केन्द्र सरकारले गर्दा संघीयता कार्यान्वयन चुनौतीपूर्णः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ असार ९ गते १४:०९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ केन्द्र सरकारको कार्यशैलीको सबैभन्दा विरोध गर्ने नेतामा पर्छन् । बेलाबेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई नै खण्डन गरेर चर्चामा पनि आइरहन्छन् ।

आइतबारदेखि पोखरा सभागृह हलमा सुरु भएको पोखरा महानगरको पाँचौ नगरसभा उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले फेरि केन्द्र सरकारलाई नै प्रश्न तेस्र्र्याइरहे । ३० मिनेटभन्दा बढी भाषण गरेका उनले आधाभन्दा बढी समय केन्द्र सरकारकै विरोधमा खर्चिए ।

Advertisement

‘सत्ता फेरियो, सरकार फेरियो, संरचना फेरियो । तर, माथि बस्नेहरुको सोच र कार्यशैली फेरिएन,’ मुख्य मन्त्री गुरुङको भनाइ थियो, ‘संघीयता आइसकेपछि त्यही त परिवर्तन हुन जरुरी थियो । विकेन्द्रिकृत सोच हुनुपथ्र्यो । तर त्यस्तो भएन । केन्द्रीकृत मानसिकता अझै हटेन ।’

मुख्यमन्त्री गुरुङले संघ सरकारकै कारण संघीयता कार्यान्वयनमा चुनौती भएको समेत आरोप लगाए । उनले संघ सरकार वस्तुवादी ढंगले नलागेकै कारण चुनौती उत्पन्न भएको बताए । ‘ढिलो भाछ । तलमाथि भाछ । थाहा छ । हामीले अझै संघीयता मूल बाटोमै छ भनिरहेका छौं,’ उनले भने, ‘खासमा धेरै कुरा सच्याउन बाँकी छ ।’

Advertisement

केन्द्र सरकार एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको केन्द्र सरकारको भनाइ थियो । ‘संघ सरकारले अझै संघीयताको मर्म अनुरुप काम गरेको छैन । हरेक कुरामा एकलौटी ऐन कानुन बनाएको छ । यसरी पनि संघीयता कार्यान्वयन अत्यन्तै चुनौती पूर्ण छ,’ उनले भने । प्रदेश तथा स्थानीय तहले आफ्ना ऐन तथा कार्यान्वयन गर्न पनि केन्द्र सरकारको ढोका ढक्ढक्याउनुपर्ने बाध्यता रहेको सुनाए ।

मुख्यमन्त्री गुरुङले केन्द्र सरकारले ऐन तथा कानुन एकलौटी बनाउन लागेको आरोप लगाएइका छन् । ‘बाध्यकारी कानुनबाहेक अन्य कानुन पनि संघले एक्लै बनाउँदैछ । प्रदेश सरकारसँग समन्वय गर्न सकिन्थ्यो । तर गर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सँग त कुनै छलफल र सहमति पनि गरेको छैन ।’

संघकै कारण प्रदेश तथा स्थानीय तहले आफ्ना कर्मचारीसमेत व्यवस्थापन गर्न नसकेको मुख्यमन्त्री गुरुङले सुनाए । प्रदेश राज्य सरकार स्वतन्त्र नभएकैले केन्द्र सरकारको सहयोग र समन्वय जरुरी रहेको मुख्यमन्त्रीको भनाइ थियो । ‘जनताले घरघरमा सिंहदरबार आयो भनेर अनुभूत गर्न पनि माथि बस्नेहरुको कार्यशैली बद्लिनुपर्ने देखिन्छ,’ उनले भने ।

पोखरा पर्यटनकै राजधानी भएको तर केन्द्र सरकारले घोषणा गर्न आनाकानी गरिरहेको मुख्यमन्त्री गुरुङले आरोप लगाए । उनले भने, ‘काठमाडौं प्रशासनिक राजधानीमात्रै हो । विभिन्न शक्तिहरुको विरासत बोकेर संघीय राजधानी भएको छ । पोखरा पर्यटनको राजधानी हो । तर केन्द्रले घोषणा गर्न आनाकानी गरिरहेको छ । एकदिन घोषणा गर्नैपर्छ ।’

मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयन नभए सत्ताधारी पार्टी पनि असफल हुने भएकाले सजग रहन आग्रह गरे । ‘संघीयता असफल भए मुलुक असफल हुन्छ । मुलुक असफल भए सत्ताधारी पार्टी नै असफल हुन्छ,’ उनले भने । उनले केन्द्र सरकारले ल्याएका बहुवर्षीय योजना सफल बनाउन प्रदेश तथा स्थानीय तहले पनि सोही अनुरुप योजना ल्याएर सहयोग गर्नुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया