनन् । माइक ग्याटिङले बायाँतर्फबाट आएको बल टर्न भएर दायाँतर्फको स्टम्प उडाइदेला भनेर सायद सोचेका पनि थिएनन् होला । वास्तवमा अधिकांश मानिस आफू कुन कारणले असफल हुन्छु भन्ने पत्तौ नै पाउदैनन् र उनीहरु असफल भइसकेपछि मात्रै पश्चाताप गर्छन् । बलको दिशालाई नबुझे जस्तै मानिस पनि परिस्थितिलाई राम्रोसँग नबुझ्दा असफल हुन्छन् ।

अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा बिराट कोहली, क्रिस गेल, जोय रुट, ट्रेन्ट बोल्ट, रशिद खान जस्ता खेलाडी ३ वटै फरम्याटका लागि उत्कृष्ट छन् । उनीहरु सबै खालका क्रिकेटमा आवश्यकता अनुसार खेल्न सक्ने भएकोले अहिले सबै खेलमा आफ्नो दमदार प्रदर्शन गरिरहेका छन् । यी खेलाडीबाट परिस्थितिलाई बुझ्ने र सोहीअनुसार आफूलाई ढाल्ने कला सिक्नुपर्छ । यसको सबैभन्दा गतिलो उदाहरण बिराट कोहलीले २००६ कर्नाटक बिरुद्ध दिल्ली रणजी ट्रफी क्रिकेटमा देखाएका थिए ।

कर्नाटकले बनाएको ४ सय ४६ को विशाल योगफलको प्रत्युत्तरमा आफ्नो टिम दिल्लीले सस्तैमा ५ विकेट गुमाएपछि १८ वर्षीय कोहली ब्याटिङमा उत्रिएका थिए । पहिलो दिनको खेल समाप्त हुँदा अविजिन ४० रन बनाई दिल्लीको स्कोर १ सय ३ मा पुर्‍याएका थिए । तर, खेल समाप्त हुनासाथ उसले उसको पिताको निधन भएको दुखद खबर पाउँदा पनि उसले टिममा आफ्नो आवश्यकता महसुस गरेर दोस्रो दिन ब्याटिङमा उत्रिए । उक्त खेलमा ९० रन बनाई टिमलाई हारबाट जोगाएर पिताको दाहसंस्कारका लागि गए । परिस्थिति अनुसार निर्णय गर्न सकेको कारणले कोहलीलाई आज क्रिकेटको भगवान मानिने सचिन तन्दुल्कारसँग तुलना गरिन्छ ।

क्रिकेटका ३ वटा फरम्याटका खेल रहेजस्तै मानिसले जीवनमा लिने नीति पनि ३ भागमा विभाजन गर्न सकिन्छ । १. टि–ट्वान्टी जस्तो आक्रमक, २. एकदिवसिय जस्तो आक्रमक र संयमितको मिश्रण र ३. टेस्ट जस्तो संयमित अर्थात धर्यवान ।

कुनै एउटा मात्र फरम्याटमा राम्रो खेल्ने खेलाडीको खेल हेरेर मानिसले मनोरञ्जन लिन्छन् र उनीहरुलाई सम्झन पनि सक्छन् तर, महान खेलाडीले आवश्यकता अनुसार सबै फरम्याटमा उत्तिकै सशक्त प्रर्दशन दिएका छन् । जसरी महान खेलाडीले ३ वटै फरम्याटमा खेल्न सक्ने गुण बनाएका छन्, त्यसरी नै मानिसले जीवनमा क्रिकेटको ३ नै फरम्याटका नीतिलाई आवश्यकता अनुुसार लागु गर्न सकेमा सफलता पाउनेमा कुनै शंका रहँदैन । क्रिकेट जस्तै मानिसको जीवन पनि सम्भावना नै सम्भावनाले भरिएको हुन्छ । टि–ट्वान्टी, एकदिवसीय र टेस्ट खेलको समिश्रण भए जीवनमा सफल हुन्छ ।

मल्ल ओम डेभलपमेन्ट बैंक कार्यकारी अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया