दमाैलीका हाेटेल तथा रेस्टुरेन्ट वर्गीकरण, ६ वटामा खाद्य स्वच्छता स्टिकर

समाधान संवाददाता २०७६ असार ९ गते १५:३०

कृष्ण न्यौपाने
दमौली

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित ६ वटा होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता स्टिकर टाँस गरेको छ । होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेस्टुरेन्टको वर्गीकरणका लागि आइतबार ती होटल तथा रेस्टुरेण्टमा खाद्य स्वच्छता स्टिकर टाँस गरिएको हो ।

दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम (ख), ट्रान्जिट रेस्टुरेन्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक (ग) र श्रेष्ठ खाजा घरमा सामान्य (घ) स्टिकर टाँस गरिएको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए ।

Advertisement

होटलहरुको अनुगमन र मूल्यांकनका आधारमा खाद्य स्वच्छता स्टिकर टाँस गरिएको हो । उनले भने, ‘अनुगमन र मूल्यांकनलाई आधार मानेर स्टिकर टाँस गरिएको हो, अन्य होटलमा समेत विस्तारै स्टिकर टाँस गरिनेछ ।’

होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता स्टिकर टास्ँदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।कार्यालयले यसअघि ९ वटा होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता स्टिकर टाँसेको थियो । विकास चिया पसल, सन्तोष होटल, सुरेश मिष्ठान्न भण्डार, सुनगाभा होटलमा उत्तम लोगोसहितको स्टिकर टाँस गरिएको छ । होटल पञ्चम र सासा इनमा उत्तम, टीका तास घर, मुन लाइट रेस्टुरेन्ट एन्ड विन्स क्याफे र हरि मिष्ठान्न भण्डारमा सन्तोषजनक लोगोसहितको स्टिकर टाँस गरिएको छ ।

Advertisement

डिभिजन प्रमुख बरालका अनुसार होटल तथा रेस्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भूइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइनेछ । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन् ।

अति उत्तम श्रेणीको होटल रेस्टुरेन्टले ३ वटा तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकर पाउनेछ । यो लोगोे पाउन होटल रेस्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । उत्तम श्रेणीको खाद्य व्यवसायले २ वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेस्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् ।

सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीच अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपहरूको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानी व्यवस्था लगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया