मनसुनः नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

समाधान संवाददाता २०७६ असार ८ गते १६:१९

बिबिसी

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतबारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ । त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ।

तर यो वर्ष जुन २० (असार ५ गते) देखि नेपालमा सुरु भएको मनसुन दुई दिनभित्र पूरै देशमा फैलिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । फलस्वरूप पछिल्लो २४ घण्टामा पूर्व र मध्य क्षेत्रसँगै सुदूरपश्चिममा अधिकांश स्थानमा वर्षा हुन थालेको छ।

Advertisement

अब मनसुन सक्रिय भइसकेकोले वर्षा हुने क्रम आउने दिनमा जारी रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्ला भेगमा वर्षा हुँदा हिमाली भेगमा हिमपात हुने क्रम पनि सुरु भइसकेको छ ।

मनसुनको अवधिमा नेपालमा हुने कुल वर्षाको झन्डै ८० प्रतिशत वर्षा हुने गर्छ । यस वर्ष ढिलो सुरु भएको भए पनि मनसुनको अवधि कहिलेकाहीँ लम्बिएको पनि देखिन्छ ।

Advertisement

यो वर्षको मनसुन तुलनात्मक केही स्थानमा कमजोर हुने र ती भूभागमा सामान्यभन्दा कम वर्षा हुनसक्ने मौसम विभागको विश्लेषण छ । मौसमविद्हरूको आकलन अनुसार “यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १, २, ३ र ५ का केही भूभागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ । तर, विभागको पछिल्लो मौसम विवरणमा भनिएको छ, “गण्डकी, कर्णाली र सुदूरपश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ।

झन्डै दुई हप्ताअघि अरब सागरमा विकसित भएको एउटा शक्तिशाली समुद्री आँधीका कारण यो वर्ष पूरै भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रिया बिथोलिएको मौसमविद्हरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया