एउटै मितिमा दुवै मोहोडाबाट सगरमाथा आरोहण !

समाधान संवाददाता २०७६ असार ५ गते १२:५४

समाधान संवाददाता
पोखरा

पत्रकार कल्पना महर्जनले उत्तरी र दक्षिणी मोहोडाबाट सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) केन्द्रीय कोषाध्यक्षसमेत रहेकी कल्पनाले १ वर्षको फरकमा एउटै महिनाको एउटै गते सगरमाथाको आरोहण गरेकी हुन् ।

महर्जनले नेपाल र तिब्बत दुबै पट्टिबाट एउटै महिना र गते सगरमाथा आरोहण गर्ने पहिलो पत्रकार महिलाको दाबी गर्दै विश्व कीर्तिमानका लागि आवेदनसमेत दिइसकेको जानकारी दिइन् । ‘दुवैमा विश्व किर्तिमानका लागि पहिलो चरणको निवेदन दिएकी छु,’ उनले भनिन्, ‘माग दाबीलाई प्रमाणित गर्न अभिलेख संकलनको कामलाई अगाडि बढाएकी छु ।’

Advertisement

आरोहण अभियानको व्यवस्थापकीय पक्षको जिम्मा लिएको कम्पनी एक्स्पिरेन्स आउटडोर्स नेपालका प्रबन्ध निर्देशक रवीन्द्र महर्जनका अनुसार कल्पनाले २०७६ साल जेठ ९ गते उत्तरी मोहोडा (चीन)तर्फबाट सगरमाथाको आरोहण गरेकी हुन् । आरोही कल्पनाले २०७५ साल जेठ ९ गते दक्षिणी मोहोडा (नेपाल)बाट सगरमाथाआरोहण गरिसकेकी थिइन् ।

शान्ति शिक्षा अभियान नेपालको शिक्षाको माध्यमबाट बालविवाह रोकथाम भन्ने नाराका साथ तिब्बतबाट सगरमाथा आरोहण गरेको जानकारी दिँदै महर्जनले त्यही उद्देश्य प्राप्तिका लागि काम गर्ने लक्ष्य सुनाइन् । अभियानले काठमाडौं, ललितपुर, काभ्रे र दोलखाका १ सय २५ सामुदायिक विद्यालयमा काम गरिरहेको उनले बताइन् । उनले ललितपुरमा रहेको भानुदय माध्यमिक विद्यालयबाट अभियान थालेकी थिइन् ।

Advertisement

सगरमाथा आरोहणका विविध पक्षलाई समेटेर किताब लेख्ने योजना रहेको महर्जनले सुनाइन् । मेघा टेलिभिजनमा कार्यरत कल्पनाले पत्रकारितालाई समेत निरन्तरता दिने उल्लेख गरिन् । ललितपुर महानगरपालिकाको नाम, लोगो र वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको तस्बिर अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराएकी कल्पनाले ललितपुरको पर्यटन प्रर्वद्धनको लागि काम गर्ने जानकारी दिइन् । ‘समानताका लागि वुलन्द आवाज’ भन्ने नाराका साथ कल्पनाको पहिलो पटकको सगरमाथा आरोहणमा पत्रकारहरु रोजिता बुद्धाचार्य, देउराली चाम्लिङ र रोशा बस्नेत सामेल थिए ।

तपाईको प्रतिक्रिया