ओरालो लाग्दै वैदेशिक रोजगारी

समाधान संवाददाता २०७६ असार ६ गते १३:०३

अशोक घिमिरे
काठमाडौं

सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमश ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला ४ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटेको सरकारी आँकडा छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठमा ४० हजार ९ सय १ पुरुष र दुई हजार ७ सय ३५ महिला गरी ४३ हजार ६ सय ५४ युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् । वैशाखमा भने ४५ हजार ८ सय ७८ पुरुष र २ हजार ८ सय ७८ महिला गरी ४८ हजार ७ सय ५६ युवा बाहिरिएका थिए । त्यसैगरी चैतमा ४२ हजार १ सय ८६ पुरुष र २ हजार ७ सय १९ महिला गरी ४४ हजार ९ सय ५ तथा फागुनमा ४१ हजार ९ सय ५ पुरुष र २ हजार ७ सय ८३ महिला गरी ४४ हजार ६ सय ८८ युवा रोजगारीका लागि विदेश गएका थिए ।

Advertisement

जेठमा १७ हजार ४३१ पुरुष र एक हजार ५ सय २१ महिला गरी १८ हजार ९ सय ५२ युवा संस्थागत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३ सय ८३ पुरुष र ८ सय ५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्यांकमा उल्लेख छ । त्यसैगरी ६ सय १५ पुरुष र २ सय ५४ महिला गरी ८ सय ६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको संख्या पनि उल्लेखनीय देखिएको छ । गत महिना एक हजार ४ सय ७२ पुरुष र १ सय २३ महिला गरी एक हजार ५९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् । गत वर्ष सोही अवधिमा ४६ हजार ७ सय १७ पुरुष र दुई हजार ५ सय ८२ महिला गरी ४९ हजार २ सय ९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

Advertisement

चालु आर्थिक वर्षमा सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ र युवा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न प्रकारका सहुलियत कर्जा कार्यक्रम ल्याएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उनीहरूले सिकेका सीपका आधारमा स्वरोजगार बन्नका लागि सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न शुरु गरिसकेको छ । सरकारले ल्याएको युवा लक्षित कार्यक्रमको प्रभावका कारण नै वैदेशिक रोजगारीमा जाने क्रम घटेको सरकारी अधिकारीको जिकिर छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र सीपयुक्त बनाएर पठाउने नीति लिइएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको संख्या भने निकै ठूलो रहेको पाइएको छ । विभागका अनुसार जेठमा २३ हजार ३ सय ३६ पुरुष र एक हजार ६ सय ६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएको विभागले जनाएको छ । सोही अवधिमा १३ हजार ८ सय ५ पुरुष र ७ सय ९८ महिला गरी १४ हजार ६ सय ३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६ सय ७८ पुरुष र २ सय ८५ महिलासहित तीन हजार ९सय ६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त छ पुरुष श्रम स्वीकृति लिई विदेश गएका छन् ।

पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । विभागले यही असार १५ गतेदेखि १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने सरकारको तयारी छ ।

गत जेठमा व्यक्तिगत ठगीका ६४ उजुरी विभागमा दर्ता भएका छन् । वैशाखसम्म विभागमा व्यक्तिगत ठगीका ६ सय ५७ उजुरी परेका थिए । व्यक्तिगत ठगीतर्फ रु सात करोड ६१ लाख १३ हजार ७ सय ५० जिकिर गरिएको छ । जेठमा व्यक्तिगत ठगीका ३३ उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए त्यसैगरी विभागमा गत महिनामा संस्थागत १ सय उजुरी परेका छन् । संस्थागत उजुरीबापत रु दुई करोड १९ लाख ४१ हजार ८५ दावी गरिएको छ ।

विप्रेषण २० प्रतिशत वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दश महिनामा विप्रेषण (रेमिट्यान्स) करीब २० प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालू आवको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

बैंकका अनुसार १० महिनामा ७ खर्ब २५ अर्ब ३० करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९ दशमलव ४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव एक प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या छ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई दशमलव दुई प्रतिशतले घटेको थियो ।

तपाईको प्रतिक्रिया