भोली देखि कोरलामा व्यापार मेला हुँदै

समाधान संवाददाता २०७६ असार ६ गते १३:४९

अन्तरदेशीय ब्यापार मेला स्थल कोरलानाकाको चिनीया भूमीमा उपल्लो मुस्ताङका यूवाहरु । तस्विर साैजन्य मुस्ताङ लोहा

समाधान संम्वाददाता
मुस्ताङ

भोली शनिवार देखि उत्तरी कोरलानाकाको चिनीया तिब्बती स्वसाशितक्षेत्रमा नेपाल–चिन २ साताका लागि अन्तरदेशीय व्यापार मेला सुरु हुँदैछ ।बर्सेनि २ पटक सञ्चालन हुने उक्त व्यापार मेला यसपटक पनि हुन लागेको हो ।

Advertisement

सीमावर्ती क्षेत्रका बासिन्दाबीच एकअर्काको अतिआवश्यकीय सामाग्री किनमेलका लागि बर्सेनी व्यापार मेला आयोजना हुदै आएको ईलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख मुरारी निरौलाले जानकारी दिए । व्यापार मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाका स्थानीयहरु किनमेल तथा व्यापार गर्न कोरला जाने गरेको निरौलाले बताए । शनिबार देखि सुरु हुने ब्यापार मेलाका लागि यसपटक चिनिया पक्ष अनिवार्य प्रबेशकार्ड अनिवार्य गराएको छ । कोरलानाकामा हुने ब्यापार मेलामा जान सरोकारवालालाई ईलाका प्रशासन कार्यालय लोमान्थाङले धमाधम बोर्डर प्रबेश कार्ड बितरण गरेको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।

कोरलानाकामा चिनिया पक्षले बर्सेनी असार र भदौ महिनामा ब्यापार मेला संञ्चालन गर्ने गरेको पाईएको छ । चिनिया पक्षले आयोजन गर्ने व्यापार मेलाका लागि जिल्ला र ईलाका प्रशासन कार्यालयलाई जानकारी गराउने गरेको कार्यालय प्रमुख निरौलाले बताए ।अन्तरदेशिय व्यापार मेलाका लागि ईलाका प्रशासन कार्यालयले यसपटक ८ सय जनालाई बोर्डर पास उपलब्ध गराईसकेको र यो संख्या बढ्ने निरौलाको भनाई छ ।उनका अनुसार यसअघि व्यापार मेलाका लागि जम्मा २ सय ७४ जनाले मात्र बोर्डर प्रबेश बनाई नबिकरण गर्दै आईरहेका थिए ।

Advertisement

धेरै वर्षअघि दुई देशमा सीमावर्ती बासिन्दालाई सहज हुने गरी नेपाल र चिनको तिब्बतीयन भुमीमा आलोपालो व्यापार मेला लाग्ने गरेको मुस्ताङका नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले बताए ।पछिल्लो समय सुरक्षाको कारण देखाई एकपक्षिय रुपमा चिनिया पक्षले व्यापार मेला संञ्चालन गर्दै आईरहेको थकालीको भनाई छ । अन्तरदेशिय ब्यापार मेलामा तिब्बतीयनहरु कोरलानाका छेउ ब्यापार गर्न आउछन् ।

नेपाली पक्षले पनि त्यहा पस्मिना र नेपाली ब्रान्डका खाद्यान्न चिनिया पक्षलाई बिक्री गर्ने गरेको लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए ।उनका अनुसार कोरलामा तिब्बतीयनहरुले बिक्री गर्न ल्याएका लत्ता कपडा ,ईलेक्ट्रोनिक सामाग्री , खाद्यान्न र निर्माण सामाग्रीहरु नेपाली पक्षले खरित्ने गरेका छन् ।यस्तै ,भदौमा हुने ब्यापार मेलामा नेपाली पक्षले तिब्बतीयन भेडाच्याङ्ग्रा समेत खरित्ने गरेको उनको भनाई छ ।

चिनको स्वाशासित क्षेत्र तिब्बतको कोरलानाका उत्तर ५ किलोमिटर पठार भूगोलमा ब्यापार मेला सञ्चालन हुदै आएको लोमान्थाङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुशिल अर्यालले जानकारी दिए । उनका अनुसार चिनिया पक्षले कोरला पठारमा त्रिपाल टागेर ब्यापार मेला सञ्चालन गर्छन् । मेलामा नेपाली मुद्रामा पनि कारोबार हुने गरेको छ । यसअघि सामान्य नागरिकता परिचयपत्र मात्र भए पुग्नेमा यसपटक बोर्डर परिचय पत्र अनिवार्य गराएको प्रशासकीय अधिकृत अर्यालले खुलाए ।

संघीयता कार्यान्वयनपछि यसपटक लोमान्थाङ गाउपालिकाले चिनिया मोटरसाईकल खरिद र बियरका बोतल भित्र्याउन रोक लगाएको छ । लोमान्थाङ गाउपालिकामा बिगतमाअबैध चिनिया मोटरसाईकल भित्रिएको र त्यसलाई न्यूनिरकण गर्न मोटर साईकल खरित्न रोक लगाएको हो । यस्तै, व्यापार मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले उत्तरी नेच्ङ भन्सार कार्यालयमा कर्मचारी समेत खटाई सकेको छ ।

यसपटकको व्यापार मेला १० दिन सम्म हुने र किनमेलमा सर्वसाधारणको उपस्थिती बढेमा थप ५ दिन समय थप्न सक्ने चिनिया पक्षले जानकारी दिएको प्रशासकीय अधिकृत अर्यालले बताए । मेलामा नेपालीहरुलाई दलाई लामाको लकेट भिरेर बोर्डर प्रवेश गर्न रोक लगाउने भएको छ ।

तपाईको प्रतिक्रिया