बजेटप्रति कांग्रेसकाे असन्तुष्टि, प्रदेश सभा फेरी स्थगित

समाधान संवाददाता २०७६ असार ९ गते १२:४१

समाधान संवादादता
पोखरा

गण्डकी प्रदेश सभाको बैठक आइतबार पनि सूचना टाँसेर स्थगित भएको छ । बजेटप्रति कांग्रेसले जनाएको असन्तुष्टिबारे टुंगो नलाग्दा सभा बैठक बस्न नसकेको हो । विकास कार्यक्रम पुस्तिकमा त्रुटि रहेको कांग्रेसको आरोप छ । यसबारे मुख्यमन्त्री र विपक्षी दलबीच बसेको बैठक निष्कर्षहीन हुन प्रदेश सभा आइतबार बस्न नसकेको हो ।

सिँचाइतर्फ क्रमागत १ सय १४ र आगामी आर्थिक वर्षका लागि नयाँ छनोट गरिएका १ सय ३० गरी जम्मा २ सय ४४ सतह सिँचाइ योजनालाई गण्डकी सरकारले बजेट वक्तव्यमार्फत सम्बोधन गरेको छ । यी आयोजनासँगै ४० भूमिगत जलसिँचाइ योजना, भूमिगत ट्युबवेल, पम्प खरिद र सञ्चालन घर (अपरेसन रूम) निर्माणका लागि अर्ब ९ करोड विनियोजन गरेको अर्थमन्त्री किरण गुरुङले बजेट वक्तव्यमार्फत सार्वजनिक गरे ।

Advertisement

सरकारले बिहीबार वार्षिक बजेट पुस्तिका सार्वजनिक गर्दा वक्तव्यमा भएका कुरा नै छुटे । वक्तव्यमा २ सय ४४ वटा योजना सञ्चालन गर्ने भनिएकोमा पुस्तिकामा जम्मा १ सय ८६ सिँचाइ आयोजनामात्र समावेश छन् । त्यतिमात्रै होइन कास्की, नवलपुर र तनहुँमा सिँचाइका कार्यक्रम नै छैनन् ।

सरकारको बजेट वक्तव्य र विकास कार्यक्रम पुस्तिका (रेडबुक) का कार्यक्रम नै बाझिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रश्न उठाएको छ, ‘त्रुटिपूर्ण पुस्तिका कसरी आयो ?’ कांग्रेस सांसद कुमार खड्का भन्छन्, ‘वक्तव्यमा किटान गरिएका कुरा पुस्तिका सम्बोधन नै नगर्नु नीति र कानुनसम्मत हुँदैन । अनि ३ जिल्लामा सिँचाइका कार्यक्रम नै छैनन् । सरकारले मैले यी जिल्लामा सिँचाइ नै गर्दिनँ भन्न पाउँदैन ।’

Advertisement

सरकारले बजेट वक्तव्यमा पोखरा महानगरपालिका अन्तर्गत पचभैयामा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान (जुलोजिकल पार्क) स्थापना गर्ने बताएको छ । विस्तृत आयोजना प्रतिवेदन तयार गरी स्थापनाको कार्य प्रारम्भ गर्न ४ करोड र पचभैया वन्यजन्तु उद्दार केन्द्रका लागि १ करोड विनियोजन गरेको अर्थमन्त्रीले वक्तव्यमा बताए । तर, पुस्तिकामा ४ करोड रुपैयाँमात्र देखियो, वन्यजन्तु उद्दार केन्द्रका लागि छुट्याउने भनिएको १ करोड रुपैयाँ नै गायब भयो ।

सरकारले रेडबुकमा सम्भाव्यता अध्ययन भनेर ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, के योजना, के कार्यक्रमको सम्भाव्यता अध्ययन भन्ने उल्लेख नै छैन । प्रदेश साक्षरता कार्यक्रम भनेर ५ करोड रुपैयाँ छुट्याइएको छ । कांग्रेसको प्रश्न छ, ‘साक्षरता अभियान भनेर छुट्याइएको ५ करोड रुपैयाँ कस्तो कार्यक्रममा खर्च गर्ने हो ?’

प्रमुख प्रतिपक्षी दलले सरकारले ल्याएको बजेट पुस्तिकामाथिको त्रुटि सच्याउन माग गरिरहेको छ । बिहीबार सरकारले विकास कार्यक्रम पुस्तिका जारी गरेपछि कांग्रेसले शुक्रबारको सदनमा बोल्ने समय मागेको थियो । बोल्न नदिए संसद नै अवरुद्ध पार्ने तयारीमा कांग्रेस लागेपछि शुक्रबार सूचना टाँस गरी संसद स्थगित गरियो ।

‘रेडबुक संवैधानिक, कानुनी र व्यावहारिक रुपले त्रुटिपूर्ण छ । यसले सांसदका भावना पनि समेटेको छैन,’ प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भन्छन्, ‘करेक्सन गर, सुधार्नुपर्ने ठाउँमा सुधार गर भन्ने तयारीमा हुँदा संसद नै स्थगित हुन्छ । सरकार सच्चिनै चाहँदैन ।’

कांग्रेसले सरकारको वक्तव्य र किताबमै कार्यक्रम र योजना बाझिएको भन्दै विरोध गरिरहँदा आइतबार डाकिएको संसद बैठक पनि स्थगित भएको छ । विशेष कारण देखाउँदै सूचना टाँस गरेर संसद स्थगित भएको छ ।

संसद सुरु गर्दा कांग्रेसले बजेटका गम्भीर त्रुटिलाई बाहिर ल्याउने भएकाले भरसक सरकारले आन्तरिक छलफलबाट मिलाउन चाहेको असन्तुष्ट सांसद बताउँछन् । कांग्रेसलाई छलफलमा बोलाउने र त्रुटि भएका ठाउँमा सच्याएर जाने तर गल्ती बाहिर ल्याउन नदिन सरकारका मन्त्री लागिहेको कांग्रेस सांसद खड्काले बताए ।

‘स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निशुल्क शिविर चलाउने भनेर ४५ हजार रुपैयाँ छुट्याइएको छ भने अर्को अभिमुखीकरण कार्यक्रमलाई ५५ लाख रुपैयाँ छुट्याइएको छ । निशुल्क परीक्षण कार्यक्रम एउटै टोलमा गर्दा पनि ४÷५ लाख रुपैयाँ लाग्छ,’ सांसद खड्काले भने, ‘यो त १ उदाहरणमात्र हो, वक्तव्यमा ल्याएका कुरा नै पुस्तिकामा बाझिएका छन् । त्यसलाई त सच्याउनु पर्‍यो ।’

राउन्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग, पार्क, उद्यान तथा भ्यूटावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन १८ करोड विनियोजन गर्ने वक्तव्यमा भनिएको र पुस्तिकामा अर्को शीर्षकमा आएको खड्काले बताए ।

संसदबाट वरपीपल विधेयक पारित भइसकेको छ । तर, वर, पीपल, चौतारो संरक्षणमा बजेटले कुनै सम्बोधन नगरेकोप्रति कांग्रेसको असन्तुष्टि छ । ‘१ पैसा नै खर्च नगर्ने हो भने, कार्यक्रम नै नल्याउने हो भने विधेयक किन ल्याएको,’ खड्काको प्रश्न छ ।

रेडबुकमा भएका त्रुटि सच्याउन र असहमतिका विषयमा छलफल गर्न भन्दै शनिबार मुख्यमन्त्रीसहितको बैठक पनि बसेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मन्त्रालयका सचिवहरु, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहितको बैठकले बजेटका विषयमा छलफल गरेको थियो । कांग्रेसले रेडबुकमा देखाएका कतिपय त्रुटिलाई सरकार मिलाउने पक्षमा रहेको आशय मुख्यमन्त्री र अर्थमन्त्रीले दिएका थिए ।

कांग्रेससँग छलफल गरेर अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्री किरण गुरुङले कतिपय विषयमा कांग्रेसले रेडबुकका विषयमा नबुझेको बताए । कांग्रेसले भनेझैं ठूलो त्रुटि नभएको र सबै कुरा विकास कार्यक्रम पुस्तिकामा नआउने अर्थमन्त्री गुरुङको भनाइ थियो । सोमबार फेरि संसद बैठक बोलाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया