अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भोटे कुकुरको संरक्षण गर्ने गाउँपालिकाको नीति

समाधान संवाददाता २०७६ असार ६ गते १२:५१

विकास रोकामगर
पोखरा

भोटे प्रजातिको कुकुरको ठूलो टाउको र शरीर हुन्छ । अन्य कुकुरभन्दा यसलाई रिसाहा र शक्तिशाली कुकुरका रुपमा लिइन्छ । नेपाल, चीनको तिब्बत, भुटान लगायत हिमाली क्षेत्रमा पाइने भोटे (टिबेटिएन म्यास्टिफ) जातको कुकुरलाई पुरानो प्रजातिको कुकुरका रुपमा पनि लिइन्छ ।

युरोप र अमेरिकामा अत्याधिक माग भएको भोटे कुकुर भने पछिल्लो समय नेपालमा घटिरहेका छन् । नेपालमा विदेशी कुकुर पाल्ने चलन बढेसँगै भोटे कुकुर लोप हुँदै गएको सरोकारवाला बताउँछन् । लोप हुँदै गएको भोटे प्रजातिका कुकुर संरक्षण गर्न कास्कीको अन्नपूर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम नै ल्याएको छ ।

Advertisement

गाउँपालिकाले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भोटे कुकुर संरक्षण गर्ने घोषणा गरेको हो । ‘भोटे कुकुरको जस्तो स्वर र शक्तिशाली अरु कुकुरको हुँदैन । अहिले ती कुकुर हराउँदै जान थालेका छन्,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भोटे कुकुरको लागत संरक्षण गर्ने गाउँपालिकाको नीति नै ल्याएका छौं ।’

अध्यक्ष कुँवरले गाउँपालिकाभित्र कति कुकुर छन् भन्नेबारे हाल गणना अघि बढाइएको जानकारी दिए । उनले भने, ‘आव ०७६÷७७ का लागि भोटे कुकुर संरक्षण गर्ने नीति तथा कार्यक्रम लिएका छौं । ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौं ।’ उनले भोटे कुकुरको संरक्षणले गाउँपालिकाको समेत थप प्रचारप्रचार हुने र आम्दानी हुने बताए ।

Advertisement

गाउँपालिकाले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अन्नपूर्ण आधारशिविरमा पर्यटकको बसाइ व्यवस्थित बनाउन २ हजार मिटरभन्दा बढी उचाइमा रहेका होटलका कोठा संख्या पनि बढाउने भएको छ । गण्डकी प्रदेश सरकारले सन् ०१९ लाई आन्तरिक पर्यटक वर्ष र सन् ०२० लाई छिमेकी आकर्षण पर्यटन वर्षका रुपमा मनाउने तयारीमा छ । प्रदेश सरकारको अभियानलाई सघाउन नै गाउँपालिकाका होटल कोठा संख्या बढाउन लागिएको अधयक्ष कुँवरले बताए ।

‘हाम्रो गाउँपालिकाको मुख्य आकर्षण नै हिमालहरु हुन् । हिमशृंखला हेर्न वर्षेनी लाखौं पर्यटक यहाँ आउँछन्,’ कुँवरले भने, ‘उनीहरुको बसाइलाई व्यवस्थित गर्न सार्वजनिक जग्गामा रहेका लज तथा रेस्टुरेन्टमा निश्चित कोठा थप्ने भनेका छौं ।’ अन्नपूर्ण गाउँपालिकामा २ हजार मिटर उचाइभन्दा माथि करिब १ सय ५० होटल छन् । ती होटलमा बढीमा ६ वटामात्रै कोठा छन् ।

गत वर्ष अन्नपूर्ण आधारशिविरमा ३२ हजार विदेशी अन्पूर्ण बेस क्याम्प पुगेको पर्यटन व्यवसायी ललित गुरुङले जानकारी दिए । आधारशिविरमा हाल ४ वटा बास बस्न मिल्ने होटल भएकाले पर्यटकलाई समेत समस्या पर्दै आएको उनको बुझाइ छ ।

‘एउटा विदेशी पर्यटकसँग एउटा गाइड त हुन्छ नै । नेपालीहरु धेरै समूहमा जान्छन् । जम्मा २४ वटा कोठा छन् । त्यसरी त उनीहरुको बसाइँमा समस्या पर्ने नै भयो,’ गुरुङले भने, ‘अहिले त झन् अस्ति परेको हिउँले ती सबै होटलहरु पूर्ण रुपमा भत्काइदियो ।’ उनले भत्किएका होटलका हाल जीर्णोद्धार भइरहेको र बर्खाभरिमा सक्ने जानकारी दिए ।

गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि विदेशी पर्यटकको गणना थाल्ने भएको छ । ‘अन्नपूर्ण ७ र ८ मा विदेशी पर्यटक गन्ने काम सुरु गर्नेछौं,’ कुँवरले भने, ‘उनीहरुबाट प्रति पर्यटक सय रुपैयाँ संकलन पनि गर्ने नीति लिएका छौं ।’ उनले पर्यटकबाट उठाइएको रकम पर्यटन सूचना केन्द्रमा प्रयोग गरिने प्रष्ट्याए । गाउँपालिकाले घान्द्रुक देउरालीबाट आउँदो आर्थिक वर्षदेखि प्याराग्लाइडिङ उडान अनुमतिसमेत दिने भएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई प्रवबद्र्धन गर्ने नीति लिएको छ । कोदो उत्पादन बढाउन गाउँपालिकाले नै अनुदान दिने र त्यसलाई गाउँपालिकाका होटल तथा रेस्टुरेन्टमा अनिवार्य मेनुमा राख्न लगाइने गाउँपालिका अध्यक्ष युवराज कुँवरले जनाए । ‘कोदो उत्पाददन बढाउने र त्यसबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउन कोदो महोत्सवको आयोजना पनि गर्नेछौं,’ उनले भने । गाउँपालिकाले परम्परागत खाद्य पदार्थ सिन्की र गुन्द्रुकलाई विदेशमा निर्यात गर्न आवश्यक वातावरण तयार पार्नेसमेत योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया