ठेकेदारको लापरबाहीले बग्यो मादी पुल

समाधान संवाददाता २०७६ असार ९ गते ११:५५

समाधान संवाददाता
पोखरा

कास्कीको मादी गाउँपालिका ज्याम्दुस्थित निर्माणाधीन पुल ठेकेदारको लापरबाहीकै कारण आइतबार नदीले बगाएको छ । मादी नदीको बीच भागमा पिल्लर ठड्याएर पुलको आधा भाग मध्य असारमा ढलानको तयारी हुँदै थियो । तर, समयमै सक्नुपर्ने काम ठेकेदारले बिलम्ब गर्दा ढलान गर्ने तयारी भएको पुलको सटिङ बगाएको हो ।

यो पुल अहिलेसम्म सबै निर्माण सकिनुपथ्र्यो । पुल निर्माण विलम्ब गर्ने मृत सञ्जीवनी निर्माण सेवा हेटौंडालाई गएको भदौ १० गते जनप्रतिनिधिले समयमै सक्ने कागज गराएका थिए ।

Advertisement

गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ र प्रदेश सभा सांसद मनबहादुर गुरुङले प्रमुख जिल्ला इन्जिनियर नारायण बरालको रोहबरमा ठेकेदार कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका दिवस उप्रेतीलाई समयमै काम सक्ने लिखित कागज नै गराएका थिए ।

गएको वैशाखभित्रै काम सक्नुपर्ने पुलको एउटा पिल्लर उठाउनेबाहेक अरु काम नभएपछि जनप्रतिनिधि र ठेकेदारबीच समयमै काम सक्ने सहमति भयो । जेठ मसान्तसम्म काम सक्ने र असारमा पुल हस्तान्तरण गर्ने योजना थियो । तर, ठेकेदार बेलामा काम नगर्दा बर्खाको भेलले पुल बगाएको हो ।

Advertisement

ज्याम्दुस्थित मादी नदीमा पुल हाल्न २०७२ सालमा टेन्डर आह्वान गरिएको थियो । मृत सञ्जीवनी निर्माण सेवाले १५ महिनाभित्र काम सक्ने गरी टेन्डर पायो । २०७२ चैत १२ गते ८ करोड ६ लाख ९६ हजार रुपैयाँमा निर्माण सेवाले सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले १५ महिनासम्म पुल निर्माणको छनकसम्म दिएन । काम नै सुरु नगरी कम्पनीले २०७५ असार १५ गतेसम्मका लागि म्याद थप्यो । दोस्रोपटकको म्याद पनि गुज्रियो । ठेकेदारले पुलको एउटामात्रै पिल्लर उठाउने काम गरेपछि निर्वाचित जनप्रतिनिधिले चासो दिए । काममा अटेरी गर्ने ठेकेदार सम्पर्कमा नआएपछि जनप्रतिनिधिले जिल्ला प्रशासनमा उजुरी गरे ।

प्रशासनले पक्राउ पुर्जी नै जारी गरेपछि ठेकेदार बल्ल सम्पर्कमा आएका थिए । केही काम हुँदै गर्दा दोस्रोपटकको म्याद पनि गुज्रिएपछि जनप्रतिनिधिकै रोहबरमा समयमै काम सक्ने गरी तेस्रोपटकका लागि म्याद थपिएको थियो । तर, लिखित प्रतिबद्धता गरे पनि ठेकेदारको लापरबाहीले ढलानको तयारी भएको पुल नदीले ढलाएको हो ।

‘ठेकेदारले फेरि पनि अटेरी गर्ने र समयमै काम नसक्ने देखिएपछि हामीले लिखित प्रतिबद्धता गरायौं,’ मादी गाउँपालिका अध्यक्ष वेदबहादुरले भने, ‘वैशाखकै भेलले पनि पुलको निर्माणमा बाधा पार्ने भएकाले समयमै सक्न पटकपटक ताकेता गर्‍यौं । तर, अटेरी ठेकेदारकै कारण पुल बन्ने स्थानीयको सपना यसपटक मादीले नै बगायो ।’

ठेकेदारले कहिले कामदार नपठाउने, कहिले निर्माण समाग्री नै नपठाएर हेलचेक्र्याइँ गर्दा ढलान हुन लागेको पुल बगेको अध्यक्ष गुरुङको दुखेसो छ । त्यस्ता ठेकेदारलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

‘मादी वडा नम्बर ७ ज्याम्दुमा निर्माणाधीन पुल २ पटक म्याद थप गरेर पनि निर्माण नसक्दा बगायो,’ मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एक्काजंग गुरुङ भन्छन्, ‘ठेकदारको चरम लापरबाहीको कारणले स्थानीय जनता गाउँपालिकाकेन्द्रमा सेवा सुविधा लिन, पोखरा आवतजावत र विकास निर्माण कार्यमा ठूलो समस्य भोग्नुपर्ने हुँदा ठेकेदारलाई कठा कारबाहीको माग गर्दछौं ।’

जनप्रतिनिधिसँगको रोहबरको भएको प्रतिवद्धतामा ठेकेदारले तेस्रोपटकको म्याद पनि गुज्रिए सम्झौता नै खारेज गरी कारबाही भोग्ने प्रतिबद्धता गरेका थिए ।

‘असारमा बाढी आउनु स्वभाविक थियो । मध्यअसारमा पुलको आधामात्र ढलानको तयारी थियो । आजभोलिभन्दा भन्दै यस्तो अवस्था आयो,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘पुल त बनेकै थिएन । पुलको ढलान गर्न तयारी गरेको सटिङ बगायो ।’

स्थानीय तथा प्रदेश सभाको निर्वाचन भएपछि पुल निर्माणमा भएको ढिलाईप्रति जनप्रतिनिधिले एक्सन लिएका थिए । ‘पटकपटक सम्झौता थपेर समयमै नसकिएकाले हामीले धेरै ठेकेदारलाई सम्पर्क गर्ने कोसिस गर्‍यौं । त्यति गर्दा पनि नभएपछि प्रशासनमा उजुरी हाल्यौं । प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि बल्ल ठेकेदार सम्पर्कमा आएका थिए,’ अध्यक्ष गुरुङले भने, ‘तर, हाम्रो प्रयास खेरै गयो ।’

तपाईको प्रतिक्रिया