विकट गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर

समाधान संवाददाता २०७६ असार ६ गते १२:१४

कृष्ण न्यौपाने
दमौली

तनहुँको विकट रिसिङ गाउँपालिका २ ग्वास्लुङमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले व्यास ५ चापाघाटस्थित कृष्णदल गणको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।

रिसिङ गाउँपालिकाको माग बमोजिम ग्वास्लुङका जनतालाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको गणपति प्रमुख सेनानी अनन्तबहादुर सिंहले जानकारी दिए । शिविरमा २ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रमुख सेनानी सिंहका अनुसार १ सय ६६ महिला, ५६ पुरुष, २० ज्येष्ठ नागरिक र ४२ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ग्वास्लुङ, कोइदिम, काहुँशिवपुरक्षेत्रबाट स्वास्थ्य परीक्षणका लागि आएका थिए ।

Advertisement

नेपाली सेनाका सहसेनानी डा. निर्मल श्रेष्ठ र दमौली अस्पतालका मेडिकल अधिकृत डा. सुनील पाण्डेले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बिरामीलाई निशुल्क औषधीसमेत वितरण गरिएको थियो । शिविरमा रक्तचाप, आँखा, कान, घाँटीको समस्या परीक्षण गरिनुका साथै टाउको दुखेको र ज्वरोका बिरामीको परीक्षण गरिएको थियो ।

गाउँमै आएर नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरेपछि स्थानीयवासी खुसी भएका छन् । सोही ठाउँका ५० वर्षीया मीनकुमारी चन्दले गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा आफूहरुलाई सहज भएको बताइन् । सोही ठाउँका ७३ वर्षीया मतिमाया विकले गाउँमै शिविर गरिदिएर नेपाली सेनाले गुन लगाएको बताइन् । उनले भनिन्, ‘सदरमुकामसम्म जानुपर्दा दुख हुन्थ्यो, गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा सहज भयो ।’

Advertisement

तपाईको प्रतिक्रिया