आगामी आवका लागि पोखरा महानगरको नीति तथा कार्यक्रमः ‘लेक टु लेक, केभ टु केभ’

समाधान संवाददाता २०७६ असार ९ गते १४:४५

नेपालको संविधानले व्यवस्था गरे बमोजिम विकास र समृद्धिका लागि स्थानीय सरकार सञ्चालनमा आइ संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण संस्थागत हुनेतर्फ उन्मुख भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र मर्मअनुसार संघीय सरकार र गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसमेतलाई आत्मसाथ गर्दै स्थानीय सरकार सञ्चालनको २ वर्षे सिकाइ र भोगाइमार्फत थप ऊर्जा संगाल्दै पोखरा महानगरपालिकाको ५ औं नगरसभामा आव २०७६÷२०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महसुस गरेको छु ।

राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिदको सपना र मार्गदर्शन अनुरुपको विकासलाई सार्थक तुल्याउने यात्रामा हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा यस घडीमा गर्न चाहान्छु ।

पोखरा नगरका आफ्नै खाले विशिष्टता र विविधता छन् । त्यस्तो विशिष्टता र विविधतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ । एकातिर नगरको मुख्य बजार क्षेत्रमा सघन सहरी विकासले गति लिएको छ भने अर्कोतिर धेरै वडाको भूगोल पहाडी रहेकाले पहाडी क्षेत्र विशेष पूर्वाधार र विकास कार्यक्रमलाई अगाडि बढाइएको छ । समथर र पहाडी दुवै भौगोलिक परिवेशलाई मध्य नजर गर्दै तदनुकूलको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

आव २०७६÷२०७७ को बजेट तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, चालु आवधिक योजना, दीगो विकासका लक्ष्य, पोखरा महानगरको वस्तुगत अवस्था, विभिन्न राजनीतिक दल, संघसंस्था, प्रवुद्ध वर्ग तथा नागरिक समाजका प्रतिनिधिको सुझावका साथै कार्य अनुभवलाई महत्वपूर्ण आधारको रुपमा लिएको छ ।

पोखरा महानगरपालिकामा चालु आर्थिक वर्षमा सम्पादन भएका महत्वपूर्ण क्रियालाप र उपलब्धिलाई बुँदागत रूपमा पेस गर्ने चाहन्छु ।

पूर्वाधारतर्फ
पूर्वाधार निर्माण कार्यक्रममा चालु आर्थिक वर्षमा २ अर्ब ४३ करोड लागतमा १ सय ४७ वटा योजनाको टेन्डर प्रक्रिया पूरा गरी काम अगाडि बढाइएको छ । मेयर नमुना पूर्वाधार योजना अन्तर्गत मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि गुणस्तर मापन प्रयोगशाला सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ । चालु आर्थिक वर्षमा १५ किमी बाटो ढलान, १० किमी सडक कालोपत्रे, २४ किमी सडक मर्मत, ३७ किमी सडक स्तरोन्नति, साढे ४ किमी ढल तथा नाली निर्माण र ५६ किमी खानेपानी पाइपलाइन बिस्तार गरिएको छ ।

कनेक्टिङ सडक
सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो । क्षेत्रफलको हिसाबले सबभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ । महानगरका सबै ३३ वटै वडालाई एकआपसमा स्तरीय सडक सञ्जालबाट जोडी विकटलाई निकटमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी १ अर्ब १६ करोड बराबरको टेन्डर भई काम अगाडि बढेको छ ।

समपूरक सडक
केन्द्र सरकारको ४० प्रतिशत र स्थानीय सरकारको ६० प्रतिशत लागत सहभागितामा ५ वटा सडक योजनाको बहुवर्षीय ठेक्का सम्झौता भइसकेको छ । आर्थिक वर्ष ०७६÷०७७ मा २९ किमी सडक स्तरोन्नति गरिने छ । १५ किमी पक्की नाली निर्माण, १० किमी सडक ग्राभेलिङ तथा ८ किमी सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा नमुना सडक अन्तर्गत पोखरा चक्रपथ निर्माणका लागि पहल गरिने छ ।

भवन निर्माणतर्फ
वडा समितिका कार्यालयको भवनको पूर्वाधार विकास गरी सुविधा सम्पन्न तुल्याई सेवा प्रवाहलाई थप प्रभावकारी तुल्याउन चालु आव ०७५÷७६ मा ८ वटा वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको छ । चालु आवमा बहुवर्षीय ठेक्का सम्झौता भई निमार्णाधीन ७ वडा कार्यालय यस आव ०७६ र ७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बाँकी वडा कार्यालय भवनको जग्गाको उपलब्धता एवं आवश्यकताको आधारमा नयाँ भवन निर्माण तथा पुराना भवनको मर्मत–सम्भार गरिनेछ । पोखरा सभागृह भवनको डिजाइन कार्य अन्तिम चरणमा पुगेकोले उक्त डिजाइनलाई अन्तिम रुप दिइ ठेक्का व्यवस्थापन गरी आव ०७७÷०७८ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

खानेपानीतर्फ
साविक लेखनाथवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका लागि चालु आर्थिक वर्षमा लेखनाथ साना सहरी खानेपानी आयोजनामा पानी शुद्धीकरण प्लान्ट जडान गर्ने कार्य सम्पन्न भएको छ । बेगनास, भरतपोखरी, कृष्ती, निर्मलपोखरी, माझठाना लगायतका आयोजनामा साझेदारी तथा अन्य साना खानेपानी आयोजनामा १२ करोड लगानी गरी कार्य अगाडि बढाइएको छ ।

ताल संरक्षण
फेवाताल संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण कार्यका लागि चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया अगाडि बढेको र यो आर्थिक वर्षमा काम सुरु भई आर्थिक वर्ष ०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पोखरामा रहेका अन्य तालको संरक्षण र प्रवद्र्धनका कार्यलाई पनि निरन्तरता दिइएको छ ।

स्थानीय कानुन निर्माण
चालु आर्थिक वर्षमा ८ वटा ऐन तथा जनप्रतिनिधि र कर्मचारीसँग सम्बन्धित २ वटा आचारसंहिता निर्माण गरिएको छ । संविधान एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देश गरे बमोजिम हालसम्म ६ वटा नीति, ८ वटा ऐन, १२ वटा नियमावली, १५ वटा निर्देशिका, १७ वटा कार्यविधि गरी ५८ वटा कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह र सुशासन
नागरिकलाई अधिकांश सेवा वडा स्तरमै उपलब्ध गराउने र महानगरलाई नीति, कार्यक्रम, समन्वय, अनुगमन र सहजीकरणका काममा केन्द्रित गर्ने नीति लिइएको छ । महानगर र वडा कार्यालयको आन्तरिक प्रशासन र व्यवस्थापनमा सुधार गरिएको छ । कर्मचारीको आचरण, व्यवहारमा अपेक्षित रुपमा सुधार ल्याई नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिई गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन पहल गरिएको छ । कर्मचारी सुविधाका लागि स्टाफ बस सञ्चालन गरिएको छ । आर्थिक सुशासन र मितव्ययिता प्रवद्र्धन गरिएको छ । अधिकांश वडाका सचिवमा अधिकृत स्तरका कर्मचारी खटाएको छ ।

स्मार्ट सिटी
स्मार्ट सिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा इन्टरनेट–इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लगिएको र महाशाखा÷शाखामा नेटवर्किङ गरी ई–गभर्नेसमा जोड दिइएको छ । पोखराका मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिनुका साथै मुख्य बजार क्षेत्रमा सिसिटिभी जडानका लागि सर्भे सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षमा १० हजार पुराना घर नक्साका कागजातलाई विद्युतीकरण गरी अभिलेख राखिएको छ । पोखराको महत्वपूर्ण सूचना समेटिएको म्याप–बुक तयार गरी प्रकाशन गरिएको छ । भण्डारढिकमा आरएफआइडीमा आधारित पुस्तकालय स्थापनाको काम भइरहेको छ ।

न्याय सम्पादन
न्यायिक समितिमा परेका २७ वटा उजुरी मध्ये ५ वटाको फैसला भइसकेको र ३ वटा दरपिट गरिएको छ । बाँकी १९ वटा उजुरीको निरुपण गर्ने कार्य भइरहेको छ । अहिलेसम्म नागरिकबाट ३ सय ५७ वटा ठाडो उजुरी परेकोमा ३ सय २ वटा उजुरीको फछ्र्यौट भई ५५ वटा उजुरी कारबाही प्रक्रियामा छ । स्थानीय तहका लागि न्यायिक समितिको अवधारण नयाँ अभ्याससमेत भएकाले सो बारे नागरिकलाई सुसूचित गर्न प्रचार सामग्री प्रकाशित गरी वितरण गरिएको छ । महानगरपालिकामा ८८ मेलमिलाप कर्ता सूचीकृत भएका छन् । महानगरपालिकाको १० वटा वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । बाँकी २३ वटा वडामा मेलमिलाप केन्द्र स्थापनाका लागि ८९ जना मेलमिलाप कर्तालाई ८ दिवसीय आधारभूत तालिम प्रदान गरिएको छ । न्याय सम्पादनलाई सहज बनाउन इजलासको स्थापना गरिएको छ । महिलाका लागि निशुल्क कानुनी परामर्श कक्ष स्थापना गरेर आवश्यक परार्मश र सहयोग भइरहेको छ ।

हामी बनाउँछौ हाम्रो महानगर
हामी बनाउँछौं हाम्रो महानगर कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक तथा खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ । सहरी सडक सञ्जालमा धुले सडक लगभग २५ प्रतिशतमा सीमित गरिएको छ । महानगरवासीलाई आफ्नो टोल बस्तीमा सञ्चालन हुने विकास निर्माणका कार्यमा महानगरको ५० प्रतिशत र टोलबासीको ५० प्रतिशत लागत साझेदारीमा ‘हामी बनाउँछौं हाम्रो महानगर’ कार्यक्रम सञ्चालन गरी चालु आर्थिक वर्षमा ७० योजनाबाट १९ करोडको पूर्वाधार निर्माण भएको छ ।

हाम्रो प्रयास, अन्तर्राष्ट्रिय सहर निर्माणको अभ्यास
सडकको मापदण्ड कायम गरी सडक, फुटपाथ र चोकलाई फराकिलो बनाई सौन्दर्यीकरण गर्ने कार्य अगाडि बढाइएको छ । महानगरपालिका क्षेत्रभित्र निर्माण गरिएका मुख्य तथा कनेक्टिङ सडकको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ । भवन तथा पूर्वाधार निर्माणको मापदण्डलाई समयानुकूल परिर्वतन गरी व्यावहारिक र कार्यान्वयन योग्य बनाइएको छ । सडक समस्याको रुपमा रहेका छाडा चौपायालाई वडा नम्बर १४ बाच्छीबुडुवास्थित खाली जग्गामा अस्थायी संरचना निर्माण गरी व्यवस्थापन गरिएको छ ।

उपप्रमुखसँग महिला
महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाई सामाजिक रुपमा स्थापित गर्न उपप्रमुखसँग महिला कार्यक्रममार्फत लक्षित वर्गको सशक्तीकरण एवं क्षमता विकासका कार्यक्रम सञ्चालित गरिएको छ । सहकारीसँग सहकार्य अन्तर्गत ९ वटा सहकारी, ५ महिला समूह र १४ वटा संस्थालाई ऋण उपलब्ध गराइएको छ । ५० महिला उद्यमी, ५ सय महिला रोजगार अन्तर्गत नयाँ उद्योग सञ्चालन र पुरानो उद्योगको स्तरोन्नति गर्ने गरी ९ वटा उद्योग सञ्चालनमा सहयोग गरिएको छ । कृषि, पशु, व्यापार र व्यवसाय प्रवद्र्धनका लागि ४४ जना महिलालाई ऋण लगानी गरिएको छ । वडा वडामा शैक्षिक सहजता ल्याउनका लागि पहिलो चरणमा ३ वडामा शैक्षिक सहजता कार्यक्रम, ४ स्थानमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

सामाजिक सुरक्षा
ज्येष्ठ नागरिक, एकल महिला र दलित नागरिकलाई परिचयपत्र वितरण गरी सामाजिक सुरक्षा सम्बन्धी कार्यलाई सरलीकरण गरिएको छ । महिलाको क्षमता विकासका लागि महिलासँग उपप्रमुख कार्यक्रम, बालमैत्री कार्यक्रम, आयआर्जनका कार्यक्रमसहित कार्यक्रम सञ्चालन गरिएको छ । जीविकोपार्जनमा सहयोगी बन्ने आयमूलक तथा सीपमूलक कार्यक्रम वडावडामा सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले महिला सुरक्षित आवास गृह सञ्चालनको तयारी गरिएको छ । महानगरपालिकाभित्रका ८९ जना सडक बालबालिकाको पहिचान गरी उनीहरुको पुनस्र्थापनाका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा रहेको बालगृह सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

शिक्षा
महानगर शिक्षा नियमावली निर्माण गरी महानगरपालिकाबाटै माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गरिएको छ । बालमैत्री शिक्षाको अवधारणा अनुरुप धुलोमुक्त कक्षा सञ्चालनका लागि विद्यालयमा ह्वाइटबोर्ड वितरण र बालमैत्री शिक्षण पद्धतिको अवलम्बन गरिएको छ । महानगरभित्र रहेको सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोमुक्त बनाइएको छ । सबै विद्यालयलाई क्रमशः सूचना र प्रविधिमा आधारित स्मार्ट विद्यालयको रुपमा विकास गर्ने गरी हाल कालिका मावि र त्रिभुवन शान्ति माविको विस्तृत गुरुयोजना निर्माण गरिएको छ । महानगर बहु प्राविधिक शिक्षालयको सञ्चालनको निम्ति पश्चिमाञ्चल क्याम्पससँग सहकार्य गर्ने गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ । शिक्षा परिषद्बाट गठित कार्यदलले गरेको सुझाव अनुसार तयार गरिएको वर्तमान वस्तुगत शैक्षिक अवस्थाका आधारमा शिक्षा सम्बन्धी नीति तय गरिने छ ।

कृषितर्फ
पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा कृषि बजार तथा कस्टम हायरिङ केन्द्र स्थापना र बिरौटामा कृषक बजार स्थापना गरी बिचौलियाको न्यूनीकरण गरी किसानलाई सहज बजार पहुँच विस्तारको कार्य थालनी भएको छ । मेयर प्रविधिमैत्री कृषि परियोजना सञ्चालन गरी किसानलाई आर्थिक सहयोग गरिएको छ । १ सय स्थानमा थोपा सिँचाइ र १ सय वटा साना सिँचाइ योजना सञ्चालन गरी कृषियोग्य क्षेत्र एवं सिञ्चित क्षेत्रको विस्तार गरिएको छ । हालसम्म ६ सय वटा कम्पोस्ट बिन वितरण गरी घरमै कम्पोस्ट मलको उत्पादनसहित कौंसी खेतीको प्रवद्र्धन गरी वातावरण संरक्षण, फोहोरको व्यवस्थापन र सहरी हरियाली प्रवद्र्धन गरिएको छ । कृषिमा यान्त्रिकीकरण गर्ने एवं नयाँ प्रविधि भित्र्याउने कार्यलाई प्राथमिकता दिइएको छ । ६० वटा स्थायी प्लास्टिक घर निर्माण र ४ सय ५० वटा अस्थायी प्लास्टिक घर निर्माण गरेर बेमौसमी तरकारी खेती प्रवद्र्धन गरी तरकारी आयातलाई न्यूनीकरण गर्ने कार्य गरिएको छ । ४० हजार फलफूल बिरुवा वितरण तथा सुन्तला बगैंचा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी नेपाललाई फलफूल बगैंचा बनाउने सम्माननीय प्रधानमन्त्रीज्यूको अभियानलाई मूर्तरुप दिन पहल गरिएको छ ।

वातावरणतर्फ
घाटगद्दीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन, चौतारी एवं पोखरी संरक्षण, पार्क व्यवस्थापन र भूक्षय नियन्त्रण सम्बन्धी कार्य गरिएको छ । एभरेस्ट बैंकको सहकार्यमा सेतीनदी किनारमा इलेक्ट्रिक शवदाह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्यतर्फ
महानगका २८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना एव्ां व्यवस्थापन गरी वडास्तरमा नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गरिएको छ । ज्येष्ठ नागरिकलाई घुम्ती स्वास्थ्य शिविरमार्फत वडास्तरमै निशुल्क स्वास्थ्य जाँच एवं उपचारको विशेष व्यवस्था गरिएको छ । समुदायस्तरमै महिलाको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघरको समस्या, स्तन क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको स्क्रिनिंग तथा उपचारका लागि रिफर गर्ने गरिएको छ । निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ । गर्भवती एवं सुत्केरी महिला तथा शिशुको पोषण प्रवद्र्धन एवं खोप सेवालाई थप प्रभावकारी बनाइएको छ । स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाका लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गरिएको छ । वडा नम्बर ८ को पुरानो दमकल भएको ठाउँमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी चिकित्सकसहित २६ प्रकारका सेवा निशुल्क उपलब्ध गराइएको छ । वडा नम्बर ४ गणेशटोल, वडा नं ९ को पूरानो वडा कार्यालय, वडा नं १० को साविक वडा कार्यालय, वडा नं २९ को भण्डारढिक र वडा नं ३३ को लामगादीमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी १७ प्रकारका स्वास्थ्य सेवा निशुल्क प्रदान गरिँदै आएको छ । आगामी आवमा थप ५ वटा वडामा सहरी स्वास्थ्य केन्द्र बिस्तार गर्ने योजना छ । गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने छ । वडा नम्बर ३० स्थित शिशुवा अस्पतालमा विशेषज्ञसहित प्रसूति सेवा सञ्चालन चालु आर्थिक आवमा सुरु गरिने छ । डेंगु लगायतका कीटजन्य रोग नियन्त्रणका लागि यस आर्थिक वर्षदेखि सहरभित्र रहेका कवाडी संकलन केन्द्रलाई मुख्य सहर बाहिर व्यवस्थापन गर्दै जाने नीति लिइनेछ ।

पशु सेवातर्फ
पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक १० स्थानमा पशुसेवा केन्द्र स्थापना एवं व्यवस्थापन गरी ९२ प्रकारका पशु सम्बन्धी औषधी निशुल्क वितरण गर्ने कार्य सुरु गरेको छ । व्यावसायिक रुपमा दर्ता भएका सबै पशु फर्मलाई निश्चित अनुदानको व्यवस्था गरिएको छ । १८ वटा व्यावसायिक दुग्ध संकलन केन्द्रमा मिल्क एनलाइजर मेसिन उपलब्ध गराइएको एवं १० स्थानमा चिलिङ भ्याट उपलब्ध गराई स्वस्थ दूध उत्पादन र उपभोगमा जोड दिइएको छ । बाँझो जग्गालाई उपयोग गर्न १ हजार ७ सय ५३ रोपनी बाँझो जग्गामा उन्नत घाँस लगाए वापतप्रति रोपनी ३ हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ग्यारेज र कवाडी संकलन केन्द्रमा छानो राखी व्यवस्थित गर्ने प्रक्रियामा अगाडि बढाइएको छ ।

पोखरा महानगरपालिकाको आव २०७६÷२०७७ कोे नीति तथा कार्यक्रम
– नागरिकलाई अझ बढी सहज, सरल, सुविधाजनक, पारदर्शी र प्रविधिमैत्री ढंगबाट सेवा प्रवाहको प्रत्याभूत गर्दै स्थानीय लोकतन्त्रलाई सुदृढ गर्न तथाचुस्त व्यवस्थापन र भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गरी सुशासनसहितको समृद्ध, लोकतान्त्रिक, समतामूलक पोखरा महानगर निर्माणको नीति अवलम्बन गरिनेछ ।
– आर्थिक समृद्धि र विकासका लागि अघिल्लो आवमा सञ्चालित ‘हामी बनाउँछौ हाम्रो महानगर’ अभियानलाई निरन्तरता प्रदान गरिनेछ । नागरिकको सिप र क्षमताको कदर गर्दै सरकारी निजी साझेदारीमार्फत रोजगारमूलक तथा आयमूलक क्रियाकलाप सञ्चालनमा विशेष जोड दिइनेछ ।

महानगरको विकास नीति
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने विकास आयोजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न निम्नानुसारको नीति अवलम्बन गरिनेछ ।
– विकासका पूर्वाधार नपुगेका वडामा महानगरस्तरीय विशेष योजना सञ्चालनलाई निरन्तरता दिई वडावासीलाई विकासमा पहुँचमार्फत सबै वडालाई समान स्तरमा पु¥याउँदै सबै महानगरवासीलाई समृद्ध महानगरका गौरवशाली नागरिक भएको अनुभूति दिलाउन कार्यक्रम सञ्चालन गरिने छ ।
– महानगरका वडा तथा कास्की जिल्लाभित्र पर्ने गाउँपालिकामा भरपर्दो यातायातको पहुँच बिस्तार गर्न पहल गरिनेछ । महानगरीय यातायात सेवालाई प्रभावकारी र सुरक्षित बनाउनुका साथै सार्वजनिक यातायातमा ई–टिकेटिङको आवश्यक प्रबन्ध मिलाइनेछ ।
– पोखरालाई नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा समन्वय गर्नुका साथै आवश्यकता अनुसार ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, यात्रु सुरक्षाका लागि पैदल मार्ग तथा सरसफाइमा विषेश ध्यान दिइने छ ।
– सहकार्य, सहभावना र सहअस्तित्वको मान्यतामा विकास निर्माणको कार्य अगाडि बढाउँदै लगानीमैत्री वातावरण सिर्जना गरिने छ । पर्यटकीय सहर पोखरा र अन्य सहरबीचको सम्बन्ध थप प्रगाढ बनाउन र लगानीमैत्री वातावरण सिर्जना गर्न पोखरासँग भगिनी सम्बन्ध विस्तार गरिएका सहरबीच २ पक्षीय तथा बहुपक्षीय सम्मेलनको आयोजना गरिनेछ ।
– नदी, खोला, ताल लगायतका जलाधार क्षेत्र संरक्षण गर्नुका साथै जल उत्पन्न प्रकोप नियन्त्रणका लागि विशेष योजना सञ्चालन गर्दै ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई सार्थक बनाउने गरी प्रदुषणरहित सहरको रुपमा विकास गरिनेछ ।
– डिजिटल सहर गुरु योजना अनुसार सूचना प्रविधिको अधिकतम उपयोग गरी सूचना प्रविधिमैत्री कक्षा शिक्षण सिकाइ अवलम्बन गरिनेछ । आवश्यक प्राविधिक उत्पादन तथा सबैका लागि शिक्षा अभियानलाई सार्थक बनाउन पहल गर्दै प्राविधिक शिक्षालय सञ्चालनमा जोड दिइनेछ । प्राविधिक कलेजसँग सहकार्य गर्ने नीति लिइने छ ।
– भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै महानगरीय प्रज्ञा प्रतिष्ठान स्थापनाको कार्य थालनी गरिने छ । साथै पोखरा महानगरलाई पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गरिनेछ ।
– यस आर्थिक वर्षबाट तालिम सञ्चालनका लागि स्रोत केन्द्र स्थापना गरी तालिमको माध्यमबाट नागरिकको सीप र क्षमताको विकास गरीरोजगारको अवसर सिर्जना गरिनेछ । छिटो, छरितो र प्रविधियुक्त सेवा प्रवाह गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
– ‘हाम्रो चाहना, पर्यटनमैत्री निर्माण संरचना’ लाई अभियानकै रुपमा अगाडि बढाई नेपाल भ्रमण वर्ष २०२० र प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन आन्तरिक भ्रमणमा विशेष प्राथमिकता दिएर ‘पहिले देश, अनि विदेश’ अभियानलाई विशेष जोड दिइनेछ ।
– अनुसन्धान र विकासको वातावरण सिर्जना गर्न महानगर अनुसन्धान केन्द्र निर्माणको नीति लिई वैज्ञानिक आविष्कार अनुसन्धान र प्राज्ञिक कार्यमा संलग्न युवा वैज्ञानिक, अनुसन्धाता र प्राज्ञका रचनात्मक कार्यमा आवश्यक सहयोग पु¥याइनेछ ।
– श्रमिकको तथ्यांक संकलन गरी पञ्जीकरण तथा सीप विकाससहित योगदानमा आधारित उत्पादन कार्यक्रम लागु गर्न पहल गरिनेछ । साथै विभिन्न संघसंस्थासँग सहकार्य गरी समृद्ध महानगर निर्माणको नीति लिइनेछ ।

स्मार्ट पूर्वाधार, समृद्ध सहर
– वडा कार्यालयलाई अत्यावश्यक सेवा सञ्चालन गर्न सहज हुने गरी पूर्वाधारयुक्त कार्यालय भवन निर्माणको अभियानलाई निरन्तरता दिँदै यस आर्थिक वर्षमा महानगर भवन निर्माणको कार्य अगाडि बढाइनेछ । साथै यस आर्थिक वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
– गाउँ र सहर जोड्न तथा वडा–महानगर केन्द्र जोड्नका लागि कनेक्टिङ सडक निर्माण कार्यलाई प्राथमिकता निर्धारण गरी बहुवर्षीय आयोजना अगाडि बढाई सहज यातायात आगमनको प्रबन्ध मिलाइनेछ ।
– सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा आकाशे पुल निर्माण सम्पन्न गरिने छ । साथै ओभरहेड र सबवे संरचना निर्माणका लागि अध्ययन, डिजाइनको कार्य अगाडि बढाइने छ । सार्वजनिक निजी साझेदारी अवधारणमा सहरी क्षेत्रका मुख्य बजारमा बहुतला पार्किङ निर्माण गर्न पहल गरिने छ ।
– महानगर क्षेत्रमा पार्किङ व्यवस्थापनलाई थप प्रभावकारी बनाइने छ । यातायातमा सहजता ल्याई तथा पैदल यात्रुको सुविधालाई समेत मध्यनजर गरी हाल सडक छेउमा पार्किङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । व्यक्तिगत तथा संस्थागत खाली जग्गाको पहिचान गरी त्यस्ता जग्गालाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार कमर्सियल पार्किङको रुपमा प्रयोगमा ल्याइने छ ।
– उपयुक्त स्थान पहिचान गरी अटो भिलेज निर्माण गरिने छ ।
– दिनानुदिन सवारी चाप बढ्दै गइरहेको अवस्थामा सहरका तपसिलमा उल्लेखित सडकमा भवन नक्सापास गर्दा अनिवार्य रुपमा अन्डरग्राउन्ड पार्किङ बनाएर मात्र नक्सापास स्वीकृति प्रदान गर्ने नीति लिइने छ ।
सडक
क. तालचोक–विजयपुर–अमरसिंहचोक–पृथ्वीचोक–जिरोकिमी हँुदै हल्लनचोक सडक
ख. पृथ्वीचोक–मुस्ताङचोक–विरौटा हुँदै छोरेपाटन
ग. पृथ्वीचोक–नयाँबजार–महेन्द्रपूल–पालिखेचोक–नदीपुर–केआइसिंहपुल–लामाचौर–बाटुलेचोर–महेन्द्रगुफा–चमेरेगुफा
घ. न्युरोड सडक
ङ. लेकसाइड–खहरे–हल्लनचोक–बाराहीचोक–सहिदचोक हुँदै मुस्ताङचोकसम्म
च. विरौटाचोक–राष्ट्रबैंकचोक–रत्नचोक–सिर्जनाचोक–सिद्धार्थचोक–बगर–ट्याक्सीचोक
छ. जिरो किमीदेखि हरिचोक हँुदै हेम्जा सुइखेतसम्म
ज. महेन्द्रपुल–रानीपौवा–हस्पिटलचोक हँुदै अमरसिंहचोक
झ. गौरीमार्ग–हस्पिटलचोक–बुद्धचोकहुँदै रामबजारसम्म
ञ. घलेचोकबाट वन क्याम्पससम्मको सडक
ट. रानीपौवादेखि भद्रकाली हुँदै आर्वा साझाचोकसम्म
ठ. तालचोक–बेगनास सडकसम्म
– कुनै व्यक्ति÷संघसंस्थाले आफ्नै लगानीमा पार्किङ भवन वा पार्किङस्थल निर्माण गर्न चाहेमा त्यस्ता भवनको नक्सापास दस्तुर मिनाहा गरिने छ ।
– उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा स्मार्ट ग्रिड सडक बत्ती राख्न आवश्यक प्रबन्ध मिलाइनुका साथै मुख्य स्थानमा पिउनेपानीसहितको सर्भिस स्टेसन, जग्गाको उपलब्धता हेरी आवश्यक स्थानमा सार्वजनिक शौंचालय निर्माण गरिनेछ ।
– सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गरेर ई–टिकेटिङ लागु गरी मेट्रो कार्डमार्फत भाडा बुझाउन मिल्ने गरी आवश्यक प्रबन्ध मिलाइने छ । सहरका मुख्य चोक महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राखिने छ ।
– महानगर क्षेत्रको व्यवस्थित, दीर्घकालीन एव वातावरणमैत्री एवं दीगो विकासका लागि भू–उपयोग गुरु योजना तर्जुमा गरी आवास क्षेत्र, सार्वजनिक क्षेत्र, खुल्ला एवं हरियाली क्षेत्र, सार्वजनिक पार्क, वन, कृषि तथा सुरक्षित क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याइनेछ ।
– मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्य अगाडि बढाइएको छ । पोखरा १७ को आरटिओ सडक नमुना सडकको रुपमा अगाडि बढाइने छ । कृषि सडक स्तरोन्नति गरिनेछ । घारीपाटन दोबिल्ला हुँदै पुँडीटार सडकलाई नमुना सडकको रुपमा विकास गरिने छ ।
– ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइने छ ।
– पोखरा सभागृहको मर्मत–सम्भार कार्यलाई तत्काल अगाडि बढाइने छ । अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाइनेछ । पोखरा सभागृहको पश्चिमपट्टी करिब २ सय ५० सिट क्षमताको मिनी सेमिनार हलको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
– मुख्य सहरी क्षेत्र तथा बजार क्षेत्रमा पहिलो चरणमा सिसी क्यामेरा जडान गरिनेछ । सडकका बीचमा रहेका बिजुलीका पोल, खानेपानी पाइप तथा तारबार व्यवस्थापनको कार्य सम्बन्धित निकायसँगको समन्वयमा अगाडि बढाइनेछ ।
– सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारको रुपमा विकास गरिने छ । पातलो छाँगोमा सिसापुल निर्माण गर्ने र सराङ्कोटमा पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत अगाडि बढिरहेको र यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिनेछ ।
– यस अघि नै घर, भवन र भौतिक संरचना निर्माण गरेका तर विभिन्न कारणले नक्सापास प्रमाणपत्र नलिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याई नियमित गरिने छ । मापदण्ड विपरीत संरचना निर्माण गर्ने कार्यलाई निरुत्साहित गरिने छ । २० लाख रूपैयाँभन्दा बढी लागतमा निर्माण भएका भौतिक संरचना तथा विकास आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गर्न तेस्रो पक्षमार्फत विकास निर्माणलाई थप प्रभावकारी र गुणस्तरीय बनाइने छ । साथै निर्माण सामग्रीको गुणस्तर जाँच गर्ने कार्यलाई अनिवार्य गरिने छ ।
– महानगरपालिकाभित्र विगतदेखि सञ्चालित क्रमागत योजनालाई आगामी आवमा पनि निरन्तरता दिइनेछ भने मर्मत–सम्भार कोषलाई थप व्यवस्थित बनाउँदै लगिने छ । ढलको उचित व्यवस्थापनका लागि यस आर्थिक वर्षमा गुरु योजना बनाई अगाडि बढाइने छ । मर्मत इकाइको व्यवस्था गरी मर्मत कार्य थप प्रभावकारी बनाइने छ ।
– मेयर नमुना पूर्वाधार योजना कार्यक्रम सञ्चालन गरी महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गरिने छ ।
– महानगरभित्र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा महानगर क्षेत्रमा पर्ने मध्य पहाडी सडक खण्डको निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिने छ ।
– लामे आहालमा निर्माण गरिने आधुनिक बसपार्कको डिपिआर तयार भइसकेकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने छ । साथै पृथ्वीचोक बसपार्क निर्माणका लागि समितिबाट प्राप्त प्रतिवेदनका आधारमा प्रक्रिया अगाडि बढाइने छ ।
– पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आवश्यक पहल गरिने छ ।

स्थानीय तहको जिम्मेवारी,जवाफदेही कर्मचारी
– प्रशासन र सेवा प्रवाह सुधारको कार्यलाई निरन्तरता दिइने छ । यसै आवदेखि कर्मचारी र पदाधिकारीको बिमा गर्ने कार्य अगाडि बढाइनेछ ।
– श्रमको सम्मानतथा सामाजिक सुरक्षालाई ध्यानमा राखेर कम्तीमा १ वर्ष अवधि सेवा गरेका कर्मचारीको संचयकोष कट्टा गर्ने व्यवस्था मिलाइने छ ।
– नगर प्रमुखले वडाध्यक्षसँग र प्रमुख प्रशासकीय अधिकृतले महाशाखा प्रमुखसँग मापन योग्य सूचकसहित कार्यसम्पादन करार गरी सम्बन्धित पदाधिकारीलाई नतिजाप्रति जवाफदेही तुल्याइने छ ।
– कर्मचारीको क्षमता विकासमा प्राथमिकता दिँदै बौद्घिक श्रमको मूल्यांकन गर्ने परिपाटीको विकास गरिनेछ ।
– कर्मचारीलाई वार्षिक १ पटक ७ दिन कार्यालयले तोकेको समयमा खर्च सुविधा सहितकोअनिवार्य भ्रमण बिदाको सुरुआत गरी आन्तरिक पर्यटनलाई प्रोत्साहन गरिनेछ ।

१ सहकारी, १ उत्पादन
नेपाल सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी ३ खम्बे अर्थ नीति अनुसार महानगरवासीको आर्थिक विकासको निम्ति १ वडा १ नमुना सहकारी, १ सहकारी १ उत्पादन कार्यक्रम अगाडि बढाइनेछ ।
– दैनिक उपभोग्य वस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारी संस्थालार्ई छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै सुपथ सहकारी पसल सञ्चालन गर्ने वातावरण मिलाइनेछ ।
– सहकारी उद्दमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई अगाडि बढाउनुका साथै सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

हाम्रो महानगर हाम्रो कर, समृद्घ बनाउने हाम्रै रहर
– करको दर होइन दायरा फराकिलो बनाई महानगरबाट लिइने कर, राजस्व र शुल्कलाई प्रगतिशील करको आधारमा थप व्यवस्थित र वैज्ञानिक बनाइने छ ।
– अन्डर ग्राउन्ड पार्किङसहित भवन निर्माण गर्नेहरुको हकमा १ तल्लासम्मको राजस्व मिनाहा गर्ने व्यवस्था मिलाइनेछ ।
– तोकिएको समयमा कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिनेछ ।
– खानी तथा नदीजन्य पदार्थ उत्खनन गर्नु पूर्व वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रावधानलाई अनिवार्य गरिनेछ ।
– संघीय कानुुन अनुरुप स्थानीय कानुन निर्माण गरी मदिराजन्य पदार्थको बिक्रीलाई व्यवस्थित गरिने छ ।

स्थानीय तथ्यांक र अभिलेख व्यवस्थापन
– महानगरपालिकाको वडाको गरिबी नक्सांकन तथा पारिवारिक विवरण संकलनको काम अगाडि बढाइनेछ ।
– सार्वजनिक सरकारी सम्पत्ति, राजस्व, घरनक्सा, पञ्जीकरण लगायतका विवरणको डिजिटल अभिलेख राख्ने कामलाई निरन्तरता दिइने छ ।
– सार्वजनिक जग्गाको लगत अधावधिक गर्दै २०७५—०७८ लाई सार्वजनिक जग्गा संरक्षणको वर्ष घोषणा गरे अनुरुप सार्वजनिक जग्गाको संरक्षणका लागि विशेष कार्यक्रम अगाडि बढाइनेछ ।

हाम्रो इच्छा, समतामूलक शिक्षा
– सबैका लागि शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिई साक्षर महानगर अभियानलाई अगाडि बढाइने छ ।
– अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदैं १ प्रादेशिक निर्वाचन क्षेत्र १ प्रविधिमैत्री विद्यालय संचालन गरिनेछ । साथै पोखरा प्राविधिक शिक्षालय सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ । महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना गरी विविध विषयवस्तुको अध्ययन अनुसन्धान गराइनेछ ।
– सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रोत्साहनका लागि महानगर छात्रवृत्ति कार्यक्रम लागु गरी प्राविधिक शिक्षा अध्ययन–अध्यापनमा जोड दिइनेछ ।
– सिटिभिटीसँगको सहकार्यमा अल्पकालीन तथा दीर्घकालीन तालिम सञ्चालन गरिने छ ।
– महानगरपालिकाभित्र रहेका प्राविधिक धारका शिक्षालयबाट उत्पादित जनशक्तिलाई महानगरको समन्वयमा विभिन्न स्थानमा अभ्यास शिक्षणको प्रबन्ध मिलाइने छ ।

हाम्रो अभिभारा, स्वच्छ सुन्दर पोखरा
– आधुनिक र व्यवस्थित पशु बधशाला निर्माणका लागि प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडि बढाइनेछ ।
– महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट छनोट गर्ने कार्य अगाडि बढाइनेछ । फोहोरलाई मोहोरमा परिणत गर्न महानगरमा संकलित फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने कार्य सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि बढाइनेछ ।
– अस्पताल तथा स्वास्थ्य संस्थाजन्य फोहोर तथा विषादीयुक्त फोहोर व्यवस्थापनका लागि एकीकृत फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिनेछ ।
– आवश्यक सेवासहितको थप सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्र स्थापना गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोप निशुल्क गरिने छ । १ वडा १ स्वास्थ्य संस्थाको नीति अनुरुप काम अगाडि बढाइनेछ ।
– सबैका लागि स्वास्थ्य सेवा कार्यक्रम वडावडामा सञ्चालन गरिनेछ । स्वास्थ्य बिमाको कार्यक्रमलाई अनिवार्य गर्दै बिमा अन्तर्गतको सेवा चुस्त–दुरुस्त पार्न आवश्यक समन्वय गरिनेछ ।
– महानगरभित्र सञ्चालित अस्पताल, फार्मेसी लगायत निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन गरिने छ ।
अर्गानिक उत्पादन, स्थानीय बजार व्यवस्थापन
– महानगरका ग्रामीण बस्तीमा स्थानीय अर्गानिक उत्पादनमा जोड दिँदै स्थानीय उत्पादन बिक्रीको बजार व्यवस्थापनका लागि कृषि उपज बजार केन्द्र स्थापनामा जोड दिइनेछ ।
– महानगरभित्रका साना तथा ठूला व्यवसायलाई अनिवार्य दर्ता एंव नवीकरणको व्यवस्था गरिनेछ । फुटपाथ व्यवसायलाई निरुत्साहित गर्दै एकीकृत बजार व्यवस्थापनमा जोड दिइनेछ ।

हराभरा वन, हरियाली प्रवद्र्घन
– महानगरभित्रका ९ वटै तालमा भएको अतिक्रमण रोकी तालको संरक्षण, प्रवद्र्घन र विकास गर्नुका साथै ताल वरपर पैदल मार्ग निर्माण कार्यलाई निरन्तरता दिइने छ ।
– फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण कार्य यसै आवमा सम्पन्न गरिनेछ । पोखरामा व्यवस्थित ढल निर्माण तथा ढल डाइभर्सनको विस्तृत योजना तयार पारी कार्यान्वयनमा ल्याइने छ ।
– वातावरण संरक्षणका लागि वातावरण संरक्षण कोषको व्यवस्था गरिनेछ । हरियाली प्रवद्र्घन तथा उत्पादनमा प्रोत्साहन दिनका लागि १ विद्यालय १० फलफूलका विरुवा, १ वडा १ बगैंचा कार्यक्रम सञ्चालन गर्नुका साथै सडक छेउछाउको हरियाली प्रवद्र्घन गर्दै ‘क्लिन पोखरा, ग्रिन पोखरा अभियान’ सञ्चालन गरिने छ ।
– शान्तिवन बाटिकालाई बोटानिकल गार्डेनका रुपमा विकास गर्नुका साथै सुन्दरीडाँडास्थित पचभैंया सामुदायिक वनक्षेत्रलाई जैविक विविधता संरक्षण केन्द्रको रुपमा विकास गरी सुनाखरी संरक्षण क्षेत्र पञ्चासेको विकास एंव प्रवद्र्घनमा जोड दिइनेछ ।
– पुम्दीकोट, ठूलाकोट कालभैरव, तालबाराही (बेगनासताल), भद्रकाली र सराङ्कोट क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण एवं संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिनेछ ।

पोखराको समृद्घि, उत्पादनमा वृद्घि
– कृषि क्लब गठन गरी ‘१ हप्ता १ दिन खेतबारीमा केही छिन’ अभियानमार्फत श्रमको वातावरण तयार गरिनेछ । बाँझो जमिनमा सिँचाइको व्यवस्था गर्नुका साथै सामूहिक खेतीलाई प्रोत्साहन गरिनेछ ।
– मेयर प्रविधिमैत्री कृषि परियोजनामार्फत उत्पादन वृद्घि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । कृषि तथा पशुपालनलाई व्यावसायीकरण,यान्त्रीकरण तथा आधुनिकीकरण गर्नुका साथै विभिन्न ठाउँमा कृषि पकेट क्षेत्र निर्माण गरिनेछ ।

न्यायिक समिति
– न्यायिक समितिमार्फत प्रदान गरिने सेवालाई मेलमिलाप तथा मध्यस्तताको माध्यमबाट थप प्रभावकारी र सर्वसुलभ बनाइने छ ।
– लैंगिक समानता तथा हिंसामा परेका महिलाको सहायता लागि कानुनी परामर्श तथा सहायता कक्षलाई थप व्यवस्थित र सुलभ बनाइने छ ।

सामाजिक सुरक्षा
– एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने छ ।
– हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिताको सम्मान प्रदान गरिने छ ।

घर–जग्गा धनीपूर्जा वितरण तथा भू–उपयोग नीति
– विगतमा गठन भएका सुकुम्बासी आयोगबाट वितरित सेतो पूर्जालाई रातोपूर्जामा परिणत गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
– महानगरपालिका क्षेत्रमा जग्गा खण्डीकरण गरी बिना स्वीकृति प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । एकीकृत जग्गा विकास योजना तयार पारी स्विकृति नलिएसम्म कित्ताकाट र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको सिफारिस तथा स्वीकृति रोक्का राख्ने नीति लिइनेछ ।

डिजिटल तथा कलर क्लस्टर निर्माण
– महानगरको केही वडामा रंगिन क्लस्टर निर्माण गरी नमुना बनाउने कार्यको थालनी गरिने छ ।
– सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर कायम गरी ई–टिकटिङ लागु गर्नुका साथै डिजिटल विज्ञापन प्रणालीको अवलम्बन गरिने छ ।
– वडा कार्यालय तथा विद्यालयमा सिसी–क्यामेरा जडान गर्नुका साथै मुख्य सहरी क्षेत्रमा समेत सिसिक्यामरा बिस्तार गरिँदै लगिनेछ ।

उपप्रमुखसँग महिला कार्यक्रम
– ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइने छ ।
– महिला उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि ५० महिला ५ सय रोजगार कार्यक्रमलाई निरन्तरता दिई सञ्चालन गरिने छ ।
– क्षमता तथा सीप विकास अभिवृद्घि गर्न महानगरीय सीप विकास केन्द्र स्थापना तथा सञ्चालन गर्ने प्रक्रिया थालनी गरिनेछ ।
– सीप विकासबाट उत्पादन गरिएका सामानलाई बजारीकरण गर्नका लागि उपहार केन्द्र स्थापना गरिनेछ ।

युवा तथा खेलकुद
– महानगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचीकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै बेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दै कृषि तथा पशुपालनमा युवालाई प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
– महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन गरिनेछ । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गरिने छ । १ वडा १ खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
– ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

स्वच्छ खानेपानी, स्वस्थ समाज
– महानगरपालिकाका जनतालाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन जनतासँगको सहलगानीमा खानेपानी मूलको संरक्षण गर्दै लिफ्टिङ पद्घत्तिलाई प्राथमिकतामा राखि ‘१ घर १ धारा’ अभियानलाई जोड दिइनेछ ।
– जापानी सहयोग संस्था जाइकाको सहयोगमा सञ्चालित खानेपानी आयोजनालाई सहज र सरल ढंगबाट अगाडि बढाउन आवश्यक पहल एवं समन्वय गरिनेछ ।

विपद् व्यवस्थापन
– विपद् व्यवस्थापनका लागि सबै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरी उद्घार एंव राहतका कार्य अगाडि बढाउँदै महानगर र वडा स्तरमा विपद् पूर्व तयारी योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
– महानगर विपद्कोष सञ्चालन एंव व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ । विपद् उद्धार तथा राहत कार्यमा युवा परिचालनका लागि महानगर प्रमुखसँग युवा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास
– विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागु गर्न सुरुआत गरिनेछ ।
– परम्परागत तथा मौलिक पेसा, व्यावसाय र लोपोन्मुख कला, ज्ञान र सीपको पहिचान गरी सोको संरक्षण र सम्वद्र्घनका कार्यक्रम बनाई लागु गरिनेछ ।
– होमस्टेमा स्थानीय नृत्य तथा मौलिक भेषभुषा तथा संस्कृति झल्कने कार्यक्रम सञ्चालनमा जोड दिँदै सांस्कृतिक ग्राम निर्माण गर्न पहल गरिनेछ । ऐतिहासिक र पुरातात्विक मठमन्दिरको मर्मत तथा संरक्षणमा जोड दिइनेछ ।
– शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, कला–साहित्य आदिको विकासमा योगदान पुर्‍याउने व्यक्तिलाई महानगर स्थापना दिवसमा नवरत्न सम्मानद्घारा सम्मानित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने आवश्यक तयारी गरिनेछ ।

अन्त्यमा,
प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण कार्यपालिका सदस्यज्यू, सभासदज्यू, नगरस्थित क्रियाशील राजनीतिक दल, नगरवासी दाजुभाइ तथा दिदीबहिनी, कर्मचारी मित्रलाई पुनः धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, दातृ निकाय, सहयोगी संघसंस्था तथा निकाय, निजी क्षेत्रप्रति म, पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तररुपमा प्राप्त हुने नै छ भन्ने विश्वास गर्दछु ।

(पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आइतरबार नगरसभामा पेस गरेको नीति तथा कार्यक्रमको सम्पादित अंश ।)

तपाईको प्रतिक्रिया