जनजीवन सुधार नगरे समाजवाद असम्भवः पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

समाधान संवाददाता २०७६ असार ८ गते १३:३६

समाधान संवाददाता
पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आधारभूत तहमा रहेका जनताको जीवनस्तरमा सुधार नगरेसम्म समाजवादमा जाने आधार तयार गर्न नसकिने बताएका छन् । उनले समाजवाद सुन्न प्रिय लागे पनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा संगठनको गण्डकी प्रदेश कमिटीले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा नेता पाण्डेले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, स्वास्थ्य बिमा, जनता आवास, योगदानमा आधारित सामाजिक सुरक्षा, जमिनको उपयोगको आधारमा वर्गीकरण गरे मात्र समाजवाद ल्याउन सकिने बताए ।

Advertisement

उनले समाजवादी मोडेलमा जान जमिनको उपयोगका आधारमा वर्गीकरण गर्नुपर्ने प्रस्ताव गरे । जमिनको प्रकृतिको आधारमा उत्पादनमा लगाउन पर्ने उल्लेख गर्दै नेता पाण्डेले आवास र उद्योग चलाउने जमिनमा बढी कर लगाउन पर्ने उल्लेख गरे । ‘कृषिको जमिनमा कृषिमात्र गर्ने व्यवस्था मिलाउनुपर्छ,’ नेता पाण्डेले भने, ‘त्यस्तो जमिनमा धेरै कर नलगाएर किसानलाई प्रोत्साहित गर्नुपर्छ ।’

बन्द हुने अवस्थामा रहेका सामुदायिक विद्यालयहरुलाई प्रािवधिक विद्यालयमा रुपान्तरण गर्नुपर्ने तर्क पेस गर्दै प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता पाण्डेले प्राविधिक शिक्षा पढेकालाई रोजगारीको ग्यारेन्टी नगर्दासम्म सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण गर्न नसकिने तर्क गरे । वर्तमान सरकारले १ लाखको स्वास्थ्य बिमालाई २ लाख पु¥याउनुपर्ने उल्लेख गर्दै नेता पाण्डेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए । सामाजिक सुरक्षाको ग्यारेन्टी भए बन्द हडतालसमेत नहुने उनको दाबी छ ।

Advertisement

नेता पाण्डेले घरबारविहीनका लागि ल्याइएको जनता आवास कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरे । शिक्षा, स्वास्थ्य, रोजगारी जस्तै यातायात क्षेत्रको व्यवस्थापन गर्ने काम सरकारको भएको उनले उल्लेख गरे । कम्युनिस्ट पार्टीका नेताहरुको वर्गीय आधार फेरिएकाले मजदुरलाई बेवास्ता गरे जस्तो देखिएको चर्चा गर्दै नेता पाण्डेले खबरदारी गर्न मजदुरको पार्टीमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी दुर्घटना न्यूनीकरणका लागि १ वर्षमा ४८ हजार यातायात मजदुरलाई प्रशिक्षण दिने योजना सुनाए । लोककल्याणकारी मुद्दामा केन्द्रित हँुदा राजनीतिक गतिविधिबाट संगठन बिमुख भएको उल्लेख गर्दै अध्यक्ष राईले राजनीतिलाई बिर्सेर आर्थिक गतिविधिमा केन्द्रित भए ठिक ढंगले समाजलाई दिशा निर्देश गर्न नसकिने बताए ।

स्थापना दिवसको अवसरमा संगठनले देश भरीका ५१ बसपार्क सरसफाइ गरेको जानकारी दिँदै अध्यक्ष राईले कम्तीमा १ हजार यातायात मजदुरले रक्तदान गर्ने उल्लेख गरे । समारोहमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगली, अग्रज यातायात मजदुरहरु ईश्वरप्रसाद आचार्य र सीताराम गुरुङ, पूर्व कार्यालय सचिव मिना अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यातायात मजदुरहरु गोविन्द थापा, वेदप्रसाद पाण्डे, मनबहादुर विक, नवराज प्रजा, मानवीर गुरुङलाई आर्थिक सहयोग गरिएको यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीले स्थापना दिवसको अवसरमा शनिबार पृथ्वीचोक आसपासको क्षेत्रमा सरसफाइ गरेको बताए । कार्यक्रममा आधारभुत विद्यालयतहको शिक्षामा उत्कृष्ट यातायात मजदुरका छोराछोरीहरु ममता राई, अनिता श्रेष्ठ, सृष्टि देवकोटा, सुनीता तुलाधर, सुदर्शन मिश्र, युवराज ढकाल, सफलता न्यौपाने, रोहन शर्मालाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा प्रदेश सभाका सांसद मिना गुरुङ, जिफन्ट प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपाध्यक्ष कर्णसिं गुरुङ, सचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसी, सचिवमा हरिराम धिताल, शिक्षा र प्रचारतर्फका सहसचिव तिलबहादुर विक लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया