बजेटले धुम मच्चाउँछः अर्थमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ असार ६ गते ११:२४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले प्रदेश बजेटले धुम मच्चाउने बताएका छन् । उनले बजेटको सानो रकम लक्षित वर्गलाई जाओस् भनेरै धेरै ठाउँमा पुग्ने बनाइएको बताए ।

बजेटमाथिको छलफलपछि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रदेश सभामा बिहीबार मन्त्री गुरुङले बजेटले धुम मच्चाउने बताएका हुन् । ‘माननीयज्यूहरुले बजेट कुमकुमको मेलामा गुम भन्नुभयो, तर गुम हुने होइन बजेटले धुम मच्चाउँछ,’ मन्त्री गुरुङले भने । उनले बजेट नयाँ सोचका साथ आएको बताए ।

Advertisement

मन्त्री गुरुङले आन्तरिक राजस्व संकलन गर्ने कुराम बजेटमा महत्वका साथ आएको सुनाए । उनले आउँदो ५ वर्षभित्र आन्तरिक राजस्वबाटै चालु खर्च धान्ने दिशामा अघि बढेको दाबी गरे । चालु आर्थिक वर्षमा नै साढे २ अर्ब आन्तरिक राजस्व संकलन हुने उनको भनाइ थियो । आगामी आर्थिक वर्षमा भने ५ अर्ब आन्तरिक राजस्व संकलनको लक्ष्य बजेटले राखेको छ ।

‘म यो देशमा जन्मेको हुँ भनेर मात्रै गर्व गर्ने होइन, अब म यो देशलाई कर तिर्छु भन्ने नागरिक हुनुपर्छ,’ उनले भने, ‘कर तिर्नुपर्छ भन्ने भावना जगाउने गरी हामीले बजेट ल्याएका छौं ।’ पर्यटन शुल्क व्यवस्थित ढंगले उठाइने अर्थमन्त्रीले सुनाए । ‘ढुंगागिटी बालुवाको कर छली रोक्ने र दायराभित्र ल्याउनेलाई महत्वका साथ राखेका छौं,’ उनले भने ।

Advertisement

कन्तुरमा साँचेर पैसा राख्नेभन्दा पनि उद्यम गर्छु भन्नेहरुलाई बजेटले प्रेरणा दिएको अर्थमन्त्रीको भनाइ थियो । ‘साँच्ने होइन खर्च गर्ने हो, खर्च गर्नाेस् भनेर आएको बजेट हो,’ उनले भने । सरकारले कर्मचारीलाई भ्रमण विदा दिएर पर्यटन प्रवद्र्धन र खर्च गर्ने योजना ल्याएको पन उनले सुनाए । उनले ऋण लिन्छु र ब्याज तिर्छ भन्ने उद्यमीहरुलाई प्रेरित गर्ने बजेटले उत्पादन वृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री गुरुङले होमस्ट, कृषि मोडल फर्म र सहकारीहरुबाट १० हजार स्वरोजगारी सिर्जना गत आर्थिक वर्षमा भएको बताए । उनले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने रोजगारीको हिसाबै नगरिएको पनि सुनाए ।

सरकारले उज्यालो प्रदेश, साक्षर प्रदेश बनाउने प्रतिबद्धतामा दृढताका साथ लागेको मन्त्री गुरुङको भनाइ थियो । उनले १ घर १ खानेपानी धाराको योजना पनि पूरा गरेरै छाड्ने बताए । प्रदेशलाई सडक बालबालिका र बालश्रममुक्त बनाइने पनि मन्त्रीले सुनाए । बजेटले महिला, दलित, सीमान्तकृतहरुलाई समेटेको उनको भनाइ थियो ।

१ असारमा मन्त्री गुरुङले ३२ अर्ब १३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । त्यसमाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले धारणाहरु राखेका थिए । त्यसको जवाफ मन्त्री गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा दिएका हुन् । मन्त्री गुरुङले बिहीबार सभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् । प्रदेश सभा बैठक शुक्रबार अपराह्न १ बजे बस्दैछ ।

तपाईको प्रतिक्रिया