मुस्ताङमा कुप्रथाविरुद्ध अग्निदहन प्रदर्शन

समाधान संवाददाता २०७६ असार ८ गते १४:३८

समाधान संवाददाता
जोमसोम

सामाजिक कु–प्रथाविरुद्ध तयार पारिएको नेपाली चलचित्र अग्निदहन मुस्ताङमा प्रदर्शन गरिएको छ । जनतामाझ सामाजिक चेतना फैलाउने उद्देश्यले शनिबार जोमसोममा अग्निदहन प्रदर्शन गरिएको हो ।

समाजका अन्धविश्वास, कुरीति, कु–संस्कार न्यूनीकरण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो । मान्छे कहिल्यै बोक्सी हुन्न राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल सरकारी तबरबाट दर्ता गराएर जनचेतनामूलक गतिविधि अघि बढाइएको छ । बोक्सी प्रथा अझै पनि हाम्रा गाउँघरमा व्याप्त छ । मान्छे कहिल्यै बोक्सी हुँदैन र बोक्सीको बिल्ला समाजले भिराउने हो भन्ने यथार्थ अग्निदहनले प्रष्ट्याउन खोजेको छ । नेपालमा सदियौंदेखि चलिआएको सतीप्रथा उन्मूलन भए पनि अझै हाम्रो समाजमा दाइजो तथा बोक्सी प्रथालगायत रुढीवादी संस्कारको अन्त्य हुन नसकेको परिप्रक्ष्यमा अग्निदहनले सचेतना फैलाउने विश्वास लिइएको छ ।

Advertisement

समाज र राष्ट्रप्रति योगदान पुर्‍याउने उद्देश्यले चालिएको अभियानमा प्रतिष्ठानले देशका ७ सय ५३ स्थानीय तहमा चलचित्र देखाउने योजना बनाएको संस्थाका संरक्षक भूवनेश्वर शर्मा पौडेलले बताए । अग्निदहन २०७४ सालमा निर्माण भएको हो । चलचित्रबाट व्यावसायिक लाभ लिने उद्देश्य नभएको तथा राष्ट्र र जनताको उत्थानका लागि अभियान चलाइएको संरक्षक शर्मा पौडेलले उल्लेख गरे । उनका अनुसार सामाजिक चेतनाका लागि २ दर्जन बढी जिल्लामा यो चलचित्र देखाइएको छ ।

चलचित्रको लागत ८२ लाख भए पनि हालसम्मको खर्च जोड्दा डेढ करोड नाघेको संस्थापक पौडेलको भनाइ छ । मान्छे कहिल्लै बोक्सी हुन्न राष्ट्रिय जागरण संस्थामा अहिले ५३ जना क्रियाशील सदस्य छन् ।

Advertisement

राष्ट्रिय चलचित्र बोर्डद्वारा पुरस्कृत अग्निदहन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका उच्च व्यक्तिहरुले अवलोकन गरिसकेकोे अभियानका उपाध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए । उनका अनुसार सामाजिक बोक्सी कु–प्रथा उन्मूलनका लागि बनाइएको अग्निदहनको चर्चा विश्वबजारमा चुलिन थालेको छ । बिल्कुलै फरक धारमा निर्माण भएको चलचित्र अग्निदहनको जापानिज टेलिभिजनले डकुमेन्टी निर्माण गरेको उनले बताए । उनले राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको यस चलचित्रको अन्य भाषामा पनि डबिङ गर्ने सोचाइ रहेको सुनाए ।

मान्छे बोक्सी कहिल्यै हुन्न राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको निर्माण, घनश्याम लामिछानेको निर्देशन र लोकमणि पौडेलको कथाको संयोजनमा चलचित्र तयार भएको हो चलचित्रको मुख्य भूमिकामा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे लगायत कलाकार छन् ।

बोक्सीप्रथा तराई क्षेत्रमा बढी छ । नेपालमा बोक्सी कु–प्रथाको आरोपमा थुपै्र महिलाले शारीरिक, मानसिक र नैतिक यातना भोगिरहेको संस्थाका महासचिव श्रीभद्र पौडेलले बताए । जोमसोममा देखाइएको अग्निदहन चलचित्र घरपझोङ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पूर्व सांसद श्रीमाया थकाली, विद्यार्थी, आमा समूह, युवा क्लब, कर्मचारी, सुरक्षा निकाय र पत्रकारले अवलोकन गरे ।

तपाईको प्रतिक्रिया