फेदीखोलामा व्यावसायिक कागती खेती

समाधान संवाददाता २०७६ असार ६ गते ११:४९

समाधान संवाददाता
स्याङ्जा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नम्बर २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समूहले उक्त गाउँमा १ हजार २ सय टन बढी कागती उत्पादन गर्ने लक्ष्य राखेको छ । कागतीको माग बढ्दै गएको हुँदा आफूले व्यावसायिक कागती खेती थालेको युवा समूह अध्यक्ष पार्वती अधिकारीले जानकारी दिइन् ।

२ वर्षभित्र यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगले झन् हौसला प्रदान गरेको सुनाइन् । समूहका अनुसार गाउँपालिका भित्रमात्र दैनिक १० केजी बढी कागतीको माग छ ।

Advertisement

कार्यक्रम उद्घाटनपछि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दासले अन्य स्थानीय तहभन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधि उल्लेखनीय भएको दाबी गरिन् ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका किसान व्यावसायिक बनेकोमा खुसी व्यक्त गर्दै किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘मिहिनेत गर्नुस्, उत्पादन बढाउनुहोस्, उत्पादनको बजारीकरण गर्न मालवाहक ट्रकको व्यवस्था नै गर्नुपरोस् ।’

Advertisement

गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना वितरण गरिसकेको छ । कृषिलाई गाउँपालिकामा सबल बनाउने उद्देश्यअनुसार गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गतको आरुखर्क गल्यामलाई नमुना असारे आलु खेती क्षेत्रका र खहरे तथा भाटखोलालाई नमुना कफीगाउँको रुपमा विकास गर्ने अभियानमा थालेको छ । भाटखोलालाई माछापालन र फेदीखोला–२ तल्लो कुडुलेलाई बेमौसमी तरकारी खेती पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया