धाैलागिरी अञ्चल अस्पतालकाे भवन १० वर्षमा सम्पन्न

समाधान संवाददाता २०७६ असार ६ गते १२:३३

ताराप्रसाद शर्मा
बागलुङ

धौलागिरि अञ्चल अस्पतालको २ वर्षमा सक्ने गरी सम्झौता भएको भवन १० वर्षपछि मात्र सम्पन्न भएको छ । तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको हो ।

अञ्चल अस्पतालको ‘ए’ ब्लक २०६९ सालमै निर्माण भएको थियो । २०६६ वैशाख १ गते २ वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशीष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हालै सम्पन्न भएका हुन् ।

Advertisement

भवन ‘बी’ ब्लकको भवन ६ करोड ६० लाख ३९ हजार २ सय १४ लागतमा निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले ६ करोड ५१ लाख १६ हजार २ सय ८८ रकम लिएर पटक पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो ।

ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यान्वयन इकाइका लेखा अधिकृत महेश सिग्देलले बताए । उनका अनुसार अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नाघेको जरिवानासमेत कार्यालयले असुरउपर गर्नेछ ।

Advertisement

भवनमा ३ तला र ४० कोठा छन् । भवन अभावका कारण बिरामीलाई सहज सेवा प्रदान गर्न नसकिएका कारण भवन औपचारिक हस्तान्तरण नहुँदै नयाँ भवनबाट सेवा दिन सुरु गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानामगरले बताए ।

नयाँ भवनबाट फार्मेसी, प्रयोगशाला, निशुल्क औषधी वितरण, टिकट काउन्टर, हाडजोर्नी तथा नसा रोग, नाक, कान र घाँटी, शल्यक्रिया, सामान्य उपचार सेवा, भिडियो एक्सरे, दन्तसेवा, बालरोग, स्त्री तथा प्रसूतिलगायत सेवा प्रदान गरिने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

निर्माण व्यवसायीले समयमै भवन निर्माण गर्न नसकेकाले २०७५ असार मसान्तसम्म म्याद थप गरिएको कास्कीस्थित आयोजना कार्यान्वयन इकाइका प्रमुख नारायण भण्डारीले बताए । प्रमुख भण्डारीका अनुसार अस्पतालको निर्माणाधीन ‘सी’ ब्लकको भवनसमेत अहिले अलपत्रजस्तै बनेको छ । निर्माणाधीन ‘सी’ ब्लकसमेत सम्झौताअनुसार काम नगरेका कारण ठेक्का प्रक्रिया तोड्ने प्रक्रिया अघि बढाइएको छ ।

अस्पताल भवनको नमुना बनाउँदा तल्लो भाग जग (फाउन्डेसन) नमिलेको र समयमा नै विद्युतको हाइटेन्सन लाइन नसारिँदा निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि शीतल ढकालले बताए ।

तपाईको प्रतिक्रिया